बन्द फिर्ता लिन चार दलको आह्वान

काठमाडौं, ८ जेठ । सत्तारुढ प्रमुख चार दलले बन्द लगायतका कार्यक्रम फिर्ता लिएर बार्तामा बस्न आन्दोलनरत आदिवासी जनजाति महासंघ र संयुक्त संघर्ष समितिलाई आह्वान गरेका छन् ।
नयाँ बानेश्वरस्थित विशेष समितिको कार्यालयमा आज भएको एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चा तथा आदिवासी जनजाति महासंघ र संयुक्त संघर्ष समितिको आज भएको बार्तामा बन्द फिर्ता लिन आह्वान गर्ने सहमति भएको हो ।
चार दलका शीर्ष नेताहरुद्वारा जारी संयुक्त विज्ञप्तीमा मुलुकमा साम्प्रदायिक सदभाव बनाई राख्नुपर्ने भन्दै आफ्ना जाहेज मागलाई सम्बोधन गराउनु स्वभाविक रहेको जनाएका छन् । उनीहरुले सम्बाद र सहमति मार्फत सबै विषय टुङगो लगाउन सकिने भन्दै अन्य आन्दोलनरत समूहलाई समेत बार्तामा आह्वान गरिएको छ ।
बार्ता लगत्तै प्रमुख चार दलले बन्द फिर्ता लिन आह्वान गरेपछि यस विषयमा महासंघले आन्तरिक छलफल शुरु गरेको छ । महासंघ अध्यक्ष राजकुमार लेखीका अनुसार बार्ता र बन्द फिर्ता लगायतका विषयमा आन्तरिक छलफल पछि आधिकारिक धारणा सार्वजनिक गर्ने बताए ।
प्रमुख चार दल र संघर्ष समितिवीच पुनः आजै बार्ता हुने छ ।
बार्तामा महासंघले पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाई तथा घाईतेको उपचारका लागि राखेको मागलाई प्रधानमन्त्री बाबुराम भट्टराईले पुरा गर्ने आश्वासन दिएका थिए ।
संयुक्त विज्ञप्तीमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाबाट विजय गच्छेदारले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया