बर्सेनि चार सय बालबालिका सडकमा

काठमाडौं, २६ वैशाख । नेपालमा बर्सेनि चार सय बालबालिका सडकमा आउने गरेको एक अध्ययनले देखाएको छ । सडक बालबालिकालाई पुन:स्थापनका लागि करोडौँ रकम खर्चिए पनि बालबालिका सडकमा आउने क्रम रोकिएको छैन ।

सोमबार सडक बालबालिकाका लागि कार्यरत संस्थाको राष्ट्रिय मञ्च नेपालले तीन वर्षसम्म गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै बर्सेनि चार सय संख्याको हाराहारीमा मुलुकका विभिन्न ठाउँबाट बालबालिका सडकमा आइरहेको बताएको छ । यीमध्ये ११ देखि १६ वर्षका बालबालिकाको संख्या ६७ प्रतिशत छ । जातीय रूपमा सबैभन्दा बढी दलित र जनजातिका बालबालिका सडकमा आउने गरेको प्रतिवेदनमा उल्लेख छ । ‘सडक बालबालिका १६ वर्षपछि सडकमा बस्दैनन्,’ मञ्चका सचिव कृष्णकुमार थापाले भने ‘पहिला उनीहरूलाई पुन:स्थापनाका लागि परामर्श गर्न गाह्रो हुन्छ, पछि उनीहरू आपैँm सडक छाड्छन् ।’ उनका अनुसार पुन:स्थापनामा गएकामध्ये कतिपयको जीवन सुध्रिएको छ भने कोही सडक बालक नै सहरका डन हुने गरेका छन् ।
पारिवारिक कलह र गरिबीका कारण उनीहरू घर छाडेर हिँड्ने गरेको र कतिपय बालबालिका परिवारको बन्देजबाट मुक्त हुन साथीको लहैलहैमा सडकमा आउने गरेको अध्ययनमा भेटिएको छ । व्यक्तिगत स्वतन्त्रताका लागि घर छाडेर आउनेमध्ये सबैभन्दा बढी बाग्मती अञ्चलका ३० प्रतिशत छन् ।
नेपालमा सडक बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्था एक हजार चार सयभन्दा बढी छन् । बालबालिकाको संरक्षण, उद्धार तथा पुन:स्थापनाका लागि रकम पनि ठूलै खर्च हुने गरेको छ । तर सडक बालबालिकाको संख्यामा कमी आउन सकेको छैन । जति नै रकम खर्चिए पनि परिवारलाई सक्षम नबनाएसम्म सडक बालकको संख्यामा कमी नहुने प्रतिवेदनको निष्कर्ष छ ।
केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक धर्मराज श्रेष्ठका अनुसार एउटा मन्त्रालयमात्रैले यो समस्या समाधान हुन सक्दैन । उनले भने, ‘जे–जति कारणले बालबालिका सडकमा आएका छन्, राज्यको समस्या भएकाले सबै मन्त्रालय, संघसंस्था, नगरपालिकाले सामूहिक रूपमा दीर्घकालीन योजना बनाएर काम गर्न जरुरी छ ।’

प्रतिक्रिया