डेंगुबाट जोगिन सतर्कता अपनाइँदै

काठमाडौं, २९ वैशाख । गत वर्ष तराईसहित केही पहाडी जिल्लामा समेत महामारीको रूप लिएको डेंगु रोगबाट जोगिन यस वर्ष सरकारले आवश्यक तयारी पूरा गरेको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगुको सम्भावित महामारीलाई ध्यानमा राख्दै विभिन्न आवश्यक पूर्वतयारी पूरा गरिएको जनाएको छ । महाशाखाका निर्देशक डा. जिडी ठाकुरले गत वर्षको अनुभवका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्ष सम्भावित जोखिम आउन नदिन तयारी पूरा गरेको र जोखिम क्षेत्रका स्वास्थ्यकर्मीलाई सतर्क राखिएको बताए ।
‘डेंगुको जोखिम चितवन र भैरहवामा बढी रहेकाले त्यहाँका चिकित्सकदेखि स्वास्थ्य संस्थाका सम्पूर्ण कर्मचारीलाई रोगबारे सचेत गराउँदै आवश्यक सहयोग उपलब्ध गराएका छौँ,’ निर्देशक डा. ठाकुरले भने, ‘विशेषगरी चिकित्सक र स्वास्थ्य संस्थाका कर्मचारीलाई डेंगु रोगको पहिचान, उपचार प्रक्रिया र अन्य भैपरी आउने समस्या समाधानका उपायबारे प्रशिक्षण दिइएको छ ।’ उनका अनुसार जिल्लाका स्वास्थ्य संस्थामा औषधिदेखि आवश्यक सम्पूर्ण सामग्री पर्याप्त मात्रामा पुर्‍याइसकिएको छ ।
उनले रोग नियन्त्रण गर्न सरकारका तर्फबाट गत वर्ष समयमै पर्याप्त कार्य अगाडि नबढाउँदा डेंगु रोग प्रकोपका रूपमा देखापरेको स्वीकार गर्दै यस वर्ष सो रोगको खतराबाट जोगिन आवश्यक स्थानमा स्रोत–साधनको व्यवस्था गरिएको बताए ।
महाशाखाले डेंगुको जोखिममा रहेका तराईका जिल्लाका जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा चिकित्सक तथा नर्स र स्वास्थ्यकर्मीलाई रोग नियन्त्रणसम्बन्धी तालिम दिइएको जनाएको छ । डेंगु जोखिम क्षेत्रका बासिन्दामा रोगबाट बच्ने उपायबारे जनचेतना दिने काम भइरहेको डा. ठाकुरको भनाइ छ ।
‘चिकित्सकको प्रयासले मात्र यो रोगको महामारी रोक्न सकिँदैन,’ उनले भने, ‘लामखुट्टेको टोकाइका कारण यो रोग लाग्ने हुनाले मानिसलाई लामखुट्टेको टोकाइबाट कसरी बच्ने भन्ने चेतना पनि दिन आवश्यक छ ।’
उनले सरकारले तराईका केही स्थानमा लामखुट्टे हटाउन औषधि छर्कने तथा लामखट्टेको वासस्थान नष्ट गर्ने काम पनि भइरहेको बताए । ‘लामखुट्टेको टोकाइ नै रोग सार्ने प्रमुख आधार भएकाले यसलाई नष्ट गर्नर्े अभियान चलाइएको छ,’ उनले भने ।
डेंगु एडिस एजेप्टाई जातको लामखुट्टेको टोकाइका कारण हुने गर्छ । यो जातको लामखुट्टे १५ देखि ४० डिग्री तापक्रममा बाचिरहने भएकाले तापक्रममा आएको वृद्धिसँगै यो रोगको खतरा पनि बढ्दै गएको महाशाखाले जनाएको छ । डेंगुु भाइरसका चार प्रजाति हुन्छन् । तीमध्ये सबैभन्दा बढी देखापर्ने डेंगु क्लासिक हो । उच्च ज्वरो आउने, टाउको, जोर्नी तथा मांसपेशी दुख्ने, आँखाको पछिल्लो भाग दुख्नेजस्ता यो रोगका लक्षण हुन् ।

प्रतिक्रिया