उपत्यकामा ‘मार्‍यो नि मायाले’

काठमाडौं : लगातारको आमहडतालले चलचित्रको प्रदर्शन प्रभावित पारिरहेकामा आज शुक्रबार दुई चलचित्रले उपत्यकामा प्रदर्शनको तयारी गरे पनि एकले प्रदर्शन फिर्ता लिएको छ भने अर्को एउटा मात्रै चल्ने भएको छ । अग्रज श्रेष्ठले निर्देशन गरेको मार्‍यो नि मायाले मार्‍यो उपत्यकामा लाग्ने भएको हो भने तुलसी घिमिरे निर्देशित माया त माया हो पछि हटेको हो । यी दुवै चलचित्र मोफसलको प्रदर्शनपछि उपत्यकाभित्र प्रदर्शनको तयारीमा थिए । बाबु बलामीले निर्माण गरेको मार्‍यो नि मायाले मार्‍योमा राजेश हमाल, शोभिता सिंखडा, प्रमोद खड्का, हिमाल काफ्ले, गीता अधिकारी, शिवानी बलामीको मुख्य भूमिका छ भने मनोहर सुनामले संगीत दिएका छन् ।
लगातारको बन्दका कारण माया त माया होको प्रदर्शन पछि सारिएको निर्माता विनोद अर्यालले जानकारी गराए । यो चलचित्रमा निखिल उप्रेती, सञ्चिता लुइँटेल, शान्तिप्रिय, सन्दीप सापकोटा र बालकलाकार भिभास अर्यालको मुख्य भूमिका छ । माया त माया होको प्रदर्शन आगामी १९ गतेदेखि गरिने निर्माता अर्यालले जनकारी गराए । (सौर्य)

प्रतिक्रिया