श्रीलंकामा आर्थिक वृद्धि तीव्र


कोलम्बो, (श्रीलंका), २१  वैशाख । ३० वर्ष लामो गृहयुद्धबाट गुज्रेको श्रीलंका अहिले तीव्र आर्थिक विकासमा  बढेको छ । सन् ००९ मा जातीय राज्यका लागि युद्धरत लिबरेसन टाइगर्स अफ टमिल इलम (लिट्टे)का नेता प्रभाकरणको हत्यापछि तीव्र आर्थिक विकासमा अगाडि बढेको देखिन्छ । नेपालमा माओवादी जनयुुद्धको कारण आर्थिक वृद्धि हुन नसकेजस्तै श्रीलंकामा लिट्टेसँगको युद्धका कारण तहसनहस अवस्थामा रहेको श्रीलंकाले सन् ०१० मा आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्‍यो ।
सन् ०११ मा पनि आठ प्रतिशतकै हाराहारीमा आर्थिक वृद्धि गरेको श्रीलंकाले सन् ०१२ मा पनि सोही हाराहारीमा आर्थिक वृद्धि गर्ने एसियाली विकास बैंकले प्रक्षेपण गरेको छ जुन दक्षिण एसियाका लागि गरेको आर्थिक वृद्धिभन्दा माथि हो । एडिबीले दक्षिण एसियाली क्षेत्रले सन् ०१२ मा ७ दशमलव सात प्रतिशतले आर्थिक वृद्धि गर्ने प्रक्षेपण गरेको छ ।
श्रीलंकाले सन् ०१२ मा ४० करोड अमेरिकी डलर बराबरको प्रत्यक्ष वैदेशिक लगाानी पर्यटन क्षेत्रमा र एक अर्ब डलर बराबरको वैदेशिक लगानी पूर्वाधार निर्माण क्षेत्रमा भित्रिने अनुमान गरेको छ । शान्ति स्थापनासँगै श्रीलंकाको पर्यटन व्यवसायले समेत फड्को मारेको छ । सन् ०१० मा करिब साढे ५ लाख पर्यटकले श्रीलंका भ्रमण गरेकामा सन् ०११ मा यो संख्या आठ लाख नाघेको छ । सन् ०१२ को पहिलो तीन महिनामा श्रीलंका भ्रमण गर्ने पर्यटन साढे दुई लाख नाघिसकेको छ । पर्यटक आगमनमा वृद्धिसँगै कोलम्बोको समुद्री किनारामा सुविधासम्पन्न होटलरू खुल्ने होडबाजी चलेको छ । गर्ल फेस होटल, ताज होटल, हिल्टन होटललगायतका विश्वप्रसिद्ध होटल कोलम्बोमा अवस्थित छन् ।
प्रभाकरणको मृत्युपछि पुन:निर्माणमा फर्केको श्रीलंकाली सरकार तीव्र गतिमा पूर्वाधार निर्माणमा सामेल भएको श्रीलंकाली प्रेस उजुरी आयोगका उजुरी अधिकृत अमिन हुसेनले बताए । ‘हालै कोलम्बोबाट करिब एक सय किमिको दूरीमा रहेको गल्ले सहर पुग्न तीव्र गतिको फास्ट ट्रयाक सडक निर्माण गरिएको छ,’ उनले भने । एक सय किमि प्रतिघन्टा भन्दा बढीमा मात्र गाडी गुड्न पाइने उक्त सडक सन् ०११ को पहिलो महिनाबाट सञ्चालनमा आएको छ । राष्ट्रपति महिन्दा राजापाक्षेले उक्त सडकको उद्घाटन गरेका हुन् । निजी क्षेत्रको सहभागितामा निर्माण भएको उक्त सडक करिब ८० अर्ब श्रीलंकाली रुपियाँमा तयार पारिएको हो । ९७ किमी लामो सो सडक निर्माण गर्न करिब दुई वर्ष समय लागेको थियो । श्रीलंकाको दक्षिणी भेगको उक्त फास्ट ट्रयाक सडक श्रीलंकाकै पहिलो एक्सप्रेस सडक रहेको उनले बताए ।
यो सडक कोलम्बोको कोतावाबाट गल्ले सहरको पिन्नाडुवामा जोडिएको छ । तीव्र सहरीकरणसँगै भविष्यमा हुन सक्ने ट्राफिक जामलाई समेत ध्यानमा राखेर बनाइएको उनको ठम्याइ छ ।  निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) अवधारणामा चिनियाँ कम्पनीले सञ्चालन गरेको सो सडकमा गुड्ने गाडीले चार सयदेखि १५ सय रुपियाँसम्म शुल्क तिर्नुपर्छ । सो सडक ३० वर्षसम्मका लागि चिनियाँ कम्पनीले सञ्चालन गर्ने र पछि श्रीलंकाली सरकारलाई फिर्ता गर्ने सम्झौता गरिएको छ । अधिकारीका अनुसार उक्त सडकबाट दैनिक ६० लाख रुपियाँ संकलन हुने गरेको छ । सडकबीचका सहरमा जानका लागि आठवटा उपमार्गसमेत निर्माण गरिएका छन् । कोतावा, काहाथुडुवा, गालानिमागा, डोडाङगोडा, लेभान्डुवा, वेलिप्पना, कुरुन्डुगाहा, एथेक्mा, बडडेगामा र पिन्नाडुवामा उपमार्गहरू निर्माण गरी सो दु्रतमार्गबाट बाहिरिने बाटो बनाइएको छ । दु्रत सडकको निर्माणबाट श्रीलंकाली पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास श्रीलंकाली अधिकारीहरूको छ ।
उनले श्रीलंकाली जनताको प्रतिव्यक्ति आम्दानी चार हजार अमेरिकी डलर पुर्‍याइ छाड्ने प्रतिबद्धता राष्ट्रपति राजपाक्षेले गरेका छन् । तीव्र आर्थिक वृद्धिमा अगाडि बढेको श्रीलंकाले ‘ग्रीन इकोनोमी’को वकालत गर्दै आएको छ ।

प्रतिक्रिया