‘सभासदका कार्यप्रति एमाले चिन्तीत’

काठमाडौं, ९ जेठ । एमालेले पार्टी नीति विपरित आफ्ना सभासदहरु लागेकोमा चिन्ता जनाएको छ । उसले एकल जातीय राज्यको मागका पक्षमा उभिएका आफ्ना सभासदलाई पार्टी निर्णयलाई ध्यान दिन आग्रह गरेको छ ।
एमाले अनुशासन आयोगको सचिवालयको आकस्मीक बैठक पछि जारी विज्ञप्ती अनुसार संयुक्त जातीय पहिचान सहितको संघीय राज्यका पक्षमा अडिग रहन सबै सभासदलाई निर्देशन दिएको छ ।
केही दिन अघि एकल जातीय पहिचान सहितको ज्ञापन पत्रमा आफ्ना सभासदले पनि हस्ताक्षर गरेर विवाद समाधान उपसमितिका संयोजकलाई बुझाए पछि एमालेले चिन्ता जनाएको हो । सो घटनाप्रति एमालेको आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले पार्टी नीति विपरितका गतिविधिहरु हुन नदिन संसदीय दललाई निर्देशन दिएको छ । उसले सम्पूर्ण सभाद्हरुलाई पार्टी निर्णयको पक्षमा उभिन सचेत समेत गराएको छ ।
‘पार्टी र संसदीय क्षेत्रमा देखा पर्दै गएको गैह्र–वर्गीय चिन्तन, व्यक्तिवादी र स्वच्छन्द प्रवृत्ति, आचरण र व्यवहारमा आएको ह्रासोन्मुख प्रवृत्ति आदिप्रति समयमा ध्यान दिनुपर्छ,’ आयोगका अध्यक्ष अमृत बोहराद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘समुचित ध्यान नदिई उदारता अपनाएका कारणले उत्पन्न भएको वर्तमान आन्तरिक जटिलतालाई गम्भीरताका साथ आत्मसात गर्दै त्यसको समग्र समिक्षा गर्नु पर्छ ।’
आयोगले अब आइन्दा यसप्रकारका समस्याहरु देखा पर्नासाथ तत्काल निराकरणका लागि पहल गर्न पार्टी केन्द्रीय कमिटीलाई निर्देशनपनि दिएको छ ।
पार्टी निर्णयको पक्षमा दृढतापूर्वक उभिनु पर्ने भन्दै एमालेले पार्टी निर्णयको पक्षमा आफ्नो अभिमत जाहेर गर्न समेत भनेको छ ।

प्रतिक्रिया