बन्द अराजक बन्दै

काठमाडौं, ४ जेठ । विभिन्न समूहले गरेको बन्दका कारण बुधबार पनि देशभरको जनजीवन प्रभावित भएको छ ।

२० दिनदेखि जारी अखण्ड सुदूरपश्चिमको आन्दोलनकारी र सरकारबीच काठमाडौंमा सहमति भए पनि कैलालीमा बन्द फिर्ता लिइएको छैन । बझाङ र बाजुरामा बन्द फिर्ता भएपछि जनजीवन सामान्य बन्दै गएको छ । प्रादेशिक राजधानीको माग गर्दै दोस्रो दिन पनि धनकुटा बन्द गरिएको छ । थारूको बन्दका क्रममा नवलपरासीमा यात्रु र बन्दकर्ताबीच झडप मिलाउन गएको प्रहरीसँगै आन्दोलकारी जाइलागेपछि प्रहरीले गोली चलाएको छ । झडपमा आठ प्रहरीसहित १८ घाइते भएका छन् ।
थारू संयुक्त संघर्ष समितिका कार्यकर्ता र प्रहरीबीच नवलपरासीको विभिन्न ठाउँमा बुधबार भएको झडपमा आठ प्रहरीसहित १८ घाइते भएका छन् । झडपका क्रममा प्रहरीले १६ राउन्ड हवाई फायर, २४ राउन्ड रबरको गोली र १९ राउन्ड टियर ग्यास प्रहार गरेको थियो ।
झडपमा इन्स्पेक्टर खड्क खत्री, सशस्त्र इन्स्पेक्टर विष्णु बिसी, प्रहरी हवल्दारद्वय सुजन खरेल र टेकबहादुर खत्री तथा पाँच जवान घाइते भएका छन् । घाइतेमध्ये हवल्दार खत्री र जवान रामु लामिछानेको अवस्था गम्भीर छ । उनीहरूको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको एसपी ज्ञानविक्रम शाहले जानकारी दिए । अन्य घाइतेको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, प्रदर्शनकारीतर्फ १० घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेपछि स्थानीय मेडिकलहरूमा उपचार गरिएको छ । एसपी शाहका अनुसार थारू संयुक्त संघर्ष समितिले साँझ ५ बजेपछि रातिको समयमा खुला गर्ने भने पनि नेतृत्वको निर्णय नटेर्ने भन्दै दुई दिनदेखि राति पनि राजमार्ग अवरुद्ध पारेपछि आक्रोशित यात्रु र बन्दकर्ताबीच झडप भएको थियो । झडपलाई नियन्त्रण गर्ने क्रममा प्रहरीसँग प्रदर्शनकारीको झडप भएको हो । झडपपछि आन्दोलनकारीले तीन यात्रुवाहक बस र ट्रकमा आगजनी गरेका छन् । लुम्बिनी भ्रमणमा आएका मोरङ सुकुना बहुमुखी क्याम्पसको ना २ ख ५१९५ नम्बरको बस, ना २ ख ३४२९ नम्बरको ट्रक र ना ४ ख ३२११ नम्बरको यात्रुवाहक बसमा आगजनी भएको हो ।
यस्तै, माग पूरा गर्न सरकारले वास्ता नगरेको जनाउँदै ब्राह्मण, क्षत्री, दशनामी, ठकुरीेलगायत समुदायले बुधबार नवलपरासीमा रहेका तीन दलका कार्यालयमा तालाबन्दी गरेका छन् । आमहडताल गर्दासमेत माग पूरा गर्न सरकार गम्भीर नरहेकोले एकीकृत नेकपा (माओवादी), नेपाली कांग्रेस र नेकपा (एमाले)को पार्टी कार्यालयमा तालाबन्दी गरिएको संयुक्त संघर्ष समितिका रामग्राम नगर संयोजक मनोज कार्कीले बताए ।
यस्तै, राज्य पुन:संरचनामा जातीय संघीयताको विरोधमा उत्रिएको क्षत्री समाजका कार्यकर्ताले बुधबार रुकुममा नेकपा (एमाले) र नेपाली कांग्रेसको कार्यालयमा तालाबन्दी गरेका छन् ।
यस्तै, धनकुटालाई प्रादेशिक राज्यको राजधानी बनाउनुपर्ने माग बुधबार पनि बन्द गरिएको छ । बुधबार धनकुटाका शैक्षिक संस्था, बजार, पसल र यातायात बन्द भएका थिए ।
प्रादेशिक राजधानी बनाउनका लागि आन्दोलन गरिरहेका सामाजिक संघसंस्था र नागरिक अधिकारकर्मीले आमहडताल नगर्न अनुरोध गर्दा युवाले जबर्जस्ती बन्द गराएका हुन् । पूर्वाञ्चलको क्षेत्रीय सदरमुकामसमेत रहेको धनकुटा सदरमुकाम भौगोलिक, सामाजिक, सांस्कृतिक हिसाबले पनि सम्पन्न र उपयुक्त हुँदाहुँदै धनकुटालाई राजधानी हुनबाट वञ्चित गर्न लागिएकोले सशक्त रूपमा आन्दोलन सुरु गरी आमहडतालको आयोजना गरिएको आन्दोलनकर्ता दिनेश आठपहरियाले बताए ।
