बन्धक बत्तीस जना बालकको उद्धार

चितवन, २७ वैशाख । चितवन जिल्लास्थित भरतपुर नगरपालिकाका दुई स्थानमा अवैधरूपमा बन्धक बनाई काम लगाउँदै गरेको अवस्थामा प्रहरीले आज छापामारी ३२ जना बालकलाई उद्धार गरेको छ ।

नारायणगढको बेलचोक र क्षेत्रपुरबाट ती बालकलाई माइती नेपाल, सेलर्ड र पत्रकारको रोहवरमा प्रहरीले उद्धार गरेको हो । बेलचोकमा सर्लाहीका रहिम अन्सारीले साडीमा कडाई गर्न लगाउँदै गरेको अवस्थामा १८ जना बालकलाई प्रहरीले उद्धार गरेको छ ।

प्रहरी नायब उपरीक्षक रवि पौडेलको नेतृत्वमा गएको प्रहरीले बेलचोकसँगै क्षेत्रपुरको रामेश्वर टोलबाट समेत १४ जना बालकलाई उद्धार गरेको जनाएको छ ।

प्रहरी नायब उपरीक्षक पौडेलले गैरकानूनी ढङ्गबाट बालकलाई काम लगाएको थाहा हुन आएपछि छापा मारेको बताए । उनले भने, ‘उद्धार गरिएका बालकहरूमा सात वर्षदेखि १३ वर्षसम्मका रहेका छन् ।’

उद्धार गरिएका अधिकांश बालक सर्लाही जिल्लाका रहेका हुन् । कोही काम सिक्दै गरेका र कोहीले मासिक तीन हजार रुपियाँमा काम गर्ने गरेको बताएका छन् ।

तानमा साडीमा कडाई गर्ने र राति त्यहीँ सुत्ने गरेको सात वर्षीय अमनकुमार साहले बताए । विगत केही महिनादेखि साहले बेलचोकको सो कडाई केन्द्रमा काम गर्दै आएका थिए ।

बालकहरूलाई बन्धक बनाई काम गराउने व्यक्तिलाई महिला तथा बालबालिका बेचबिखन ऐनअन्तर्गत कार्बाही हुने छ । दुवै ठाउँमा बालकलाई बन्धक बनाई काम गराउनेहरू भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया