बन्दले एसएलसी नतिजा समयमा नआउने

काठमाडौं, १० जेठ । लगातारको बन्दहडतालका कारण यस वर्षको एसएलसी परीक्षाको नतिजा आउन ढिलाइ हुन सक्ने देखिएको छ । देशभरबाट परीक्षण भएका उत्तरपुस्तिका भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय(पनिका)मा आइसक्नुपर्नेमा त्यसो नहुँदा नतिजा प्रभावित हुने भएको हो ।
परीक्षा नियन्त्रक डिल्लीराम रिमाल बन्दहडतालका कारण नतिजा समयमै निकाल्नका लागि अवरोध उत्पन्न भएको बताउँछन् । ‘बन्दले न मानिस हिँडेर काम गर्न सकेका छन् न त सवारी साधनबाट उत्तरपुस्तिका ल्याउन सकिएको छ,’ परीक्षा नियन्त्रक रिमालले भने, ‘नजिक–टाढा कहीँका पनि उत्तरपुस्तिका ल्याउन सकिएको छैन ।’ पनिकामा पूर्वमा पाँचथरदेखि पश्चिममा डोटीबाट समेत एसएलसीका उत्तरपुस्तिका ल्याउन सकिएको छैन ।
पनिका कर्मचारीका अनुसार विद्यार्थीले प्राप्त गरेको नम्बर आइसके पनि परीक्षण भएको उत्तरपुस्तिका केन्द्रमा नआएसम्म नतिजा प्रकाशन गर्न मिल्दैन । गत वर्ष ६ असारमा परीक्षाफल प्रकाशन भएको थियो ।
पनिकाले असारको पहिलो साता परीक्षाफल प्रकाशन गर्ने लक्ष्य लिएको भए पनि बन्दहडतालका कारण केही समस्या हुन सक्ने देखिएको छ । विभिन्न पार्टी, समूह वा जातिदेखि शिक्षकसम्मले विभिन्न माग पूरा गराउन शैक्षिक संस्था बन्द तथा आमहडताल गरेका छन् । सो समयमा उत्तरपुस्तिका परीक्षणमा समेत बाधा पुगेको छ ।
देशभर ५४ केन्द्रमा उत्तरपुस्तिका परीक्षण भएको छ । देशका १५ केन्द्रका उत्तरपुस्तिका पनिकामा आएको र अन्य केही केन्द्रमा परीक्षण सकिए पनि बन्दहडतालका कारण ल्याउन समस्या आएको पनिकाले जनाएको छ ।
गत ७ देखि १६ चैतसम्म एसएलसी परीक्षा सञ्चालन भएको थियो । परीक्षामा देशभरबाट पाँच लाख २८ हजार दुई सय ५७ विद्यार्थी सहभागी भएको पनिकाले जनाएको छ । कुल परीक्षार्थीमध्ये नियमिततर्फ चार लाख ६६ हजार एक सय ६६ र एक्जाम्टेडतर्फ ८२ हजार ९१ सम्मिलित थिए ।
परिक्षा सञ्चालन निर्देशिकामा परीक्षा भएको ९० दिनभित्र परीक्षाफल प्रकाशन गर्नुपर्ने व्यवस्था छ । तर, नयाँ संविधानको विषयलाई लिएर लगातार भएको बन्दका कारण समस्या आएपछि समयमा नतिजा प्रकाशन गर्न समस्या हुन सक्ने पनिकाले जनाएको छ ।

प्रतिक्रिया