अपराधमा बालकको प्रयोग बढ्दो

दाङ, २८ वैशाख । ‘हाम्रो सुन किनिदिनुपर्‍यो,’ तुलसीपुरस्थित एक सुन पसलमा पुगेका तीन बालकले भने, ‘यो सुन जोखेर पैसा दिनुस् त ।’ उनीहरूले ल्याएको सुन देखेर व्यापारी झन् छक्क परे । सुन थोरै र चानचुने थिएन । उनीहरूले ल्याएको सुनको बजार मूल्य थियो पाँच लाख ७३ हजार रुपियाँ । साना बालकले कहाँबाट ल्याए यत्रो सुन ? हल्लीखल्ली मच्चियो र उनीहरूलाई प्रहरीले पक्राउ गर्‍यो ।

सुनसहित पक्राउ पर्नेमा तुल्सीनगर–५ का १२ वर्षीय अनिल विक, १३ वर्षीय गोपाल बुढा र तुल्सीनगर–४ तमासेका १५ वर्षीय राजु नेपाली थिए । उनीहरूलाई सुनसहित पक्राउ गर्नु प्रहरीका लागि ठूलो सफलता भए पनि अहिलेसम्म प्रहरीको तनाब घटेको छैन । इन्स्पेक्टर प्रकाश मल्ल भन्छन्, ‘उनीहरूका अभिभावक नै फेला परेनन् ।’ बालकका अभिभावक फेला नपरेपछि प्रहरीले १८ वैशाखमा उनीहरूलाई पोखरास्थित बालसुधार केन्द्र सराङकोट पठाएको छ । २४ चैतमा तुलसीपुर बजारकै एउटा घरबाट चोरिएको सुन बेच्न बालक पसलमा आएका थिए ।
कानुनले १६ वर्षमुनिकालाई नाबालक भनेकाले कारबाही पनि कम हुने भएकाले अपराधमा बालबालिकाको प्रयोग बढ्दो छ । एसपी गणेशबहादुर ऐर भन्छन्, ‘यी बालक पहिला पनि विभिन्न अपराधमा संलग्न भएको पाइयो ।’ तर, अपराधका योजना बनाउने र बालकको प्रयोग गर्ने व्यक्तिसम्म प्रहरी पुग्न सकेन । मोटरसाइलक, मोबाइल, स्थानीय पसलका सामान चोरीमा पनि यी बालक संलग्न रहेको प्रहरीले बताएको छ ।
सुन चोरीमा मात्र होइन, दाङमा बलात्कार र मोटरसाइकल चोरीका घटनामा पनि बालककै सहभागिता बढेको छ । ६ चैतमा बसपार्कमा रोकिराखेका बसभित्रै १५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने पनि पाँच बालक थिए । त्यस्तै तुल्सीपुर बरुवा गाउँका दुई बालकले ग्यारेजबाटै पल्सर मोटरसाइकल चोरी गर्दा पक्राउ परेका थिए । रामपुरका १५ वर्षीय सन्तोष पोखरेल स्थानीयको मोटरसाइकल चोरीमा पक्राउ परेका थिए ।
तीन महिनाको अवधिमा दाङमा भएका ठूला चोरी र अपराधका घटनामा बालक देखिएका छन् । इन्स्पेक्टर प्रकाश मल्ल भन्छन्, ‘उस्तै प्रकृतिका घटनामा ठूलालाई हदैसम्मको कारबाही गर्न सकिन्छ, थुन्न सकिन्छ तर बालबालिकालाई छाड्नुपर्ने स्थिति छ र अपराधको सञ्जाल झन् विस्तार हुने सम्भावना छ ।’
प्रहरीमा बालबालिकाका लागि छुट्टै परामर्श केन्द्र नहुँदा सामान्य सम्झाएरै पठाउने काम भइरहेको छ । अर्कातिर चोरी र अपराधका योजना बनाउने पनि प्रहरीका नजरबाट उम्किरहेको बताउँछन् इन्स्पेक्टर मल्ल । समातिएकालाई प्रहरीमा राख्ने ठाउँ नहुँदा पनि प्रहरी समस्यामा परेको छ ।
दाङमा लागुऔषध प्रयोगकर्तामा पनि सडक बालकको संख्या बढी भएको प्रहरीको दाबी छ । अधिकारकर्मी विकिरण गौतम सामाजिक परिवेश, पारिवारिक अवस्था र बढ्दो उमेरसँगै बालबालिकालाई अपराधमा लगाउने काम बढेको बताउँछन् । ‘गल्ती गर्ने बालकालिकालाई परामर्शको व्यवस्था हुनुपर्छ,’ उने भने, ‘तर, जिल्लामा जिम्मेवार निकायमा बाल काउन्सिलरको व्यवस्था नै छैन ।’
प्रहरीका अनुसार धनी बाबुआमाका छोराछोरी या निमुखा गरिबका छोराछोरी बढी अपराधमा फसेका छन् । कानुनमा बालबालिकालाई थुनामा राख्न नमिल्ने व्यवस्था भएका कारण समस्या बढ्दो छ । कानुनमा १० वर्षमुनिका बालकलाई मान्छे मारे पनि थुन्न मिल्दैन भने १४ वर्षकालाई एक तिहाइ सजाय व्यवस्था छ । यस्तै १६ वर्षसम्मकालाई आधा र १८ वर्षसम्मलाई दुई तिहाइ सजायको व्यवस्था छ ।

प्रतिक्रिया