कांग्रेसद्वारा जनजाति सभासदलाई सचेत

काठमाडौं, ३० वैशाख । राज्य पुनःसंरचनाका सम्बन्धमा उठेको विवादलाई लिएर कांग्रेसले आज आफ्ना आदिवासी जनजाति सभासद्हरूसँग छलफल गरेको छ ।
सिंहदरबारमा भएको छलफलमा कांग्रेसले जनजाति सभासदलाई अरुको उक्साहटमा नलाग्न निर्देशन दिएको छ । उनसले पार्टीको नीति र निर्देशनलाई पालना गर्न भनेको छ ।
उसले राज्य पुनःसंरचना गर्दा प्रदेशको नामकरण जातीय पहिचानलाई आधार बनाएर राख्नुपर्ने भनी विभिन्न दलका आदिवासी जनजातिका सभासद्हरू एक भएका भनाइ सार्वजनिक भएका बेला आफ्ना आदिवासी जनजाति सभासद्हरूसँग परामर्श गरेको हो ।
कांग्रेसले बहुदलीय प्रजातन्त्रको पुनःस्थापनासँगै आदिवासी, जनजाति, दलित, पिछडिएका वर्ग सबैको हितका लागि आवाज उठाउँदै आएको र सबैको हकअधिकारलाई सुनिश्चित गर्नेमा प्रतिबद्ध रहेको बैठकमा जानकारी गराएको संसदीय दलका प्रवक्ता नवीन्द्रराज जोशीले बताए ।
कहिलेकाँही आपसी संवाद र छलफलको अभावले पनि असमझदारी पैदा हुने गरेको बारेमा पनि बैठकमा छलफल भएको उनको भनाइ थियो ।
‘समाजमा रहेको विभेद हटाउन, समान समावेशीताको सहभागिताअनुरूप सबैलाई समेटेर राष्ट्रिय एकताको रूपमा एकअर्काको सम्बन्ध बलियो बनाउँदै जनजाति सभासद्हरूले उठाएका कतिपय जायज मागप्रति ध्यानाकर्षण भएको छ’, प्रवक्ता जोशीले भने ।
संसदीय दलका नेता रामचन्द्र पौडेलले पार्टीको नीति र सिद्धान्तप्रति सबै सचेत हुनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया