प्रदेश माग्दै जताततै बन्द

काठमाडौं, २१ वैशाख । जातीय पहिचानसहितका प्रदेशको माग राख्दै देशका विभिन्न भागमा भएका बन्दले जनजीवन प्रभावित भएको छ ।
शनिबारदेखि सुदूरपश्चिममा जारी अनिश्चितकालीन सुदूरपश्चिम बन्द छैटौँ दिनमा प्रवेश गरेको छ भने मिथिला राज्यको मागमा जारी आन्दोलनमा बम विस्फोट भएर चारको मृत्यु भएपछि मंगलबारबाट जनकपुरमा अनिश्चितकालीन बन्द गरिएको छ । यस्तै, बुधबारदेखि जातीय पहिचानसहितका प्रदेशका माग गर्दै पूर्वाञ्चल र थारू पहिचानको प्रदेश माग गर्दै चितवनदेखि कञ्चनपुरसम्म बन्द आह्वान भएपछि बन्दले सर्वसाधारणलाई चौतर्फी मारमा पारेको छ ।
अनिश्चित सुदूरपश्चिम बन्दको छैटौँ दिन पनि सुदूरपश्चिम बन्द रह्यो । निरन्तर बन्दपछि हवाई सेवा, शैक्षिक संस्था, सरकारी, गैरसरकारी कार्यालय, भन्सार नाका, उद्योग, कलकारखाना, यातायात, बजार ठप्प छन् । सुदूरपश्चिमबाट संविधानसभामा प्रतिनिधित्व गर्ने २२ सभासद्ले काठमाडौंमा भइरहेको अखण्ड सुदूरपश्चिम आन्दोलनको विरोधमा वक्तव्य जारी गरेपछि बुधबारको आन्दोलन थप आक्रामक भएको थियो । आन्दोलनकारीले २२ सभासद्को पुत्लासमेत दहन गरेका छन् ।
कैलाली, कञ्चनपुर, डोटी, अछाम, डोटीलगायत विभिन्न ठाउँमा उल्लेख्य रूपमा चर्को नाराबाजी तथा जुलुससहित उत्रिएका आन्दोलनकारीले सुदूरपश्चिमको भावनाविपरीत वक्तव्य निकाल्ने सभासद्प्रति आक्रोश पोखेका थिए । बन्दकर्ताले बिहानै र्‍याली निकालेर बजार परिक्रमापछि कोणसभा गरेका थिए । धनगढीको एलएनचोकमा भएको कोणसभामा उपभोक्ता मञ्चका हरि रेग्मीले अखण्ड आन्दोलन भूगोलको नभएर अधिकारको लडाइँ भएको बताए । उनले आन्दोलन आदिवासी जनजाति थारूलगायत पिछडिएका वर्गको अधिकार प्राप्तिका लागि भएकाले सहभागिता जनाउन सबैलाई आग्रह गरे ।
कैलालीको चौमालामा बन्दकर्ताले काठ तेस्र्याएर राजमार्ग अवरुद्ध पारेका छन् । अत्तरियामा प्रहरीले एक बन्दकर्तालाई कुटपिट गरेको विरोधमा मालखेती प्रहरी चौकी घेराउ भएको थियो । त्यस्तै, अछाममा पनि उद्योग वाणिज्य संघको पहलमा बुधबारबाट अनिश्चितकालीन बन्द गरिएको अध्यक्ष चन्द्र ढुंगानाले बताए ।
अखण्ड पक्षधर आन्दोलनकारीले मंगलबार राति बन्द अवज्ञा गरेको विरोधमा अत्तरियामा आठवटा गाडी तोडफोड गरेका छन् । धनगढी आएका ना३ख ५२९६, ना४ख ३४६०, ना२ख ४९०८, ना४ख ५२३३, ७१५, ना४ख ५४११, ना३ख ७७४३ नम्बरका बस र ट्रक तोडफोड गरेका हुन् ।
उता कञ्चनपुरको गुलरिया बजारमा महेन्द्रनगरबाट महँगो भाडा लिएर विवाहको ब्यानर टाँसेर यात्रु लिएर आएको बसलाई प्रदर्शनकारीले नियन्त्रणमा लिएर १५ हजार रुपियाँ जरिवाना तिराएका छन् ।
