यार्सागुम्बा टिप्न गएपछि विद्यालय बन्द

बाग्लुङ, ७ जेठ । विद्यार्थी यार्सागुम्बा टिप्न गएपछि म्याग्दीको दुर्गम क्षेत्रका विद्यालय दुई महिनादेखि बन्द छन् ।

विद्यार्थी, शिक्षक र अभिभावक यार्सागुम्बा टिप्न हिमाली क्षेत्रमा गएपछि पश्चिमी तथा अति दुर्गम मुदी गाविसस्थित बुद्धिविकास माध्यमिक विद्यालय, चन्द्रज्योति निमावि, गुर्जाको जनकल्याण माविलगायत विद्यालय चैतदेखि नै बन्द छन् ।
वैशाख पहिलो सातादेखि यार्सागुम्बाको सिजन सुरु भएकाले विद्यालयमा अध्ययनरत कक्षा ६ देखि माथिल्लो कक्षाका विद्यार्थी, अभिभावक र शिक्षकसमेत यार्सा टिप्न लेकतिर गएका हुन् । गाउँमा भएका युवायुवती यार्सा टिप्न लेकतिर लागेपछि करिब तीन सय ५० घरधुरी भएको मुदी गाउँ एक महिनादेखि सुनसान छ ।
‘गाउँलेको प्रमुख पेसा नै जडीबुटी टिपेर बेच्ने हो,’ स्थानीय बुधिसर विकले भने, ‘एक/दुई महिना यो काम नगरेसम्म यहाँका गाउँलेको गुजारा नै चल्दैन ।’ पत्रकारको एक टोली दुईदिन लगाएर मुदी पुग्दा गाउँमा भेटिएका एकमात्रै शिक्षक खड्कबहादुर घर्तीमगरले न्यून आर्थिक अवस्थाका कारण विद्यार्थीले यार्सा नटिपे पढाइ छाड्नुपर्ने अवस्था आउने हुनाले केही समय विद्यालय बन्द गरिएको बताए ।
‘विद्यार्थी एक महिनासम्म यार्सा टिप्न गए भने एकजनाले पचास हजारदेखि एक लाख रुपियाँसम्म आम्दानी गर्छन्,’ उनले भने, ‘सोही पैसाले उनीहरू वर्षभरि पढ्ने खर्च जुटाउँछन् ।’ अहिले बन्द गरिएको दिन गनेर वर्षे बिदामा पढाइ सञ्चालन गरिने विद्यालयले जनाएको छ । मुदीमा प्रत्येक वर्ष ३० किलोसम्म यार्सा संकलन हुने गरेको छ ।
त्यस्तै जिल्लाको सबैभन्दा दुर्गम गुर्जा गाविसमा रहेको एकमात्रै जनकल्याण माध्यमिक विद्यालय पनि चैतदेखि बन्द छ । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका सबै विद्यार्थी यार्सा टिप्न गुर्जा हिमालको फेदीतिर लागेपछि दुई महिनादेखि विद्यालयको पढाइ ठप्प बनेको हो । गुर्जा गाउँबाट मात्रै २० किलोसम्म यार्सा संकलन हुने स्थानीय बताउँछन् ।
बन्द विद्यालय खुलाउनका लागि जिल्ला शिक्षा कार्यालयले समेत कुनै पहल गरेको छैन । ‘हामीले त्यस्ता विद्यालयप्रति निगरानी राखिरहेका छौं,’ शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले भने, ‘ती विद्यालयले वर्षे बिदामा खोल्ने भनेका छन्, नखोले कारबाहीमा पर्नेछन् ।’
यार्सा टिप्न जाँदा मृत्यु
हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन गर्न हिँडेका रुकुमका एकको मृत्यु भएको छ ।
घेत्मा–१ का ५० वर्षीय नरवीर नेपालीको बाटोमै मृत्यु भएको हो । उनको घेत्मा गाविसकै वडा नम्बर ७ मा मृत्यु भएको प्रहरीले बताएको छ । शुक्रबार छिमेकीसँग यार्सागुम्बा संकलनका लागि डोल्पा जाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
भारी बिसाएकै ठाउँमा नेपाली मृत अवस्थामा फेला परेको बताइएको छ । जेठदेखि सुरु हुने यार्सागुम्बा संकलनका लागि पश्चिम रुकुमका घेत्मा, आठबीस डाँडागाउँ, आठबीसकोट, स्यालाखदी, गोतामकोटलगायतका बासिन्दा डोल्पा पुग्ने गर्छन् ।
१५ जेठसम्मलाई विद्यालय बन्द
संविधान जारी हुने मिति नजिँकिदै गर्दा बन्द हडतालको शृंखला बढ्दै गएपछि बाग्लुङ र म्याग्दीका सम्पूर्ण विद्यालय १५४ जेठसम्मलाई बन्द गरिएको छ ।
बन्द हडतालले शैक्षिक वातावारण अन्योलग्रस्त गएकाले बाग्लुङका सामुदायिक तथा निजी विद्यालय १५ जेठसम्मका लागि बन्द गरिएको हो । शिक्षा कार्यालय, शिक्षक युनियन, शिक्षकका पेसागत संघसंगठन, प्याब्सन, एनप्याब्सन, अभिभावक संघ तथा अन्य सरोकारवालाबीच बिहीबार भएको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
यस्तै, म्याग्दीका निजी विद्यालय दुई साताका लागि बन्द भएका छन् । २० जेठसम्मका लागि जिल्लाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको प्याब्सन म्याग्दीले जनाएको छ । बिहीबारदेखि बन्द विद्यालय २१ जेठबाट सुचारु हुने अध्यक्ष सुदर्शनकुमार श्रेष्ठले बताए । म्याग्दीमा ३२ निजी विद्यालयमा करिब ६ हजार विद्यार्थी छन् ।

प्रतिक्रिया