पत्रकारको भेषमा चरेस तस्करी

काठमाडौं, २७ वैशाख । नेपाल पत्रकार महासंघ, सदस्यता नम्बर ७६५, सम्बद्ध जिल्ला ललितपुर, नाम–देवेन्द्र रोक्का मगर, संस्था– साप्ताहिक नयाँ मोर्चा ।
महासंघको यो परिचयपत्रवाहक बागलुङको तमान–६ का ५३ वर्षीय देवेन्द्र रोक्का मगर पत्रकार होइनन् । उनको परिचयपत्र भने पत्रकारकै छ । १ वैशाख २०५६ मा जारी उनको परिचयपत्रको अवधि १ वैशाख २०५८ सम्म थियो । तापनि, उही परिचयपत्र अहिलेसम्म पनि उनले प्रयोग गरेको पाइयो । महासंघका तत्कालीन महासचिव तारानाथ दाहाल र सभापति सुरेश आचार्यको हस्ताक्षर रहेको परिचयपत्रमा तस्बिर ढाक्ने गरी छाप लगाइएको छ ।
पत्रकारको परिपयपत्र देखाएर मगर चरेस तस्करी गर्दा रहेछन् । प्रहरीका अनुसार सानै उमेरमा २०२७ सालमा चरेस कारोबार थालेका उनी अन्तराष्ट्रियस्तरमै पहिलो नम्बरको चरेस वितरक र नेपालको प्रमुख डिलर हुन् । उनले काठमाडांैमा लामो समयदेखि चरेस कारखाना नै चलाउँदै आएका रहेछन् । उनको सञ्जालमा पाँच सयभन्दा धेरै मजदुर काम गर्थे । यो रहस्य तब खुल्यो, जब लागूऔषध नियन्त्रण कानुन कार्यान्वयन एकाइले उनलाई पक्राउ गर्‍यो ।
बाँडभन्ज्याङ–५ बाट आइतबार पक्राउ परेका उनलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो । प्रहरीले पक्राउ गरेलगत्तै सीतापाइलास्थित उनको निवासमा खानतलासी गर्दा चरेसका बोरामात्र होइन कारखाना नै भेटेको थियो । त्यहाँबाट चरेस बनाउने विद्युतीय उपकरण, प्याक गर्न प्रयोग गरिने सामान र  तौलने सामान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक सय ३६ किलोग्राम चरेस पनि बरामद गरियो । विभिन्न बैंकका १२ वटा एटिएम, ३५ वटा चेकबुक, ४९ हजार रुपियाँ र सात हजार भारु पनि फेला परेको थियो ।
मगरले चरेस तस्करी पोखराबाट सुरु गरिएको बयान दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चरेस तस्करीको अभियोगमा २०३६ सालमा पक्राउ परेका उनी एक महिना १५ दिन कारागार बसी धरौटीमा छुटेका थिए । त्यसपछि उनी  ७ चैत २०४२ मा पनि पक्राउ परे । चार वर्ष ६ महिना सजाय भुक्तानपछि छुटेका उनले चरेस तस्करी गर्न छाडेनन् । बरु उनले आफ्नो कारोबार क्यानाडा, जर्मनी र जापानमा विस्तार गरे ।
उनले प्रहरीलाई दिएको बयानअनुसार अन्तर्राष्ट्रिय तस्करबाटै अर्डर आउँथ्यो । भारी मूल्य असुलेर उनले चरेस टिम्बा सिरकभित्र पोको पारी कार्टुनमा हाली वीरगन्ज नाका हुँदै भारतको गोवासम्म पुर्‍याउँथे । त्यहाँबाट पानीजहाजबाट गन्तव्यस्थलसम्म पुर्‍याइन्छ । एकाइका एसएसपी नवराज सिलवालले क्यानाडा चिसो ठाउँ भएकाले टिम्बा सिरकको बहानामा उनले चरेस निर्यात गरेको पाइएको बताए । ‘मगरले एकै पटकमा तीन सय किलोसम्म चरेस निर्यात गरेको पाइयो,’ एसएसपी सिलवालले भने ।
चरेस तस्करीबाट करोडौं कमाएका उनको काठमाडौंमा एक रोपनीभन्दा धेरै जग्गासहित पक्की घर, बागलुङ र धादिङमा ठूलो परिमाणमा जग्गा छ । हङकङ र जापानको बैंकमा ४० लाख ब्यालेन्स देखिएको प्रहरी भनाइ छ । प्रहरीका अनुसार उनका पत्नी चन्द्रा र छोरा अमेरिकामा बसोबास गर्छन् ।

प्रतिक्रिया