कुटनीतिज्ञको अभिव्यक्तिप्रति दलको विरोध

काठमाडौं, ५ जेठ । भारतीय कुटनीतिज्ञले तराई मधेसका सम्बन्धमा दिएको पछिल्लो बिवादास्पद अभिव्यक्तिलाई लिएर प्रमुख तीन दलहरुले आपत्ति प्रकट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकले बीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका राजनीतिक मामिला हेर्ने कन्सुलर एस.डी. मेहताको अभिव्यक्तिलाई लिएर आपत्ति प्रकट गरेको एमाओवादी उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा एमाओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।
‘कुटनीतिक मामिला विपरित हो, यो आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप हो’, बैठक पछि सञ्चारकर्मीसँग उनले भने, ‘त्यस कारणले गर्दा, हामीले भारत सरकारको आजै परराष्ट्रमन्त्रालय मार्फत ध्यानाकर्षण गराउने निर्णय गरेका छौं ।’
भारतीय कुटनीतिज्ञद्वारा आएको आभिब्यक्तिका सम्बन्धमा मधेसवादी दलहरुले पनि आपत्ति जनाउने आश्वासन दिएको श्रेष्ठले जानकारी दिए ।
उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘जुनकोणवाट, जुनस्तरवाट यो अभिव्यक्ति आयो, सम्बन्धित व्यक्तिलाई नियम अनुसार भारत फर्काईनु पर्छ भन्ने हाम्रो धारणा रहेको छ ।’
कन्सुलर मेहताले बुधबार बीरगञ्जको स्थानीय भिस्वा होटलमा पर्सा र बारा जिल्लाका कांग्रेस, एमाले र मधेसी फोरमका नेताहरूसँग अनौपचारिक रात्रिभोजमा सरिक भएका थिए । त्यसक्रममा उनले मधेसका लागि लड्न आग्रह गरेको सहभागी नेताहरुले बताएका छन् ।
मेहताले आफ्नो कुटनीतिक मर्यादा विपरित जेठ १४ अघि नै मधेसमा आन्दोलनको आँधीबेहरी ल्याउनुपर्छ भन्दै उकासेका थिए ।
यसैबीच, भारतीय दूतावासले भने बीरगञ्जस्थित भारतीय महाबाणिज्यदूतको भनाईलाई तोडमरोड गरिएको दाबी गरेको छ । यस्ता कार्यले नेपाल र भारतबीच मित्रतामा आँच आउने चेतावनी दिएको छ ।

प्रतिक्रिया