थरुहट प्रदेशको माग सहित तराई बन्द

दाङ, २० वैशाख । थारु पहिचान सहितका प्रदेशहरुको सुनिश्चित  माग गदै थारु संर्घष समितिले आज नवलपरासीदेखी कञ्चनपुरसम्मको भु–भाग बन्द आह्वान गरेको छ । बन्दका कारण यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।
अखण्ड सुदूरपश्चिम र पुरै थरुहट तराई एक प्रदेश बनाउने माग राखि गरिएको सुदुरपश्चिम बन्दको बिरोध र थरुहट तराईमा थारु पहिचान सहितको प्रदेशहरु सुनिश्चित गर्न बन्द गरिएको समितिले जनाएको छ ।
त्यस्तै थारु गोलमेच सम्मेलनले जारी गरेको चितवन घोषणा पत्रलाई कार्यान्वयन गर्न दबाव स्वरुप आन्दोलन शुरु गरिएको समितिले बताएको छ ।
नवलपरासीदेखि पश्चिम कञ्चनपुरसम्म थारुवान, थरुहट प्रदेश घोषणा, सिराहदेखि पूर्व झापासम्म पूर्वी थारुवान, थरुहट कोचिला स्वायत्त घोषणा, पर्सादेखि धनुषासम्म मध्य तराई सिम्रौनगढ स्वायत्त प्रदेश घोषणा र ऐतिहासिक जातीय पहिचान, आत्मनिर्णयको अधिकार, राजनीतिक अग्राधिकार, स्वायत्तता, भाषा र उत्पीडित क्षेत्रहरुको अधिकार सहित नयां संबिधान समयममा जारी गर्नुपर्ने मागपनि समितिको छ ।
थारु कल्याणकारिणी सभा, नेपाल लोकतान्त्रिक समाजवादी दल, थरुहट तराई पार्टी नेपाल, थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल, नेपाल लोकतान्त्रिक थारु संघ, पूर्वी थारुवान कोचिला राज्य संयुक्त संघर्ष समिति, थारु आदिवासी गैरसरकारी संस्था महासंघ, थारु महिला जागरण केन्द्र र थारु महिला समाज लगायत ९ वटा विभिन्न पार्टी, संघसंगठनद्धारा गठित थारु संघर्ष समितिले एक दिने आमहडतालको आह्वान गरेको जनाएका छन् ।

उता, पहिचानको माग गर्दै विभिन्न जातीय  संगठनहरुले आव्हान गरेको पूर्वाञ्चल वन्दले जनजीवन प्रभावित भएको छ ।

पूर्वाञ्चलमा सार्वजनिक सवारी साधन चलेका छैनन् । वजारपनि वन्द रहेका छन् । वन्दमा निजी सवारी साधनहरु भने संचालनमा रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पूर्वको मुख्य शहर विराटनगर, ईटहरी, धरान, दमक, ईनरुवा, विर्तामोड आदि स्थानमा वन्दको प्रभाव रहेको छ ।

क्षेत्री समाज , खसक्षेत्री एकता समाज, व्राम्हण समाज , दशनामी समाज, दलित समुह लगायतका जातीय संगठनले संविधानमा पहिचानको माग र जातीय राज्यको बिरोधमा वन्द आह्वान गरेका हुन् ।

प्रतिक्रिया