एमाओवादीप्रति कांग्रेस र एमालेले शसंकित


काठमाडौं, ८ जेठ । प्रमुख दलका शीर्ष नेताहरुवीच राज्य पुनर्संरचनालाई लिएर विवाद भएपछि आरोप प्रत्यारोप गर्दै नेताहरु बैठक स्थलबाट बाहिरिएका छन् ।
राज्य पुनर्संरचनाका विषयमा कांग्रेस र एमालेले एमाओवादी पछि हटेको आरोप लगाएका छन् भने कांग्रेस र एमालेलाई एमाओवादीले संघीयता विरोधको आरोप लगाएको छ ।
स्रोतका अनुसार बैठकमा कांग्रेस र एमालेले एमाओवादीसँग राज्य पुनर्संरचना र पछिल्लो पटक भएको सहमतिप्रति आशंका जनाउदै धारणा माग गरेका थिए ।
एमाओवादीले राज्य पुनर्संरचनाका विषयमा पुनः नयाँ प्रस्ताव ल्याएपछि कांग्रेस र एमाले शसंकित भएका हुन् । काठमाडौंमा आज बसेको एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चावीच भएको बार्तामा सहमति हुन नसकेपछि दलहरु प्रक्रिया मार्फत विवादित विषय टुङगाउने निष्कर्षमा पुगेका छन् ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कांग्रेस र एमाले संघीयता विरोधी रहेको आरोप लगाए । उनले राज्य पुनर्संरचनामा सहमति हुन नसकेपछि अब मतदान प्रक्रिया मार्फत संविधानसभाबाट निकास निकाल्ने बताए ।
एमाओवादीले एकल जातीय पहिचना सहित थोरै संघीय राज्यको प्रस्ताव गरेपछि कांग्रेस र एमालेले विरोध गरेको स्रोतको भनाई छ । कांग्रेस र एमालेले वहुपहिचान सहित संघीय राज्य बनाउनुपर्ने तथा संघीयताको नाम प्रादेशिक संसदलाई दिनुपर्ने धारणा राखेका छन् ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले जनविद्रोह अन्तर्गत एमाओवादी मुलुकमा उथलपुथल गर्ने प्रयासमा लागेको हो की भन्ने आशंका जन्माएको बताए । उनले एमाओवादीका कारण संविधानको मस्यौदा बनाउनेमा समस्या आउने देखिएको बताए ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले एमाओवादीले पटक पटक सहमति तोड्ने गरेको भन्दै राज्य पुनर्संरचनामा उसको व्यवहारले आशंका जन्मीएको बताए ।
एमाले उपाध्यक्ष वामदेव गौतमले एमाओवादी पार्टीहरुमा चलखेलमा लागेको आशंका उब्जीएको बताए । उनले नयाँ संविधान नबनाउने षड्यन्त्रमा एमाओवादी लागेको दाबी गरे ।
दलहरु सहमति खोज्नुको साटो आरोप प्रत्यारोप सहित बाहिरिए पछि सहमतिमा नयाँ संविधान जारी हुनेमा आशंका उब्जीएको छ ।

प्रतिक्रिया