सिपालु विद्यार्थी

भाइबहिनीहरू, तिमीहरूलाई कम्प्युटर चलाउन कत्तिको मन लाग्छ ? कतिपयलाई त कम्प्युटरमा थुप्रै कुरा गर्न आउँछ पनि होला । अहिलेको युग हो नै कम्प्युटर र प्रविधिको । नजानी सुखै छैन । स्कुलमा पनि कम्प्युटर छुट्टै विषयका रूपमा पढाइ हुन्छ । यही विषयमा डुब्दाडुब्दै अवेयरनेस इन्टरनेसनल एकेडेमी, शंखमूलका केही विद्यार्थी प्रविधिप्रति झनै उत्साहित भए । उनीहरूले एउटा वेबसाइट बनाउने सोच बनाए । त्यो वेबसाइटबाट समाजमा घट्ने विकृति र विसंगति पर्दाफास गर्ने सोचे यी साना विद्यार्थीले । सो स्कुलमा कक्षा १० मा पढ्दै गरेका समुद्र तिमल्सिना, अमृत पौडेल, अमित ज्ञवाली, नीरजविक्रम शाही र हिमाल पाण्डे जुटे, वेबसाइट बनाउने अभियानमा ।
यसका लागि केही पैसा पनि जुटाउनैपर्‍यो, तर ल्याउने कहाँबाट ? ‘हामीले खाजाबापत पाइने पैसा जोगायौँ, अभिभावकले पनि केही सपोर्ट गर्नुभयो’, समुद्रले खुसी हुँदै भने । त्यसपछि तयार भयो, ‘लिक्सनेपाल डटकम ।’ उनीहरूमध्ये नीरज र विशालले फोटो खिच्ने जिम्मा लिए । समुद्र र अमृत लेख लेख्न तथा खोज्न थाले । डिजाइनको जिम्माचाहिँ अमितको भागमा आयो । सानै उमेरमा उनीहरू खोज पत्रकारिता गर्न थाले ।
उनीहरूले काम थालेको अहिले ६ महिना भयो । सबैको वाहवाही बटुलेका छन् । अरू विद्यार्थीलाई राम्रो कामको उदाहरण दिनुपर्दा उनीहरूलाई देखाउँछन् रे सरमिस । समूहका पाँचै जनाको स्वभाव मिल्ने बताउँछन् उनीहरू । भन्छन्, ‘हामीमा सकारात्मक सोच छ ।’
आफ्नो देशलाई असाध्यै माया गर्ने उनीहरूले समाजका विकृति र विसंगतिको पर्दाफास गरेर सबैलाई सही बाटोमा हिँड्न सचेत गराउने उद्देश्यले वेबसाइट निर्माण गरेको बताए ।
उनीहरू शनिबार मात्रै वेबसाइट अपडेट गर्दा रहेछन् । हरेक शनिबार एउटा न एउटा नयाँ खबर लिक गरेकै हुन्छन् । पढाइलाई हानि नगरोस् भनेर बिदा र फुर्सदको समयमा मात्र यतातिर क्रियाशील हुँदा रहेछन् । बन्द–हड्तालका बेला धेरै साथी सडकतिर भेटिन्छन्, उनीहरूचाहिँ कसरी नयाँ खबर भेट्टाउने भन्ने ध्याउन्नमा हुन्छन् । ‘हामीमा यो कामले सिर्जनशीलता बढाएको छ, भविष्यमा अझ धेरै गर्ने इच्छा छ,’ उनीहरूले एउटै आवाजमा भने ।
कम्प्युटर विषय अति नै मन पराउने उनीहरूले पछि यही विषयबाट देशलाई फाइदा दिलाउने उद्देश्य राखेका छन् । घरमा पनि कम्प्युटरका विभिन्न प्रोग्रामिङ सफ्टवेयरहरू चलाएर बसेका हुन्छन् । यही कामका कारण उनीहरूलाई चिन्ने र मन पराउने साथीहरू अरू पनि थुप्रै बढेको सुनाउँदै थिए । शनिबार कुनै साथीले उनीहरूलाई भेटे खुल्दुलीसाथ सोधिहाल्दा रहेछन्, ‘आज के लिक गरियो त †’

प्रतिक्रिया