एकल जातीय राज्यमा दलहरुका वीच कुरा मिलेन

काठमाडौं, २७ वैशाख । दैनिक सरह राज्य पुनर्संरचना र शासकीयस्वरुपका विषयमा सहमतिका लागि छलफल गर्दै आएका प्रमुख दलका शीर्ष नेताहरुको बैठक पुनः बिनाकुनै निष्कर्ष सक्किएको छ ।
जातीय राज्य राख्ने वा नराख्ने भन्ने विषयमा सहमति जुटाउन विशेष समितिको कार्यालय नयाँ बानेश्वरमा मध्यरातिसम्म बसेको शीर्ष बैठकमा राज्य पुनर्संरचनामा दलहरुका वीच ठोस सहमति हुन नसकेको हो । एमाओवादीले एकल जातीय पहिचानमा अडान राखेपछि कांग्रेस र एमालेले विरोध गरेको नेताहरुले बताएका छन् ।
एमाओवादी र मधेसी मोर्चाले जातीय राज्यमा बचाउ गरेपछि कांग्रेस र एमालेले सहमति जनाउन मानेनन् ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाले उपाध्यक्ष बामदेव गौतमले कुनै एक जातिलाई मात्रै पहिचान दिएर राज्य दिदा समस्या उत्पन्न हुने बताए ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले अझै पनि निकास अउनेमा आफूहरु विश्वस्त रहेको बताए । उनले बिहीबार पुनः छलफल गरिने बताएका छन् ।
मधेसी मोर्चाका तथा तमलोपाका नेता हृदयश त्रिपाठीले कांग्रेस र एमाले संघीयता बिरोध रहेको आरोप लगाए । उनले संघीयताका पक्षमा धारणा राख्ने कांग्रेस र एमाले संघीयता विरोध दलहरु रहेको दाबी गरे । मन्त्री समेत रहेका त्रिपाठीले दलहरुका वीच कुनै सहमति हुन नसकेको बताए ।
उता, कांग्रेस नेता अर्जुन नरसिंह केसीले एकल जातीय प्रदेशको विपक्षमा आफूहरु रहेको बताए । उनले भने, ‘सबैलाई समेट्ने संघीय राज्य बनाउन हामीले प्रस्ताव गरेका छौं, तर जातीय राज्यका पक्षमा केही दल अग्रसर रहेकाले सहमति हुन सकेन ।’
कांग्रेस नेता केसीले एकल जातीय राज्यका पक्षमा कदापी कांग्रेस सहमत हुन नसक्ने भन्दै सबै जातजातिलाई हुने संघीय राज्य बनाउनुपर्ने बताए ।
एमाओवादी, कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका प्रमुख नेताहरुको बैठक बिहीबार पुनः बस्ने भएको छ ।
सहमति हुन नसके संविधानका विवादित विषयमा संविधानसभामा प्रक्रियामा लगेर मतदानबाट संवैधानिक समितिमा पठाउने सहमति दलहरुले यस अघि नै गरिसकेका छन् ।

प्रतिक्रिया