डिएसपीमाथि छानबिन सुरू

बाग्लुङ, २९ वैशाख । बाग्लुङका डिएसपी कृष्णप्रसाद सिवाकोटी छानबिनको घेरामा परेका छन् । केही दिनअघि बाग्लुङको एक होटलमा अवैध क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यवसायीलाई कारबाही नगरी छाडेको र उनीहरूसँगै बसेर मदिरा सेवन गरेको मौखिक उजुरी र समाचार सार्वजनिक भएपछि पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराले छानबिन सुरु गरेको हो ।

पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराका डिआइजी राजेन्द्रसिंह भण्डारीले व्यवसायीलाई कारबाही नगरी छाडेको र सार्वजनिक रूपमै मदिरा पिउँदै हिँडेको विषयमा गहिरो अनुसन्धान गर्न एसएसपी लक्ष्मण न्यौपानेलाई निर्देशन दिएका हुन् ।
बाग्लुङ उद्योग वाणिज्य संघका महासचिव जयराम भारी र उपमहासचिव शशिकुमार श्रेष्ठलाई अविवाहित दुई युवतीसहित पक्राउ गरे पनि रातारात छाडिएको र उनीहरूसँगै बसेर मदिरा सेवन गरेको विषयमा छानबिन सुरु भएको हो । तर, डिएसपी सिवाकोटीले यो घटनालाई अस्वीकार गरेका छन् । उनले व्यवसायीले व्यक्तिगत पूर्वाग्रहका आधारमा आरोप लगाएको दाबी गरे ।
‘जिल्ला प्रहरी कार्यालय बाग्लुङका विषयमा सञ्चारमाध्यममा आएका सबै विषयको अनुसन्धान गर्नू भनेर निर्देशन आएको छ,’ अञ्चल प्रहरी कार्यालय बाग्लुङका एसएसपी न्यौपानेले भने, ‘क्षेत्रको निर्देशनअनुसार अनुसन्धान भइरहेको छ ।’ उनका अनुसार गत शनिबार पक्राउ परेका ती व्यवसायी अवैध यौनकार्यमा संलग्न थिए कि थिएनन् भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ ।
‘व्यवसायीसँग बसेर रक्सी खाए/नखाएको जानकारी छैन,’ न्यौपानेले भने, ‘म्याग्दी पुगेर आउँछु भन्दै सिवाकोटीले बिदा मागेपछि दिएको हुँ ।’ डिएसपी सिवाकोटी अघिल्लो दिन पक्राउ परेका तिनै व्यवसायीसँग बेनी गएका थिए । ‘सिवाकोटीका सबै विवादित क्रियाकलापबारे अनुसन्धान हुन्छ,’ न्यौपानेले भने, ‘प्रहरी अनुशासित र कर्तव्यनिष्ठ हुनुपर्छ भन्ने हाम्रो मान्यता छ ।’

प्रतिक्रिया