अखिल क्रान्तिकारी विभाजित

काठमाडौं : मातृपार्टी एनेकपा (माओवादी)मा देखिएको आन्तरिक विभाजनको रोग अनेरास्ववियु
(क्रान्तिकारी)मा सरेको छ । सो संगठनभित्र माओवादीको संस्थापन र उपाध्यक्ष मोहन वैद्य खेमासित नजिक दुई गुट औपचारिक रूपमै खडा भएका छन् ।
माओवादीको प्रभावशाली भ्रातृ संगठनका रूपमा रहेको क्रान्तिकारीमा सोमबारदेखि औपचारिक विभाजन आएको हो । वैद्यनिकट गुटले सोमबार समानान्तर नीति तथा कार्यक्रम नै घोषणा गरेको छ । क्रान्तिकारीका सचिव कमल शाहीले संगठनमा विकृति आएकोले समानान्तर कार्यक्रम ल्याउनुपरेको बताए । शाहीले भने, ‘आमूल परिवर्तनको उद्देश्यबाट पछि हट्दै सुधारवाद हँुदै सत्तापक्षीय चरित्रमा च्यूत भइरहेको विद्यार्थी आन्दोलनलाई सही दिशा र नेतृत्व दिनुपर्ने आवश्यकता छ ।’
क्रान्तिकारीका उपाध्यक्ष शरद रसाइलीले विद्यार्थी आन्दोलन निस्क्रिय भएकोले समानान्तर कार्यक्रम ल्याउनुपरेको बताए । १८ वैशाखमा वैद्यपक्षीय विद्यार्थीको राष्ट्रिय भेलासमेत भएको थियो । सो भेलाले केन्द्रीय सदस्यहरू थप गरेको थियो । वैद्यपक्षीय समूहले आफूहरूसँग ८५ केन्द्रीय सदस्य रहेको दाबी गरेको छ ।
राष्ट्रिय भेलाले संघर्षका कार्यक्रम र मागसमेत राखेको थियो । घोषित कार्यक्रममा ज्ञापनपत्र बुझाउनेदेखि देशव्यापी हडतालसम्म छन् ।
क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले सबै विद्यार्थी संगठन एक भएर जानुपर्ने अवस्थामा २/४ जना विभाजन भएर शैक्षिक आन्दोलन सफल नहुने बताए । पार्टीभित्रको संघर्ष विद्यार्थी संगठनमा पनि घुसाउन खोजिएको भए पनि त्यो सफल नहुने उनले ठोकुवा गरे ।
‘संगठनको एकतामा आफ्नो भविष्य नदेखेर एक/दुईजनाले विभाजन गर्न खोजेका हुन्,’ अध्यक्ष शर्माले भने, ‘हामी केन्द्रीय समितिको बैठक बसेर कारबाहीको प्रक्रियामा जान्छौँ ।’ उनले संगठन विभाजन गर्न भित्री तथा बाहिरी तत्त्व लागिपरेको बताए । स्रोतका अनुसार क्रान्तिकारीको दुई सय ११ सदस्यीय केन्द्रीय समितिमा वैद्य पक्षसित ५० को हाराहारीमा छन् । (सौस)

प्रतिक्रिया