एमाओवादी/कांग्रेसवीच राजनीतिक परामर्श

काठमाडौं, २९ वैशाख । राज्य पुनर्संरचना र शासकीय स्वरुपका विषयमा एकीकृत माओवादी र कांग्रेसका शीर्ष नेतृत्ववीच आज छलफल भएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा भएको छलफलमा राज्य पुनर्संरचनाका विषयमा कुराकानी भएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । राज्य पुनर्संरचना र शासकीय स्वरुपमा छलफल भएपनि दलहरु आ–आफ्नै अडानमा रहेपछि ठोस सहमति भने हुन सकेन ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै उनले पौडेलले भने, ‘जातीय आधारमा राज्य पुनर्संरचना गर्न कांग्रेस तयार छैन, बहुजातीय प्रदेश बनाउनु पर्छ ।’ उनले पहिचान र सामथ्र्यलाई आधार बनाएर संघीय राज्य बनाउनुपर्ने बताए ।
एमाओवादीका नेता बर्षमान पुनले उत्पीडनमा रहेको समुदायलाई सांस्कृतिक पहिचान सहितको राज्य दिनुपर्ने बताए ।
छलफलमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बावुराम भट्टराई, कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया