कन्टेनरमा राखिएका सेनाको हतियारबारे अन्योल

काठमाडौं, ४ जेठ । शान्ति–सम्झौताअनुसार कन्टेनरमा राखिएका नेपाली सेनाका ३ हजार हतियारबारे निर्णय नहुँदा अन्योल उत्पन्न भएको छ । माओवादी लडाकु तथा हतियार नेपाली सेनाको मातहत आइसक्दा पनि सेनाका ती हतियारबारे कुनै निर्णय भएको छैन ।

५ मंसिर ०६३ मा विस्तृत शान्ति–सम्झौता हुँदा माओवादी लडाकु र नेपाली सेनाका हतियार कन्टेनरमा राख्ने सहमति भएको थियो । माओवादी सेनाले आफ्नो शिविरमा तीन हजार चार सय हतियार भण्डारण गरेको थियो भने नेपाली सेनाले पनि सोहीबराबर संख्यामा आºना हतियार छाउनीमा भण्डार गरेको थियो ।
सेना समायोजन विशेष समितिको २८ चैतको निर्णयपछि माओवादी सेनाका सबै हतियार सेनामातहत आइसकेका छन् । तर, सेनाले भण्डारण गरेका हतियारका विषयमा समितिले कुनै निर्णय गरेको छैन । ती हतियार झिकेर प्रयोग गर्दा ‘सहमति उल्लंघन’ हुने धारणा केहीको छ भने केहीले झिक्दा फरक नपर्ने बताएका छन् ।
विशेष समितिका सदस्य भीम रावल माओवादी लडाकुको शिविर नै जिम्मा लगाइसकेपछि सेनाको हतियारका सवालमा सेनाले नै निर्णय लिने बताउँछन् । ‘माओवादीको शिविरै आर्मीको जिम्मा लगाएपछि आर्मीकै हतियारबारे कुनै निर्णय आवश्यक छैन,’ रावलले सौर्यसँग भने । यस विषयमा कसैले निर्णयका लागि प्रस्तावसमेत नराखेको रावलले बताए ।
एमाओवादी स्थायी समिति सदस्य देव गुरुङ दुवै पक्षका हतियारबारे एकैचोटि निर्णय नहुनु दु:खद् भएको बताउँछन् । एकतर्फी रूपमा माओवादी शिविरमा सेना घुसाइएकामा उनले आपत्ति व्यक्त गरे । ‘महानिर्देशनालय बनाएर दुवैतिरका हतियार एकै ठाउँमा ल्याउनुपर्ने थियो,’ गुरुङले भने, ‘त्यसो नगरी माओवादीको शिविर र हतियार नियन्त्रणमा लिइयो तर छाउनीको कन्टेनरमा रहेको हतियारबारे कुनै निर्णय भएन ।’ यो विस्तृत शान्ति–सम्झौता र अन्तरिम संविधानको भावनाविपरीत रहेको उनको भनाइ छ ।
एमाओवादी पोलिटब्युरो सदस्य एवं समितिका पूर्वसदस्य कुलप्रसाद केसी छाउनीको हतियारबारे समितिले कुनै निर्णय नगरेको बताउँछन् । ‘छाउनीमा राखिएका हतियार आर्मीले झिक्नेबारे कुनै निर्णय भएको छैन,’ केसीले भने, ‘त्यस्तो कुनै निर्णय नभए पनि माओवादी शिविर नै जिम्मा लगाइसकेपछि बाँकी कुरा गर्न आवश्यक रहेन ।’
कांग्रेस केन्द्रीय सदस्य एवं सेना समायोजन विशेष समितिका सदस्य डा. रामशरण महतले पनि छाउनीमा रहेको हतियारबारे समितिले कुनै निर्णय गर्न आवश्यक नभएको बताए । ‘अनमिन गएपछि सो कन्टेनरमा रहेका हतियार सरकारमातहत आयो, त्यसैले आर्मीले ती हतियार प्रयोग गर्न पाउँछ,’ डा. महतले भने ।
सेनाका प्रवक्ता जर्नेल रमीन्द्र क्षत्रीले माओवादी सेनाको शिविरै सेनालाई जिम्मा लगाएपछि सेनाकै नियन्त्रणमा रहेको हतियार स्वत: प्रयोग गर्नसक्ने बताए । ‘हाम्रै नियन्त्रणमा रहेको हतियार हामीले नै प्रयोग गर्ने हो,’ क्षत्रीले भने, ‘त्यस विषयमा अब कसैको निर्णय आवश्यक भएन ।’

प्रतिक्रिया