कार्यान्वयन भएन सहकारी मापदण्ड

काभ्रे,७ जेठ । सहकारी संघ/संस्थालाई नियमन गरी व्यवस्थित गर्न सहकारी विभागले लागू गरेको सहकारीसम्बन्धी मापदण्डको कार्यान्वयन भएको छैन ।

सहकारी मापदण्ड र आचारसंहिता उल्लंघन गर्ने सहकारीको अनुगमन गरी दोषी भेटिए कारबाही गर्ने डिभिजन सहकारी कार्यालयले तयारी सुरु गरेको छ । काभ्रे र सिन्धुपाल्चोक हेर्दै आएको डिभिजन सहकारी कार्यालय पहिलो चरणमा सहरी क्षेत्रका सहकारीको अनुगमन गर्ने बताएको छ । ‘हामी अनुगमनको क्रममा छौँ,’ डिभिजन सहकारी कार्यालयका प्रमुख हरि पौड्यालले भने, ‘नियमअनुसार नचलेका सहकारीलाई कारबाही गर्छाँै ।
सहकारी नियमअनुसार दर्ता भएका अधिकांश सहकारीले आचारसंहिता उल्लंघन गरिरहेका डिभिजन सहकारीले बताएको छ । यस क्षेत्रमा सञ्चालित अधिकांश सहकारीले कार्यक्षेत्र बाहिर गएर रकम संकलन गर्ने गरेको पनि सो कार्यलयले बताएको छ । पछिल्लो समयमा ठूला सहकारीले लगानी गरेको घर जग्गाको ऋण पनि उठ्न सकेको छैन । सरकारले सहकारीमार्फत सुपथ मूल्य पसल खोल्न वितरण गरेको १/१ लाख सकिएपछि बन्द भएका पसलहरू पनि सञ्चालनमा आउन सकेका छैनन् । काभ्रेमा सञ्चालित ७४ सुपथ मूल्यका सहकारीमध्ये हाल पाँच प्रतिशतमा पनि सञ्चालनमा नरहेको सहकारी कार्यालयले जनाएको छ । ‘कर्मचारी कम भएकाले सबै सहकारीको अनुगमन हुन सकेको छैन’ पौड्यालले भने ।
यसैबीच केही महिनाअघि ३५ दिने सूचनामार्फत जिल्लाका ३० वटा सहकारी खारेजीको तयारी गरेको डिभिजन सहकारी कार्यालयले २० वटालाई खारेजीको अन्तिम चरणमा पुर्‍याएको छ । सूचना प्रकाशनपछि केही सहकारीले लेखापरीक्षण र वार्षिक प्रतिवेदन बुझाइ खारेज नगर्न साधारणसभाको उपस्थितिसहित अनुरोध गरेको डिभिजन सहकारीले बताए । काभ्रेको सहरी क्षेत्रमा रहेका एक करोडभन्दा धेरै कारोबार गर्ने अधिकांश सहकारीले मासिक प्रतिवेदन बुझाउने गरेको भए पनि ग्रामीण भेगमा रहेका सहकारी सबैले विवरण बुझाउन सकेका छैनन् ।
काभ्रेमा बचत तथा ऋणमा ६१ वटा महिला नेतृत्वका सहकारी छन् भने महिला र पुरुष दुवै सहभागी भएका मिश्रित तीन सय ६९ सहकारी छन् ।
चार सय ४३ वटा वचत तथा ऋण कारोबार गर्ने सहकारीमध्ये करिब एक सयले ५० जतिले मात्रै मासिक रूपमा करोडको कारोबार गर्ने गरेका छन् । त्यस्तै बहुउद्देश्यीय सहकारीमा महिलाको ४९ र मिश्रितमा एक सय ३४ गरी कूल एक सय ८३ वटा रहेका छन् । दुग्ध उत्पादन गर्ने दुई सय ७२, कृषिसम्बन्धी एक सय १७, बिउ उत्पादन गर्ने १७, पशु बिमा ११, सीपमूलक ११, कफी सात, विविध १३, उपभोक्ता २८ र तरकारी उत्पादक १८ वटा सहकारी रहेका छन् । डिभिजन सहकारी कार्यालयको तथ्यांकअनुसार काभ्रेमा महिलाकै नेतृत्वमा एक सय १४ वटा सहकारी सञ्चालन भएका छन् भने मिश्रिमा अन्य सहकारी सञ्चालन छन् । दुग्ध एक सय ४७, कृषि ३५, सिपमूलक एक, विविध १५, उपभोक्ता ३३ र तरकारी एक गरी चार सय ६२ वटा सहकारी दर्ता भएका छन् । तीमध्ये २० वटा भन्दा धेरै सहकारीले मासिक एक करोडको कारोबार गर्ने गरेको भए पनि डिभिजन सहकारी कार्यालय धुलिखेलमा प्रगति विवरण बुझाएका छैनन् ।

प्रतिक्रिया