हिमपहिरोले १३ को मृत्यू (फोटो फिचर)

पोखरा, २३ वैशाख । अन्नपूर्ण हिमश्रृंखलामा पग्लिएर आएको हिमपहिरोमा परी १३ जनाले ज्यान गुमाएका छन् । ३० बढी वेपत्ता भएको प्रारम्भिक प्रहरी रिर्पोट छ । मुत्यु हुने सबैको सनाखत हुन सकेको छैन् ।

हिमपहिरोमा परेकाहरुको उद्धार गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले काम गरिरहेका छन् । हिमपहिरोमा परेकाहरुका लागि सहानुभुति दिन, उद्धार गर्न तथा अन्य सहयोगका लागि सबै सुरक्षा निकायले सक्रिय रुपमा काम गरिरहेका छन् । बाढीले बगाएर घाईते भएका ३ जनाको भने जीवितै उद्धार गरिएको छ ।

१२ बर्षीय सन्तोष गुरुङको सनाखत भएको छ । बाढीले सबै भन्दा बढी भुर्जुङखोला क्षेत्रमा प्रभाव पारेको छ । अहिलेसम्म हेम्जाको माथिल्लो याम्दीमा एउटा, तल्लो याम्दीमा लगायतका नदी किनारहरुमा गरी १३ जनाको शव भेट्टिएको छ ।
त्यस्तै बगरमा एक र पोखरा १७ बाच्छीबुडुवामा एउटा शव देखिएको स्थानीय गोकर्ण कार्कीले संचारकर्मीलाई जानकारी दिएका छन् ।

बाढीले बगाएर भुर्जुङ्गखोलाको तातोपानीमा ३० जना वेपत्ता रहेको भुर्जुङ्गखोलाका मनोज आचार्यले जानकारी दिए । उनका अनुसार तातोपानीमा मात्र बाढीले ४० बढी घर बगाएको छ । यस्तै तीनवटा ट्रक तथा एउटा ट्याक्टर समेत बगाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

बाढीले एउटा स्कुल बस समेत बगाएको र २ जना बाहेक अन्य सबै सम्पर्कविहिन् रहेको बताईएको छ । बाढीले माछापुच्छ्रे गाविसको एक घर बगाएको छ ।
त्यस्तै तातोपानी क्षेत्रबाट ३ जना रसियन नागरिक वेपत्ता भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार  Ckopo Sygell,Ivam Mallkho,Maia Dobinska रहेका छन् ।

सेदी नदी अप्रत्यासित रुपमा बढेपछी स्थानियबासी त्रसित अवस्थामा बसिरहेका छन् । पोखरावासी समेत हिम पहिरोको बाढीबाट अहिले पनि त्रासित छन् । बाढीले मानिस, घर, गोठ, गाई, भैंसी तथा सवारी साधन समेत बगाएर लगेको प्रत्यक्षदर्शीले टेकनाथ आचार्यले जानकारी दिए ।
भुर्जुङ्गखोलाकै तार्के तथा भेंडीगोठ क्षेत्रका घरगोठ बगाएको स्थानिय दुधवहादुर गुरुङ्गले जानकारी दिए ।

त्यस्तै, तातोपानी क्षेत्रबाट ३ जनालाई घाईते अवस्थामा उद्धार गरिएको छ । उद्धार गरिएका सार्दिखोला–१ का मोहन ताम्राकारको मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको छ । उनीहरुलाई पोखरा न्यूरोडका सूर्य आचार्यले ट्याक्सीमा ल्याएर उद्धार गरेका हुन् ।
त्यस्तै सार्दिखोलाकै एक वालक घाईते अवस्थामा भेट्टिएका छन् । उनको पनि मनिपालमा उपचार भईरहेको छ ।

सेदीनदीले घाचोक, माछापुच्छ्रे, सार्दीखोला, भुर्जुङखोला, पुरुन्चोर हुँदै पोखरा आसपासका क्षेत्रहरुमा समेत प्रभावित पार्न सक्ने अनुमान गरिएको छ । बाढी गाउँमा पस्न सक्ने देखिएपछी ती क्षेत्रका स्थानीयबासीलाई सुरक्षित स्थानमा सारिएको छ ।
पोखराको बगर, रामघाट तथा हेम्जाको याम्दी क्षेत्रका नदी किनारमा बसेकाहरुलाई सुरक्षित स्थानमा सारिएको छ । पानीको बहाव कहिले रोकिने र कहिले एकैचोटी बढेर आउने गरेको जनाएको छ ।

यसैबीच, हिमपहिरोका कारण नदी बढेर आउँदा असर पार्न सक्ने भन्दै प्रहरीले पोखराको रामघाट क्षेत्रमा बसोबास गर्नेलाई हटाएको छ । बाढीले पोखरा खानेपानी सुदृढिकरण आयोजनाको पाईप बगाएको छ । पाईप बगाएपछी पोखरामा पानीको अभाव हुन सक्ने आशंका गरिएको छ ।

केही दिनअघि देखि हिमालमा हिउ जमेको कारण एक्कासी हिँउ पहिरो आएर नदी बढेको हुन सक्ने स्थानीयबासीको भनाई छ । बाढीमा परेकाहरुको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलि खट्टिएको छ । अहिले प्रभावित क्षेत्रमै पुगेर उद्धार जारी राखेको जनाईएको छ भने थप सुरक्षाकर्मी पठाउने तयारी भईरहेको छ ।

प्रधानमन्त्री बावुराम भट्टराईले बाढीमा परेकाहरुको उद्धारका लागि तदारुकताका साथ उद्धार गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । उनले नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीलाई टेलिफोनगरी उद्धार तथा सहयोगमा जुट्न निर्देशन दिएका हुन् । जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा उपमहानगरपालिकाले नदीकिनारमा बसोबास गर्ने सम्पूर्ण सर्वसाधारणलाई सतर्कता अपनाउन आव्हान गरेको छ ।
तस्बिरः अनिल अधिकार र उमेश पुन

 

 

प्रतिक्रिया