यौन दुव्र्यवहार गर्ने शिक्षक निलम्बित

वीरगन्ज, ११ जेठ । छात्रालाई यौन दुव्र्यवहार गर्ने पर्साका एक शिक्षक निलम्बनमा परेका छन् । बागवानाको मनवाबजारस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको मावि तहका शिक्षक चन्देश्वर रौरा निलम्बनमा परेका हुन् ।

विद्यार्थी, अभिभावक, विद्यालय प्रशासन र व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले रौरालाई निलम्बन गर्ने निर्णय गरेको प्रधानाध्यापक प्रभु साह कानुले बताए । उनी राहत दरबन्दीमा मावि तहका गणित विषयका शिक्षक हुन् ।
शिक्षक रौराले आइतबार विद्यालयमा ट्युसन पढ्न आएकी कक्षा नौकी एक छात्रालाई गलत नियतले हात समातेका थिए । शिक्षक रौराले उनलाई यसअघि पनि तीनपटकसम्म हात समातेर जबर्जस्ती गर्ने प्रयास गरेको पीडित छात्रालाई उद्धृत गर्दै विद्यालयका अर्का एक शिक्षकले बताए । उनीमाथि यौन दुव्र्यवहार भएपछि विद्यार्थीले सोमबारदेखि विद्यालयमा हडताल गरेका थिए । पीडितका आफन्तले विद्यालयमा तोडफोडसमेत गरेका थिए । तोडफोडबाट विद्यालयलाई पुगेको ४० हजार रुपियाँ बराबरको क्षतिसमेत शिक्षक रौराबाट भराउने निर्णय भएको प्रधानाध्यापक कानुले बताए ।

प्रतिक्रिया