यता, अखण्ड सुदूरपश्चिमको माग गर्दै आइरहेको सुदूरपश्चिम जागरण मञ्चले महेन्द्रनगरमा बुधबार सद्भाव र्‍याली निकालेको छ । ‘अखण्ड सुदूरपश्चिम हाई–हाई, थारू–पहाडी भाइभाइ’ भन्ने नाराका साथ महेन्द्रनगरमा मञ्चले सद्भाव र्‍याली निकालेको हो । महेन्द्रनगरको मदनचोकबाट निस्केको सद्भाव र्‍यालीले महेन्द्रनगर बजार परिक्रमा गरेको थियो । त्यस्तै, अखण्ड थरुहट वा थारूवान राज्यको माग गर्दै आदिवासीले बन्दमाथि बन्द गरेका छन् । बुधबार एक दिनका लागि तराईका २२ जिल्ला बन्दको आह्वान गरिए पनि उनीहरूले शनिबारसम्म बन्दको घोषणा गरेका छन् ।
यस्तै, चारजनाका ज्यान जाने गरी सोमबार जनकपुरमा भएको बम विस्फोटको विरोधमा मिथिला राज्य संघर्ष समितिले मंगलबारदेखि आह्वान गरेको जनकपुरलगायत मिथिला क्षेत्र अनिश्चितकालीन बन्द बुधबार पनि जारी रह्यो । बम विस्फोटमा मृत्यु भएकालाई सहिद घोषणा, मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेको उपचार खर्च माग गर्दै गरिएको बन्दका कारण जनकपुरका बजार, पसल, कलकारखाना, शिक्षण संस्था, यातायात ठप्प भएका छन् ।
यस्तै, पहिचानको माग गर्दै जातीय संगठनले आह्वान गरेको पूर्वाञ्चल बन्दले पूर्वको जनजीवन पनि प्रभावित छ । पूर्वाञ्चलका यातायात, बजार बन्द छन् । विराटनगर, इटहरी, धरान, दमक, इनरुवा, बिर्तामोड बन्दबाट प्रभावित बनेका छन् । क्षत्री समाज, खसक्षत्री एकता समाज, ब्राम्हण समाज, दशनामी समाज, दलित समूहलगायत जातीय संगठनले संविधानमा पहिचानको माग गर्दै बन्द गरेका हुन् ।
यस्तै, थारू पहिचानसहितको प्रदेशको सुनिश्चितता माग गर्दै थारू संघर्ष समितिले चितवनदेखि कञ्चनपुरसम्मको भूभाग बन्द गरेको छ । अखण्ड सुदूरपश्चिम र पूरै थरुहट तराई एक प्रदेश बनाउने माग राखेर गरिएका सुदूरपश्चिम बन्दको विरोध र थरुहट तराईमा थारू पहिचानसहितको प्रदेश सुनिश्चित गर्न बन्द गरिएको समितिले जनाएको छ । त्यस्तै थारू गोलमेच सम्मेलनले जारी गरेको चितवन घोषणा–पत्रलाई कार्यान्वयन गर्न दबाबस्वरूप आन्दोलन सुरु गरिएको संघर्ष समितिले बताएको छ ।
थारू कल्याणकारिणी सभा, नेपाल लोकतान्त्रिक समाजवादी दल, थरुहट तराई पार्टी नेपाल, थारू राष्ट्रिय मुक्ति मोर्चा नेपाल, नेपाल लोकतान्त्रिक थारू संघ, पूर्वी थारूवान कोचिला राज्य संयुक्त संघर्ष समिति, थारू आदिवासी गैरसरकारी संस्था महासंघ, थारू महिला जागरण केन्द्र र थारू महिला समाजलगायत नौ संघसंगठनको थारू संघर्ष समितिले बन्द गरेको हो ।

प्रतिक्रिया