संविधान सहमतिमै जारी गर्न राष्ट्रपतिको सुझाव

काठमाडौं, २८ वैशाख । राष्ट्रपति रामवरण यादवले राष्ट्रिय सहमति निर्माण गरेर अघि बढन प्रमुख दलका शीर्ष नेताहरुलाई सुझाव दिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा प्रमुख दलका शीर्ष नेतालाई आज विहान बोलाएर यादवले जेठ–१४ गते सम्म सहमतिमा संविधान लेखनको कार्य सम्पन्न गर्न सुझाव दिएका हुन् । उनले जोठ–१४ गतेसम्म संविधान लेखन कार्य हुन नसके त्यसपछिको स्थिती गम्भीर हुने भन्दै संविधान लेखनमा गम्भीरता देखाउन सल्लाह दिएको एमाले अध्यक्ष झलनाथ खनालले जानकारी दिए ।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेसका सभापति सुशील कोइराला र एमाले अध्यक्ष खनाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारसँग यादवले सहमतिमै ध्यान दिन जोड दिएका हुन् ।
भेटमा राष्ट्रपति यादवले सहमतिका साथ अघि बढने संवैधानिक व्यवस्थाको पालना गर्न नेताहरुलाई आग्रह गरेका छन् ।
राष्ट्रपति यादवले संविधान लेखनका क्रममा भैरहेका प्रगतिका साथै समाधानको पहलका लागि गरिएका राजनीतिक परामर्शका विषयमा पनि चासो राखेका थिए । राष्ट्रपति यादवले दलहरुको जारी छलफलबाट निकास आउनेमा विश्वस्त रहेको धारणा राखेको अध्यक्ष खनालले बताए ।
पछिल्लो समय दलहरुका बीच निरन्तर छलफल भएपनि त्यसले निकास पाउन नसकेकोमा राष्ट्रपति यादवले चिन्तापनि जनाएका थिए ।
संविधान जारी गर्ने मिति नजिकिदै जाँदा समेत विवाद मिल्न नसकेको प्रति राष्ट्रपति यादवले नेताहरुलाई जिज्ञासा राखेका थिए । उनले दलहरुलाई दलगत अडान भन्दा पनि राष्ट्रिय स्वार्थलाई ध्यान दिन नेताहरुलाई आग्रह गरेका छन् ।
यसैवीच, प्रमुख तीन दलका शीर्ष नेताले संविधानसभा अध्यक्ष सुवास नेम्बाङसँग आजै बिहान सिंहदरबारमा भेटगरेका छन् ।
भेटमा संविधानका विवादित विषयमा छलफल भएको नेताहरुले बताएका छन् । अध्यक्ष नेम्वाङले संविधान निर्माणको समय कम रहेको बताउँदै विवादित विषयमा छिटो सहमतिका लागि पहल गर्न शीर्ष नेताहरूलाई ध्यानाकर्षण गराएका थिए ।
भेटमा एकीकृत माओवादी अध्यक्ष दाहाल, एमाले अध्यक्ष खनाल र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलको सहभागिता थियो ।

प्रतिक्रिया