सीमा गाउँमा भारतीयद्वारा नेपालीमाथि कुटपिट

वीरगन्ज, २३ वैशाख । पर्साको सीमावर्ती भिखनाठोरी नाकामा भारतीयले नेपालीलाई आउजाउमा रोक लगाएका छन् । तीन दिनदेखि कुलोको विवाद बढेर गएपछि भारतीयको निसानामा नेपाली परेका हुन् ।
शनिबार घर फर्किन लागेका करिब २५ नेपालीलाई भारत एकुवा प्रसौनी गाउँका बासिन्दाले भिखनाठोरी रेल स्टेसनमा दिनभर बन्धक बनाएर साँझ पुन: भारत फर्काइदिएका हुन् । भारतीयले सीमावारि आउन नदिएपछि नेपाली यात्रु साँझ ७ बजेको रेल चढेर पुन नरकटियागन्ज फर्केको ठोरीका रामप्रकाश कुँवरले जानकारी दिए ।
स्थानीय ठुटे खोलाबाट निकालिएको कुलाको पानी ठोरी र निर्मलबस्तीका किसानले भारतीयलाई प्रयोग गर्न नदिएपछि भारतीयले गत बिहीबारदेखि नेपालीलाइ सीमा वारपारमा रोक लगाएका हुन् । शनिबार बिहान ५ बजे र ११ बजेको रेल चढेर भिखनाठोरी रेल स्टेसनमा आएका नेपाली यात्रुलाई भारतीयले दिनभर बन्धक बनाएका हुन् ।
त्यस्तै वीरगन्जमा सुत्केरी गराएर घर फर्किन लागेकी ठोरी–५ की सरिता तिमिल्सिनालाई पनि भारतीयले भिखनाठोरीमा रोकेका थिए । भारतीय प्रहरीले उद्धार गरेर सरितालाई साँझ सीमा पार गराएको इलाका प्रहरी कार्यालय ठोरीका इन्स्पेक्टर मुक्तिनारायण चौधरीले बताए । उनीसँगै साँझ ६ बजेको रेलबाट आएका ठोरी र निर्मलबस्तीका पाँच नेपाली पनि बेलुकी भारतीय प्रहरीको सहयोगमा घर फर्कन पाएका छन् ।
कुलाको विवादमा एकुवा प्रसौनीका भारतीयले शनिबार बिहान निर्मलबस्ती –२ बुद्धनगरकी ५८ वर्षीया  सन्तमाया खडकालाई कुटपिट गरेर घाइते बनाएका छन् । मकै टिप्न खेतमा गएका बेला चारजनाको संख्यामा आएका भारतीयले कुट्पिट गरेका हुन् । उनको टाउकामा गम्भीर चोट लागेको छ । घाइते खड्काको इलाका स्वास्थ्यचौकी ठोरीमा उपचार भइरहेको छ । भारतीयले खड्काको चार  बाख्रा र एउटा खसी पनि लुटेर लगेको स्थानीय नवराज फुयाँलले बताए । शनिबार नै किनमेल गर्न भिखनाठोरी बजार पुगेका चितवन माडी कृष्णनगरका राजकुमार बोटे र जीवनपुरका जीवन परियारलाई पनि भारतीयले कुटपिट गरेका छन् । बजारमा किनमेल गरिरहेका बेला अचानक आक्रमण भएपछि भागेर ठोरीमा आएको
उनीहरूले बताए ।
बिहीबार बेलुकी भारतीयको आक्रमणबाट नेपाल प्रहरीका असइसहित तीन प्रहरी घाइते भएका थिए । भारतीयले इलाका प्रहरी कार्यालय ठोरीका असइ  दीपेन्द्र जयसवाल, जवान कृष्ण सुवेदी र महिला प्रहरी अमृता काफ्लेलाई कुटपिट गरेका थिए ।
स्थानीय ठुटे खोलाको कुलाको पानीका विषयमा बिहीबार ठोरी र निर्मलबस्तीका बासिन्दा तथा भारतीयबीच भएको झडप साम्य पार्न गएका बेला  भारतीयले प्रहरीमाथि आक्रमण गरेका थिए । भारतीयको आक्रमणपछि प्रहरीले आत्मरक्षाका लागि आठ राउन्ड हवाई फायरसमेत गरेको थियो । कुलाको पानीको विषयमा बिहीबार दिउँसोदेखि उत्पन्न तनाब साम्य पार्न दुवै देशका सुरक्षाकर्मीले पहल गरिरहेका बेला भारत भिखनाठोरीका बासिन्दाले सुरक्षाकर्मीमाथि आक्रमण गरेका हुन् ।
ठुटे खोलामा नेपालीले बनाएको कुलो भारतीयले भत्काएर कब्जामा लिएपछि नेपाली र भारतीयबीच बिहीबार पटकपटक झडप भएको थियो । बिहीबार करिब तीनसयका संख्यामा लठ्ठी, भाला र रडसहितका घरेलु हतियार लिएर भारतीय प्रदर्शनमा उत्रिएपछि ठोरी र निर्मलबस्तीका बासिन्दा प्रतिकारमा उत्रिएका थिए ।  ठोरी र भारतको भिखनाठोरीका बासिन्दाबीच तनाब हुन सक्ने भन्दै शुक्रबार दिनभर सीमा क्षेत्रमा दुवैतर्फका सुरक्षाकर्मी राखिएको थियो ।
भिखनाठोरीका नागरिक र सुरक्षाकर्मीले पटक पटक नेपाली भूमि अतिक्रमण गर्दै आएको स्थानीयको आरोप छ । डेढ वर्षअघि ठुटे खोलामा निर्माण गर्न लागिएको पुल पनि भारतीय सुरक्षाकर्मीकै बलमिच्याइँका कारण निर्माण हुन सकेको छैन । पुल निर्माणस्थल नेपाली भूभागमा रहे पनि भारतीय सुरक्षाकर्मी एसएसबीले भारतीय भूमिमा परेको भन्दै पुल बन्न नदिएका हुन् ।

प्रतिक्रिया