अभिनयमै जोड

मुम्बई : बलिउड अभिनेत्री विपासा वसुले कलाकारसँग दर्शकलाई बाँधिराख्न सक्ने खुबी हुनुपर्ने बताएकी छन् । सन् २००१ मा चलचित्र अजनबीबाट बलिउड प्रवेश गरेकी यी काली सुन्दरीले दर्शकहरू कलाकारलाई हेर्न होइन, अभिनय हेर्न हलसम्म पुग्ने धारणा राखिन् । ‘दर्शकको यो चाहना पूरा गर्न कलाकारले अरू क्रियाकलापमा होइन, अभिनयमा नै बढी जोड दिनुपर्छ,’ उनले एजेन्सीलाई भनिन्, ‘त्यसबापत प्राप्त हुने दर्शकको तालीले कलकारलाई
हौसला बढाउँछ ।’
आफू बलिउड प्रवेश गरेपछिको ११ वर्षको अवधिमा चलचित्र क्षेत्रमा धेरै परिवर्तन आइसकेको उनले बताइन् । भनिन्, ‘अहिले बलिउड चलचित्रको पहुँच विदेशतिर पनि निकै फैलिइसकेको छ, बलिउड कलाकारले आफ्नो लोकप्रियता जाँच्न स्वेदशमा होइन, विदेशतिर लागे हुने अवस्था आइसकेको छ ।’ तर, चलचित्र निर्माणशैली भने पुरानै ढर्राको रहेको उनले बताइन् । हालसम्म बलिउडका ५० बलिउड चलचित्रमा अभिनय गरेकी उनका राज, जिस्म, रेस, लम्हालगायत चलचित्र चर्चित छन् । हालै उनले अंग्रेज र मराठा युद्धका विषयमा बनेको एक चलचित्रमा योद्धा तलुजाको भूमिकामा अभिनय गरेकी छन् । सो चलचित्रमा उनका साथ अभिनेता अभय देवल पनि छन् ।  (एजेन्सी)

प्रतिक्रिया