यस्तै, सिंगो सुदूरपश्चिमलाई समेटेर एक प्रदेश बनाउन काठमाडौंमा शीर्ष नेताबीच सहमति भए पनि कैलालीमा आन्दोलनको कार्यक्रम यथावत् छ । बझाङ र बाजुरामा भने बन्द फिर्ता भएको छ ।
अखण्ड सुदूरपश्चिम आन्दोलनमा घाइते भएकाको नि:शुल्क उपचार र क्षतिपूर्ति दिने लिखित प्रतिबद्धता नजनाउँदासम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने अखण्ड सुदूरपश्चिम एकता समाज नागरिक परिचालन समितिका संयोजक गोपाल देउवाले बताए ।
तर बझाङ र बाजुरामा अखण्ड सुदूरपश्चिमको आन्दोलन फिर्ता भएको छ । २० दिनदेखि जारी अखण्ड सुदूरपश्चिमको आन्दोलन फिर्ता भएपछि जनजीवन सामान्य बनेको छ । मंगलबार काठमाडौंमा बसेको शीर्षनेताको बैठकले ११ प्रदेश र सुदूरपश्चिमलाई नटुक्रयाई सेतीमहाकाली प्रदेश बनाउने सहमति गरेपछि बाजुराको आन्दोलन संघर्ष समितिले आन्दोलनका कार्यक्रम फिर्ता लिएको संयोजक शेरबहादुर शाहीले बताए ।
लगातारको बन्दले औषधि, खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीको अभाव भएपछि जनजीवन कष्टकर बनेको थियो । आन्दोलनका कार्यक्रम फिर्ता भएपछि जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालय, पसल, शिक्षण संस्था बुधबारबाट सुचारु भएका छन् ।
बझाङमा पनि अखण्ड सुदूरपश्चिमको माग गर्दै गरिएको अनिश्चितकालीन बझाङ बन्द बुधबार बेलुकाबाट फिर्ता भएको छ । सदरमुकाम चैनपुरमा बसेको नेपाली कांग्रेस र नेकपा (एमाले)को बैठकले अखण्ड सुदूरपश्चिमको पक्षमा सकारात्मक वार्ता भएकोले अनिश्चितकालीन बन्द फिर्ता लिने निर्णय गरेको हो । बैठकपछि बिहीबार साँझ सदरमुकाम चैनपुरमा विजयजुलुस निकालेर बन्दको कार्यक्रम फिर्ता लिइएको घोषणा गरिएको थियो ।
बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले बैतडीमा बुधबार दुई सरकारी कार्यालय र एक होटलमा तोडफोड गरेका छन् । उनीहरूले जिल्ला कृषि विकास कार्यालय, डिभिजन सहकारी कार्यालय तथा गोठालापानीको होटलमा तोडफोड गरेका हुन् । जातीय राज्यका लागि आन्दोलनमा उत्रन माओवादी अध्यक्ष पुष्पकमल दाहालले जनजातिलाई दिएको अभिव्यक्तिविरुद्ध गत सोमबारदेखि बैतडी बन्द गरिएको छ ।
मसाल जुलुससहित आएका थरुहट कार्यकर्ता र प्रहरीबीच बुधबार साँझ धनगढीका विभिन्न स्थानमा झडप भएको छ । एकीकृत नेकपा
(माओवादी)का जिल्लास्तरीय नेता, वाइसिएल र थरुहट कार्यकर्ता सम्मिलित मसाल जुलुससहित आएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । धनगढीको ट्राफिक चौराहामा कोणसभा गर्नुपर्ने मागसहित प्रहरीको घेरा तोड्न खोजेपछि दोहोरो झडप भएको हो । प्रहरीले रोकेको भन्दै ढुंगामुढा प्रहार भएपछि प्रहरीले लाठीचार्ज गरेको थियो । आक्रोशित प्रदर्शनकारीले पार्कमोडमा रहेको जोशी मेडिकल हल रहेको घरको झ्यालको सिसा फुटाएका छन् । ढुंगामुढा प्रहारबाट अमित प्लाजालगायत अन्य घर तथा पसलमा क्षति पुगेको छ ।
यस्तै, झापा, मोरङ, र सुनसरीलाई विराट लोकतान्त्रिक प्रदेश बनाउनुपर्ने माग गर्दै बुधबारदेखि विराट क्षेत्रीय राजवंशी समाजका कार्यकर्ता तीनदिने रिले अनशनमा बसेका छन् ।
(मोरङमा गणेश लम्साल, धनकुटामा देवकला कार्की, नवलपरासीमा केबी राना र कैलालीमा दीपक ओली ।)

प्रतिक्रिया