सुदूरपश्चिमसँग बार्ता गर्न टोली गठन

काठमाडौं, २५ वैशाख । विगत एघार दिनदेखिको अखण्ड सुदूरपश्चिमका विभिन्न संघसंगठनहरुसँग बार्ता गर्न सरकारले उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

समितिका सदस्यहरुमा विना विभागीयमन्त्री वर्षमान पुन र सिंचाईमन्त्री महेन्द्र यादव रहेका छन् । तीन सदस्यीय समितिलाई सुदूरपश्चिम बन्दमा उत्रिएका राजनीतिक दल, नागरिक समाज र अधिकारीकर्मीसँग वार्ता गर्ने जिम्मेवारी दिइएको छ ।

अखण्ड सुदूरपश्चिमको माग गर्दै आन्दोलनमा उत्रिएका त्यस क्षेत्रका राजनीतिक दल, नागरिक समाज र अधिकारकर्मीलाई बन्द फिर्ता लिई वार्तामा आउन प्रमुख दल एनेकपा (माओवादी), नेपाली कांगे्रस र नेकपा एमालेका शीर्ष नेताहरुले आग्रह गरेपनि त्यसले आफूहरुका माग सम्बोधन हुन नसक्ने भन्दै उनीहरुले थप आन्दोलन चर्काएका थिए ।
बन्दका कारण सुदूरपश्चिममा यातायात, शिक्षण संस्था, पसलकवल बन्द हुँदा स्थानीयवासीको दैनिकीसमेत प्रभावित हुँदै आइरहेको छ भने अस्पतालहरुमा औषधीसमेत पाइन छाडेको बताइएको छ ।

प्रतिक्रिया