ट्रमा सेन्टर मन्त्रालय मातहत

काठमाडौँ, २२ वैशाख । वीर अस्पताल परिसरमा रहेको दुई सय शैय्याको अत्याधुनिक ‘इमर्जेन्सी एन्ड ट्रमा सेन्टर’ (आकस्मिक एवं दुर्घटना सेवा केन्द्र) सरकारले केन्द्रीय स्वास्थ्य संस्थाका रुपमा सञ्चालन गर्ने भएको छ । दुर्घटनाबाट घाइते भएकाको उपचारका लागि भारतले बनाइदिएको ट्रमा सेन्टर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत नभई केन्द्रीय संस्थाकै रुपमा सरकारले सञ्चालन गर्न लागेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयमातहत केन्द्रीय संस्थाका रुपमा ट्रमा सेन्टर सञ्चालन गर्ने निर्णय गरेको हो । निर्माण भए पनि विभिन्न समस्याका कारण चार वर्षदेखि सञ्चालनमा आउन नसकेको ट्रमा सेन्टर न्याम्सअन्तर्गत सञ्चालनको तयारी भएको थियो । मन्त्रालयले न्याम्सअन्तर्गतको वीर अस्पताल राजनीतिक समस्याका कारण धराशायी हुँदै गएको भन्दै ट्रमा सेन्टरको अवस्था पनि त्यस्तै हुने भन्दै छुट्टै संस्थाका रुपमा चलाउनुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो ।
मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख डा. तीर्थराज बुर्लाकोटीले ट्रमा सेन्टर निर्माण भएको समयमा न्याम्स नै नभएकाले सेन्टरलाई तत्कालका लागि मन्त्रालय अन्तर्गतको संस्थाका रुपमा सञ्चालन गर्न लागिएको बताए । पहिलो चरणमा ५० शैय्याको सेन्टरमात्र सञ्चालन गर्ने तयारी मन्त्रालयको छ । डा. बुर्लाकोटीका अनुसार भारत सरकारले हस्तान्तरण गरेलगत्तै सेन्टर सञ्चालन गर्नुपर्ने भएकाले आवश्यक कर्मचारीलाई तालिम दिनेलगायतका व्यवस्था अन्तिम चरणमा पुगिसकेको छ । उनले सेन्टरको निर्देशक वैशाखको सुरुमै नियुक्ति गरिसकेको जानकारी पनि दिए ।
जग्गा विवाद र राजनीतिक समस्याका कारण सञ्चालनमा ढिलाइ भएको सेन्टर पछिल्लो समय कसको स्वामित्वमा रहने भन्ने विवादले सञ्चालनमा आउन सकेको थिएन । गत पुसदेखि नै सेन्टर सञ्चालनमा आउने भनिए पनि न्याम्सअन्तर्गत सञ्चालन गर्ने कि मन्त्रालयले सञ्चालन गर्ने भन्ने विवाद थियो । न्याम्सले पुसदेखि नै सेन्टर सञ्चालन गर्ने प्रक्रिया पूरा गरेको थियो । उसले पहिलो चरणमा १४ डाक्टर र १५ जना नर्सलाई तालिमका लागि भारत पठाउन भनेर मन्त्रालयमा गत कात्तिकमै नामावली पठाएको थियो ।
त्यस्तै ट्रमा सञ्चालनका लागि आवश्यक पाँच सय ९८ कर्मचारीमध्ये सुरुमा दुई सय ६० जना भर्ना गर्न आवश्यक तयारीसमेत गरे पनि मन्त्रालयले सेन्टरको स्वामित्व टुंगो नलागेको भन्दै २८ मंसिरमा पहिलोपटक र २० पुसमा दोस्रो पटक पत्र पठाएर कुनै नियुक्ति नगर्न निर्देशन दिएको थियो ।
गत वैशाखमा भारतीय विदेशमन्त्री एसएम कृष्णाको नेपाल भ्रमणका क्रममा दुवै देशका अधिकारी बसेर ट्रमा सेन्टर हस्तान्तरणको मिति तय गर्ने सहमति भएको थियो । तत्कालीन भारतीय प्रधानमन्त्री आइके गुजरालले १८ वर्षअघि शिलान्यास गरेको सेन्टर एक अर्ब २५ करोड रुपियाँमा निर्माण गरिएको हो ।

प्रतिक्रिया