समयचक्र

आमा † कुवामा पानी किन सकिँदैन ?’
–‘ईश्वरको लीला †’
–‘तेसो भए ईश्वरले हाम्रो घरमै कुवा उमारिदिने लीला किन गरेनन् ?’
–‘ईश्वरको लीला हामी मान्छेले बुझ्न सक्तैनम् छोरी ।’
–‘आमा यो कुवा कहिल्यै सुक्तैन । तर, कुवाको डिलमा फुलेको फूल किन सुक्छ ?’
–‘मान्छे पनि सुक्छ यही फूलझैँ एक दिन । र, कुवा पनि सुक्छ एक दिन । बुझिस् ?’
–‘मान्छे, फूल र कुवा एउटै हुन् आमा ?’
–‘एउटै भ’न त जन्मेर मर्न परेसि †’
–‘तेसो भए म पनि फूल हुन्छु आमा एक दिन ?’
–‘हुन्छेस् नि । तर, तँ अइले कोपिलै छेस् ।’
–‘अनि म कुवा पनि हुन्छु आमा एक दिन ?’
–‘तेइ भर त तैँले भोलिपर्सि लोग्नेमान्छेको प्यास मेट्नुपर्छ ।’
–‘जति पानी झिके पनि यो कुवा कति चाँडै जत्तिको तत्ति हुन्छ आमा ? राति कसैले पनि पानी नझिक्ता भरिएर किन पोखिँदैन आमा कुवाको पानी ?’
–‘खै किन किन ? पछि आफैँ था’ पाउँचेस् ।’
–‘आमा, म पनि गाग्रोभरि पानी लान्छु नि ।’
–‘तँ सानी छेस् छोरी, बोक्न सक्तिनस् नि अहिले ।’
–‘सक्छु के, नाइँ †’
–‘जिद्दी नगर् न छोरी । आफूभन्दा गह्रुंगो भारी बोक्न सकिन्न क्या । फेरि गाग्रो पनि फुट्छ तेरो कम्मरबाट खसेर, अनि सबै पानी पोखिन्छ । तँलाई पनि चोट लाग्छ ।’
–‘म सक्छु के नाइँ †’
–‘पानी बोक्ने बेलै भ’छैन तेरो ।’
–‘एकपटक बोकेर हेर्छु के ।’
–‘तेरो कम्मर सानो छ, कहाँ अडिन्छ ?’
–‘मलाई पनि तपैँको जस्तै बारहाते पटुका बाँधिदिनु न त । गाग्रो तेइँ अडिहाल्छ नि ।’
–‘तेरो कम्मरमा पटुका बाँध्ने बेलै भा’ छैन ।’
आमाछोरीको यो कुराकानीको कुवा, कुवाको पानी, गाग्राहरू, रूखहरू ढुंगाहरू साक्षी छन् । असाध्यै विश्वासिला साक्षी । आमा तीस वर्षकी हुँदी हो, छोरी नौ–दस वर्षकी । छोरी जिज्ञासु छे । उसलाई लाग्छ, आमाले मेरा सबै जिज्ञासाको टुंगो लगाइदिन्छिन् । आमालाई लाग्छ, मान्छेका जिज्ञासा भगवान्ले पनि टुंगो लगाउन सक्तैनन् ।
छोरीले सानो गाग्रोमा, त्यो पनि आधा मात्र पानी बोकी । आमाले भने ठूलो गाग्रीमा गाग्रीभरि पानी बोकी । बाटो आफँै पनि सजिलोसँग हिँडेको छैन । पहाडी गाउँको अप्ठ्यारो बाटो । बाटोलाई भन्दा अप्ठ्यारो हुन्छ बाटो हिँड्ने मान्छेलाई । आमालाई डर लाग्छ– यस्तो बाटोमा यो छोरीले पानी बोक्न नसकेर लडी भने ? गाग्रो पनि फुट्छ पानी पनि पोखिन्छ । यति मात्रै भए त केही फरक पर्थेन, तर उसको जिन्दगी नै पोखियो भने ?
