चण्डेश्वरी जात्रा : लाका पालुङ हा…


चण्डेश्वरीको खटवरिपरि हजाराँको भिड जम्मा भएको छ । ‘चण्डेश्वरी जात्रा’ लेखिएको टिसर्टमा सजिएका युवा उत्साही छन् । बनेपा पुरानोबजारमा आज रमिता छ । रमिता हेर्नेका आँखा चण्डेश्वरीको खटमा टाँस्सिएका छन् । हातमा अक्षता लिएर छतमा, पिढीमा, झ्यालमा उभिएका दर्शकको मुहारमा खुसीका रेखा दौडिएका छन् ।
चण्डेश्वरी जात्रामा भेला भएका सैयौँ सहभागीका स्वर एउटै छन्, पाइला एउटै छन् । खटका मुख्य द्वारे बोलिरहन्छन्– ‘लाका पालुङ (एकैचोटी उचालौँ)’, त्यसपछि सबै युवा बोक्न थाल्छन् र सुरु हुन्छ– ‘हा…’ काभ्रे, बनेपाको सबैभन्दा ठूलो र विशेष उत्सवका रूपमा मनाइने ऐतिहासिक एवं धार्मिक महत्त्व बोकेको चण्डेश्वरी जात्राको यो दृश्य एउटा परम्परा र संस्कृतिको जर्गेना मात्र होइन, बरु सयाँै वर्षको इतिहासको निन्तरता हो ।
‘हा…’ केटाहरू खुसीले चिच्याउँछन् । तिनीहरूका अगाडि–पछाडि छन् हजारौँ साथ दिइरहेका । चण्डेश्वरीको खट चण्डेश्वरी मन्दिरमा पुर्‍याउँदा–ल्याउँदा खुसीले चर्को स्वरमा चिच्याउनेहरूले एउटै शब्द बोल्छन्– ‘हा…’ । करिब सयजनाले बोकेको चण्डेश्वरीको खटमा घर–घरबाट पूजाआजा भइरहेको छ । हा…हा… भन्दै खट बोकेर लगिएको दृश्य हेर्नेको भिडमा मिसिन चाहनेको तँछाडमछाड छ । बनेपाका स्थानीयवासी धिमे, नेखिऊ छुस्याहा, पञ्चेबाजा, नयाँ खिंलगायत बाजा बजाइरहेका छन् ।
खट बोकेर जात्राको लावालस्कर अगाडि बढ्छ । चण्डेश्वरी मन्दिर लैजाने क्रममा शिर मेमोरियल अस्पतालनजिकको उकालोको दृश्यलाई भने धेरैले हेर्न छुटाउँदैनन् । करिब ३५ मिटर ठाडो उकालोमा खट नबिसाई लैजानुपर्छ । इतिहासविद्का अनुसार पांग्रा नभएकालाई ‘खट’ भनिन्छ भने पांग्रा भएकालाई ‘रथ’ भनिन्छ । पांग्रा नभएको खट बोकेर चण्डेश्वरी मन्दिर पर्‍याउनुपर्छ । यसकारण ठाडो उकालोमा एकपटक पनि नबिसाई माथि पुर्‍याएको दृश्य हेर्न उपस्थितका आँखा खटमै केन्द्रित हुन्छन् । तीनधारामा परम्पराअनुसार भेडा बलि दिएपछि रित्तो खटलाई चण्डेश्वरी मन्दिर पर्‍याइन्छ । भोलिपल्ट त्यसै खटमा आराध्यदेवी चण्डेश्वरीको मूर्ति राखेर पुन: बनेपा ल्याइन्छ । उक्त मूर्तिलाई पुन: चण्डेश्वरीमै पुर्‍याएपछि जात्रा सकिन्छ । जात्रामा काठमाडौ, भक्तपुर, ललितपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोकलगायत जिल्लाबाट हजारौँ भक्तजन ओइरिन्छन् ।
जात्राका क्रममा १४ वटा बोका बली दिने गरिन्छ । १४ बोकामध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइने गरिन्छ भने बाँकी १२ बोका कलनदान गरिन्छ । जात्रामा भिडतिर मासु फालिएपछि जसले सिंङ, कान, आँखा, बंगारा, जिब्रो भेट्टाउँछ, ऊ भाग्यमानी मानिने विश्वास छ । यही विश्वासका कारण कलनदानका बेला बोकाको मासुका टुक्रा समात्न युवादेखि वृद्धसम्मको तँछाडमछाड हुन्छ ।
