अध्यक्ष दाहालद्वारा संयम हुन अपील

चितवन, ६ जेठ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सबै दलको सहमतिमै प्रक्रिया छोट्याएर जेठ–१४ अगाडि नै नयाँ संविधान ल्याउने दोहराएका छन् ।
उनले देशका सबै जाति, धर्म, क्षेत्र लगायतको पहिचान र समथ्र्यको आधारमा अधिकार स्थापित हुने संविधान ल्याउन दलहरु सहमतिको नजिक पुगेका बताए ।
चितवनमा आज आयोजित कार्यक्रममा दाहालले भने, ‘राष्ट्रिय एकता, स्वाधिनता र भौगोलिक अखण्डताको सर्वोपरी एकता कायम गर्दै नयाँ संविधान बनाउनका लागि भोलिसम्म सबै दलवीच सहमति गर्न हामी निरन्तर छलफलमा छौं ।’
उनले सेना समायोजन र पुनस्र्थापना जस्तो संवेदशिल काम सम्पन्न भएपछि नै संविधान निर्माणका लागि सकारात्मक बाटो खुलेको बताए ।
विभिन्ना नाममा बढ्दो आन्दोलनप्रति लक्षित गर्दै एमाओवादी अध्यक्ष दाहालले भने, ‘अहिले इतिहासको महत्वपूर्ण र संवेदनशिल समय हो, हामीले सद्भाव कायम गरी समृद्ध नेपाल बनाउन विवेक, धैर्य र साहसको प्रयोग गर्नु आवश्यक छ ।’
उनले सबै क्षेत्रमा बस्ने नेपालीलाई संयम रहन अपील गर्दै नयाँ संविधान निर्माणको अहिलेको चरणमा सबैलाई सहयोग गर्नुपर्ने उल्लेख गरे ।
अध्यक्ष दाहालले चितवनलाई केन्द्र शासित विशेष प्रदेश बनाउने तयारी भएको बताए । मकवानपुर र नवलपरासीको नवलपुरसम्मको केही भागलाई समेटेर चितवनलाई केन्द्र शासित विशेष क्षेत्र बनाउन आफूले प्रस्ताव गरेको बताए ।

प्रतिक्रिया