आन्दोलनबाट फर्केका मृत फेला

कैलाली : अखण्ड सुदूरपश्चिमको आन्दोलनमा सहभागी भएर घर फर्किएका एकजना शनिबार बिहान मृतावस्थामा फेला परेका छन् । शुक्रबार धनगढीमा भएको विरोध कार्यक्रममा सहभागी भएर घर फर्किएका कञ्चनपुर जिल्ला रैकरवारबिचुवा–९ का ४५ वर्षीय हरिदत्त भट्ट मृत फेला परेका हुन् ।

गेटा–९ राजपुर मोहना नदीको छेउमा भट्टको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको टाउको, कम्मर र हातखुट्टामा चोटपटक लागेको आफन्त लेखराज जोशीले बताए । ‘घटना प्रकृति हेर्दा हत्या भएको देखिन्छ,’ जोशीले भने, ‘घटना भएको ठाउँमा ट्रयाक्टर गएको र धेरै पटक फन्को मारेको देखिन्छ ।’
भट्टको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल पठाइएको छ । रिपोर्ट आएपछि हत्या वा भवितव्यबारे थाहा हुने एसपी वसन्तकुमार पन्तले बताए ।
अखण्ड सुदूरपश्चिम पक्षधरले भट्टको हत्या नै भएको दाबी गरेका छन् । उनीहरूले छानबिन गरी दोषीलाई कारबाही र मृतकलाई सहिद घोषणा गर्न माग गरेका छन् । (सौस)

प्रतिक्रिया