सहमति नमाने पछि तराईमा बन्द यथाव

दाङ, ११ जेठ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक थारु मोर्चाले आज एघारौं दिन पनि तराई बन्दलाई यथावत राखेको छ ।
थारु संयुक्त संघर्ष समिति र सरकारवीच सहमति भएपनि वन्द भने खुल्न सकेको छैन । दाङमा भने मोर्चाले सरकारसँग भएको सहमतिले आफूहरुका माग नसमेटेको जनाउदै वन्दलाई यथावत राखेको जनाएको छ ।
संयुक्त रुपमा आन्दोलन गरे पनि मोर्चाका माग पुरा नभएकाले वन्द यथावत राखिएको मोर्चाका केन्द्रीय सदस्य योगेन्द्र थारुले जानकारी दिए । उनले आन्दोलन संयुक्त रुपमा भएपनि आफूहरुका माग फरक रहेको बताए ।
मोर्चाले जेठ–१ गते देखि गरेको बन्दका कारण दाङको जनजीवन कष्टकर बनेको छ ।
देउखुरीस्थित पूर्व पश्चिम महेन्द्रराजमार्गमा वन्दकर्ताले लाठी बोकेर सडक अवरोध गरेका छन् ।
यसैवीच, पर्सा लगायतका जिल्लामा बृहत मधेशी मोर्चाको अनिश्चितकालीन तराई बन्दको प्रभाव परेको छ ।
वीरगन्जमा आज पनि बजार, पसल बन्द छन भने लामो तथा छोटो दुरीका सवारी साधनहरु चलेका छैनन् ।
वीरगन्जबाट अन्य शहरमा हरियो तरकारी निकासी हुन नपाउदा तरकारी उत्पादक किसान र व्यापारीहरु मर्कामा परेका छन ।
बारामा भने आज बन्दको आंशिक प्रभाव परेको छ । लगातारको बन्दबाट आजित भएपछि बाराको कलैयामा स्थानीयले बन्दको अवज्ञा गर्दै बजार तथा यातायात सुचारु गरेका छन् ।

उता, सरकारले आदिवासी जनजातिसंग परस्पर बिरोधी सहमति गरेको आरोप लगाउदै अखण्ड सुदूरपश्चिम पक्षधरहरुले पुनः आन्दोलन चर्काएका छन् ।
आदिवासी जनजाति समुहहरुसँग सरकारले गरेको सहमतिको विरोधमा अखण्ड पक्षधरहरुले आमहडताल शुरु गरेका हुन् ।
२१ दिने आन्दोलन गरेका अखण्ड पक्षधरले आजदेखि पुनः अनिश्चितकालीन आमहडताल शुरु गरेपछि कञ्चनपुरको जनजीवन असहज बनेको छ ।
उनीहरुले सरकारले दोहोरो कुरा गरेर आफूहरुसँग षडयन्त्र गरेको आरोप लगाएका छन् ।
सुदूरपश्चिममा लगातार बन्द

विभिन्न समूहको लगातार बन्दले उकुसमुकस भएको कैलालीमा पनि अखण्ड सुदूरपश्चिमको आन्दोलनले प्रभाव पारेको छ ।
आज बाट पुनः आमहड्ताल शुरु भएपछि सर्वसाधारणले सास्ती बेहोर्नु परेको हो ।
कैलाली र कञ्चनपुर जिल्लालाई टुक्राउने सरकार र थारु समुदायवीच सहमति भएपछि अखण्ड आन्दोलन शुरु भएको छ ।
आन्दोलनकारीले बिहानैदेखि धनगढी बजार, मेडिकल, सरकारी, गैरसरकारी कार्यालय, रिक्सा सञ्चालनमा समेत अबरोध गरेका छन् ।

यता, जनकपरमा बृहत् मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दले सातौ दिन पनि जनकपुरको जनजीवन प्रभावित भएको छ । लगातारको बन्दले गर्दा यस क्षेत्रको जनजीवन थप कष्टकर बन्दै गईरहेको छ ।
बन्दकर्ताहरुले बालुवा लोड गरेको ज १ त २९५३ र ज १ त ३८२३ नम्बरको ट्याक्टरमा तोडफोड गरेका छन् ।

प्रतिक्रिया