महिनावारीमा यौनसम्पर्क गर्न

हाम्रो समाजमा महिनावारी भएकी महिलालाई ‘अछुत’ व्यवहार गरिन्छ । सुदूरपश्चिमका केही स्थानमा रहेको छाउपडी प्रथा यसको गतिलो दृष्टान्त हो । महिनावारीका समयमा महिला र पुरुषबीच यौनसम्पर्क हुने कुरा पनि सामाजिक दृष्टिले वर्जितजस्तै छ  । हिन्दू धर्मशास्त्रमा महिनावारीका बेला नारी अछुत हुने र त्यस्तो बेला सम्भोग गर्ने पुरुष नर्कमा जाने उल्लेख छ । त्यसैले रजस्वला भएकी स्त्री आफंै पनि सम्भोगका लागि तयार हुँदिनन् । रजस्वलाका बेला सम्भोग गर्दा स्वास्थ्यलाई असर गर्नेसमेत धारणा छ । यद्यपि पछिल्लो समयमा मानसिकता बदलिँदै गएको छ । खासमा चिकित्साशास्त्रले पनि महिनावारीका बेला गरिने सम्भोगलाई सामान्य नै मान्छ ।
महिनावारीका बेला हुने सम्भोगबाट गर्भ रहने सम्भावना निकै कम हुने स्वास्थ्यविज्ञानले बताउँछ । यद्यपि महिलाको योनिभित्र छिरेको वीर्यमा भएका शुक्रकीट केही दिन बाँच्ने भएकाले र अनियमित महिनावारी हुने महिलामा गर्भ रहन पनि सक्छ । महिनावारीको समयमा योनिबाट बग्ने रगतलाई लिएर आआफ्नै धारणा बनाइएको पाइन्छ । चिकित्सकका अनुसार महिनावारीका बेला बगेको रगत लिंगमा लागे पनि त्यसले कुनै असर गर्दैन तर यौन सम्पर्कपछि राम्ररी सफा गर्न भने आवश्यक छ । महिलामा यौनरोग भएको खण्डमा भने त्यस्तो रगतबाट पुरुषमा संक्रमण हुने सम्भावनाचाहिँ बढी हुन्छ । त्यसैले यौनसम्पर्कका बेला सावधानी अपनाउनुपर्छ । महिनावारीका बेला सम्भोग गर्दा पाठेघरमा असर पर्छ भन्ने मान्यता पनि गलत हो । महिनावारीका बेला पाठेघरको मुख खुला हुने भएकाले लिंगले हानि पुर्‍याउने अनुमान कसैले गरेका हुन्छन् तर त्यो सही होइन । लिंग पाठेघरको मुखसम्म पुग्ने र निकै साँघुरो मुखबाट छिर्ने सम्भावनै हुँदैन । महिनावारीका बेला यौनसम्पर्क राख्ने महिलामा रगत बग्ने क्रम छिट्टै रोकिन्छ । सम्भोगका बेला पाठेघर खुम्चिन्छ, जसका कारण एकैचोटि धेरै रगत बाहिर निस्कन्छ र लामो समयसम्म रगत बग्दैन । महिनावारीका बेलामा यौनसम्पर्क गर्ने महिलामा दुखाइ कम हुन्छ । यसका कारण धेरै हुन सक्छन्– पहिलो, चरमोत्कर्षका बेला शरीरले छाड्ने हर्मोनले दुखाइ कम गर्ने औषधिको काम गर्छ । त्यस्तै, दुखाइ महसुस गराउने रसायन सम्भोगका बेला उपयोग हुने भएकाले त्यसपछि तल्लो पेट दुख्न कम हुन्छ ।

प्रतिक्रिया