–‘बिस्तारै हिँड है नानी । नआइज, बाटो अप्ठ्यारो छ भनेको मानिनस् क्यारे ।’
–‘म योभन्दा पनि अप्ठ्यारो बाटो हिँड्न सक्छु आमा ।’
–‘खुब सक्छेस् ? ठूली भ’सि मात्र सक्छेस् ।’
–‘आमा, म कहिले ठूली हुन्छु ?’
–‘उमेर पुगेसि ।
–‘उमेर कइले पुग्छ आमा ?
–‘तरुनी भएसि ।
–‘तरुनी कइले हुन्छु आमा ?
–‘तैँले यो गाग्रीभरि पानी बोक्न सक्ने भएसि ।
–‘तपैँ तरुनी हो आमा ?
–‘म त अब बूढी हुन लागेँ नि ।’
–‘किन गाग्रोभरि पानी बोक्नुभ’को त ?
छोरीका कुराले आमाको ओठमा मुस्कान फुल्यो तर बोली फुटेन ।
सधैँ भेटिइरहने उकालो भेटियो, ओरालो भेटियो, उनै ढुंगाहरू, माटोहरू, फूलहरू, रूखहरू भेट भए । सबैले उसरी नै चुपचाप स्वागत र बिदाइ गरे ।
कुवादेखि घरसम्म जाँदा उकालो र ओरालो बराबर होला । उनीहरू अहिले कुवा र घरको माझतिर पुग्नै लागे । आमा अघिअघि छोरी पछिपछि ।
उमेर प्रत्येक दिन बढ्दै गए पनि नबढ्ने आमाको उचाइलाई हेरी छोरीले । आमाले लगाएको मटमैलो गुन्यूचोलो पनि हेरी । पानी बोक्दा उसलाई खेलेजस्तो लागेको छ । तर, उसकी आमालाई भने काम गरेजस्तो । सायद त्यसैले पानी बोक्दा आमा पो बढी थाकेजस्तो देखी उसले । आमाले गरेको स्याँस्याँ पनि सुनी उसले । स्याँस्याँ त उसले पनि गरेकी छ । तर, त्यो स्याँस्याँ उसलाई खेल्दा हुने स्याँस्याँ जस्तै लाग्यो ।
बाटोभरि विभिन्न आकार–प्रकारका ढुंगा असरल्ल छन् । कुनै ढुंगा देख्दा उसलाई देउता बनाउन पाए हुन्थ्यो नि जस्तो लाग्यो, कुनै ढुंगा देख्दा गट्टा बनाउन पाए हुन्थ्यो नि जस्तो पनि लाग्यो । आधा बाटो हिँडेपछि उसले आफूले बोकेको गाग्रोतिर हेरी । पानी छचल्किरहेछ । छल्काइ एकाएक बढेको अनुभव गरी । गाग्रो बिसाएर हेरी, पानी त आफैँ माथि आएको रहेछ । तर, भरिन बाँकी छ । कसरी आफँै पानी बढ्यो गाग्रोमा ? ऊ दंग परी ।
फेरि बोकी । गाग्रोमा पानी बढे पनि पटक्कै गह्रुंगो भएको छैन । बरु उसलाई झन् हलुंगो पो भएको छ । यतिन्जेल आमाको पछिपछि भएकी उसले आमालाई भेट्टाई । दुवै सँगसँगै भए । उसले बाटोवरिपरि फुलेका फूलमध्ये एउटा फूल हिँड्दाहिँड्दै टिपेर चोलाको तुनामा बाँधी । एकाएक उसका मटमैलो गुन्यूचोलो पनि उज्यालिँदै जान थाले । उसलाई आफूभित्र पनि उज्यालो छिरेजस्तो लाग्यो, जसरी उज्यालो छिर्छ बन्द कोठामा पनि झ्यालबाट । ऊ रोमाञ्चित भई ।
उसले आमालाई उछिनेर अघि बढी । चाँडोचाँडो हिँड्न थाली फूलैफूलको भारी बोकेभैँm ।
उसकी आमाको हिँडाइ बिस्तारै धीमा हुँदै गयो । उसको पछिपछि एउटा कुकुर आयो उसको पाइला सुँघ्दै र पछ्याउँदै । जब कुकुरले उसलाई भेट्यो त्यसपछि उसलाई सुँघ्दै पुच्छर हल्लाउन थाल्यो । हुँदाहुँदा कुकुरले त उसको खुट्टा चाट्न खोज्यो । उसले खुट्टाले नै ‘आचा’ भनेर धपाई । तर, कुकुर त झन् साख्खै भएर उसलाई पुच्छर हल्लाउँदै पच्छ्याउन पो थाल्यो । कुकुरले छोडेन । घरसम्मै पुग्ला जस्तो पो छ । हिँड्दै गर्दा बाटोमा एउटा किशोर परैबाट हाँस्तै आएको देखी । उसले पनि त्यो किशोरका निम्ति हाँसी । तर, आफू हाँसेको थाहै नपाई हाँसी । हाँस्ताहाँस्दै भेट भयो । संयोगले भएको भेट । कुरा पनि भयो ।
–‘पानी किन छचल्काउँदै ल्याएकी ?