बनेपालीहरूका लागि चण्डेश्वरी जात्रा दसैंतिहारजस्तै मुख्य चाड हो । जात्रामा बनेपाबाहिर र विदेशमा रहेका बनेपाली मात्र होइन, उनीहरूका आफन्त, नातागोता सबै अनिवार्य रूपमा बोलाउनैपर्ने संस्कार छ । बनेपाको हजारौँ वर्षको इतिहास बोक्ने यो जात्रामा यहाँको संस्कृति, चाडपर्व र इतिहास प्रत्यक्ष रूपमा देख्न पाइन्छ । चण्डेश्वरी जात्रा सुरु हुनु एक साताअघिदेखि सातादिनपछिसम्म भोजभतेर जारी रहन्छ । प्रत्येक वर्षको वैशाख शुक्लपक्षको दिन र भोलिपल्ट मुख्य रूपमा मनाइने यस जात्राको इतिहास र सुरुआत हजारौँ वर्ष पुरानो र मानव रक्षासँग जोडिएको छ । ‘धेरै पुरानो र मानव जितको इतिहाससँग चण्डेश्वरी जात्रा जोडिएको छ,’ इतिहासविद् ज्ञानकाजी मानन्धर भन्छन्, ‘जित र खुसीयालीसँग जोडिएको यो जात्रा अहिलेसम्मकै पुरानो जात्रा हो ।’
धार्मिक कथनअनुसार सत्ययुगको प्रथम खण्डका बेला अण्डकको छोरा दैत्यराज चण्डासुरले लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाए । त्यसपछि पाताल, मच्छेमण्डल र स्वर्गमा चण्डासुरले हाहाकार मच्चाउन थालेपछि उनीहरू भागेर बनेपा चण्डेश्वरीको रक्तचन्दन वनमा पुगे । स्वर्गका राजालाई समेत चण्डासुरले जितेपछि देवताहरूको भागाभाग भयो । उनीहरूले त्यहाँ आएर आराध्यदेवीको प्रार्थना गरे । चण्डासुर देवताहरूलाई खोज्दै रक्तचन्दन वन आइपुग्यो । देवताहरू ज्यान जोगाउनका लागि पन्छीको रूप धारण गरेर वनबाट अलप भए । चण्डासुरका अनुयायीले रक्तचन्दन वनमा कोही नभएको र एउटी राम्री युवती चम्पक वृक्षभित्र बसेको बताएपछि चण्डासुरले वृक्षमा प्रहार गरे । त्यहाँबाट कुमारी चण्डेश्वरी प्रकट भइन्, चण्डासुरलाई मार्न प्रयास गरिन् तर सकिनन् । त्यसपछि उनी भगवतीको रूपमा प्रकट भइन् र चण्डासुरको बध गरेर देवताको रक्षा गरिन् ।
यही खुसीयालीमा बनेपामा चण्डेश्वरी जात्रा मनाइँदै आएको धार्मिक कथन छ । ‘अहिले पनि चण्डेश्वरी मन्दिर क्षेत्रमा कुमारी चण्डेश्वरीको रूपमा दुई शिलास्तम्भ र त्यसमाथि दुई मयुर छन् भने भगवतीको रूपमा दुई शिलास्तम्भ र त्यसमाथि दुई सिंह छन्,’ इतिहासविद् मानन्धरले भने, ‘इसापूर्व ५११ को त टाटपत्र नै भेटिएको छ, यस कारणले पनि चण्डेश्वरीको इतिहास धेरै पुरानो छ भन्न सकिन्छ ।’
खटका लागि आवश्यक काठ भक्तपुर र नालाबीचको वनबाट ल्याउने गरिन्छ । रूख काट्ने बेला बलि दिने चलन छ । बलि दिने क्रममा बोकाको सिङले जुन रूखलाई हान्छ, त्यही रूख काटिन्छ र खट बनाउन बनेपा ल्याइन्छ । खटका लागि अवाश्यक चुकुल भने चण्डेश्वरी वनबाट ल्याउने गरिन्छ । बनेपामा आठ गणेश, आठ पाटी, आठ ढोका र आठ पाटी अनि नौ ढुंगे धारा, नौ बहाल (बुद्धिस्ट) र ९९ इनार थिए तर अहिले ती अधिकांश त्यहाँ छैनन् । पाटीमा बसेर भजन भन्ने, ढुंगेधारामा स्नान गर्नेलगायत केही परम्परा पनि अहिले लोप हुँदै जान लागेका छन् । बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहकलगायत सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध जोडिएको चण्डेश्वरी जात्रामा बौद्ध धर्मावलम्बी मानन्धर पनि सहभागी हुन्छन् । इतिहासविद् मानन्धरका अनुसार तिब्बती भाषामा लेखिएका ‘काङ्सो’ भन्ने पुस्तकमा समेत देवी चण्डेश्वरीबारे उल्लेख छ ।

प्रतिक्रिया