–‘आधा भएर होला ।’
किशोरले गाग्रीको मुखबाट यश्सो भित्र हेर्‍यो र भन्यो– ‘आधाभन्दा धेरै रहेछ । झन्डै भरिनै लागेको छ ।’
उसले दंग पर्दै भनी– ‘होइन, मैले त आधा मात्र ल्याएकी थिएँ †’
–‘नपत्याए आफैँ हेर ।’
–‘ए, हो त रहेछ † कसरी यस्तो भयो हँ ?’
दुवै दंग पर्दै एकअर्कालाई हेराहेर गरे, अनि भरिनै लागेको गाग्रोको पानी ।
उसले दंगकै अवस्थामा सोधी– ‘अनि, कता जान थाल्यौ त ?’
– ‘ऊ माथि डाँडामा पिङ खेल्न । तिमी नजाने ?’
– ‘म पानी पुर्‍याएर आउँछु ।’
–‘जोगाएर लैजाऊ, नत्र लडेर गाग्रो पनि फुट्छ, तिमीलाई पनि चोट लाग्छ ।’
पछिपछि आउँदै गरेकी आमालाई देखाएर भनी– ‘आमा पनि सँगै हुनुहुन्छ ।’
– ‘नत्र त म पुर्‍याइदिन्थेँ । पिङ खेल्न आऊ तेतिबेला म पुर्‍याउन आउँछु है ।’
उसले हाँसेर स्वीकृति जनाई । दुवै आ–आफ्नो बाटो लागे । त्यहीबेलामा उसकी आमाले बल्ल उसलाई भेटी ।
– ‘सक्तिन भनेको त यो बल्लिइ पो भइछ ।’
–‘आमा, मलाई यो पानीको गाग्रो त झन्झन् हलुंगो पो लाग्दै छ ।’
–‘गाग्रोभरि पानी बोक्न परेपछि था’ पाउलिस् पछि ।’
जब घर पुगेर दुवै आमाछोरीले पिँढीमा पानीको गाग्रो बिसाएर गाग्रोमा हेरे । अचम्म भयो †
के थाहा छ ?
छोरीको सानो गाग्रो बढेर ठूलो भएको रहेछ । गाग्रोको पानी पनि बढेर टन्नै भरिएको रहेछ । तर, आमाको गाग्रोको पानी घटेर आधाभन्दा पनि थोरै भएको रहेछ †
दंग पर्दै आमाले छोरीतिर हेरी– तरुनीमा हुनुपर्ने विशेषता बोकेर ढकमक्क फल्ने तयारीमा फुलिरहेकी पो रहिछे छोरी त । त्यतिखेरै बेँसीतिरबाट भारी बोकेर बाबुछोरा पनि आए । गोठनेर भारी बिसाए । बिसाएर जब दुवैले आ–आफ्नो अनि एकअर्काको भारी हेरे, चकित भए ।
किन, थाहा छ ?
किनभने छोराले बोकेको सानो घाँसको भारी ठूलो र झन् हरियो भएको रहेछ । बाबुले बोकेको घाँस भने घटेर सानो र सुकेर झन्डै परालजस्तै भएको रहेछ ।

प्रतिक्रिया