जिपिएस जोडिएका तीन गिद्ध हराए


काठमाडौं, १९ वैशाख । सरकारले एक वर्षअघि भू–उपग्रह प्रविधि ‘जोग्राफिकल पोजिसनिङ सिस्टम’ (जिपिएस) जोडेर छाडेका तीनवटा गिद्ध हराएका छन् । गिद्धका हरेक क्रियाकलाप र आनीबानी नियाल्न २०६७ फागुनमा रूपन्देही र कपिलवस्तुका ६ वटा डंगर गिद्धमा जिपिएस जोडेर छाडिएको थियो ।
६ मध्ये तीनवटा गिद्ध सम्पर्कबाहिर रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । ‘तीनवटा गिद्धको अत्तोपत्तो छैन, अहिलेसम्म सिस्टमले कहीँकतैको सिग्नल देखाएको छैन,’ विभागका पर्यावरणविद् डा. महेश्वर ढकालले सौर्यसँग भने, ‘यसको मतलब तीनवटै गिद्ध हराएका हुन सक्छन् ।’ गिद्ध सामान्यत: एक सय किलोमिटरसम्म उडेर जाने भएकाले लामो समय भएपछि धेरै टाढा पुगेर जिपिएस र विभागको सम्पर्क नभएको हुन सक्ने उनले बताए ।
उनका अनुसार बाँकी तीन गिद्धमध्ये पनि एउटा जिपिएस खसेकाले सम्पर्कमा छैन । बाँकी दुईको मात्रै निगरानी भइरहेको छ । सम्पर्कमा रहेका दुई गिद्ध नेपाल र आसपासका देशमा आउजाउ गरिरहेकाले फरक–फरक ठाउँको सिग्नल आइरहेको विभागले जनाएको छ ।
२० वर्षअघिसम्म नेपालमा मात्रै पाँच लाखको हाराहारीमा रहेका गिद्ध मरेर लोपोन्मुख भएपछि उनीहरूलाई निगरानीमा राख्न नेपाल पंक्षी संरक्षण संघ (बिसिएन) र ‘रोयल सोसाइटी फर द प्रोटेक्सन अफ बड्र्स’को सहयोगमा सरकारले गिद्धको ढाडमा जिपिएस जोडेको थियो । गिद्ध मासिनुको कारण मानिएको ‘डाइक्लोफेनेक’ औषधि प्रयोग गर्न नेपालमा प्रतिबन्ध लगाइएपछि पनि गिद्ध मर्ने क्रम नरोकिएकाले निगरानी राख्न थालिएको विभागले जनाएको छ । जसबाट विभागले गिद्ध मासिनुका अन्य कारण पत्ता लाग्न सक्ने विश्वास लिएको थियो ।
‘नेपालमा डाइक्लोफेनेक प्रतिबन्धित भए पनि गिद्ध मर्न नरोकिनुमा नेपालका गिद्ध सीमापार पुगेर डाइक्लोफेनेक खाने गरेको वा अन्य थप कारण हुन सक्छ,’ पर्यावरणविद् डा. ढकालले भने, ‘मुख्यत: गिद्ध कति टाढासम्म पुग्छ, के खान्छ, कति क्षेत्र गिद्धका लागि सुरक्षित हुन सक्छ भन्नेलगायत गिद्धको विस्तृत अध्ययनका लागि गिद्धमा निगरानी राखिएको हो ।’
उनले भू–उपग्रहमार्फत गरिरहेको विस्तृत अध्ययनले गिद्ध मासिनुको मुख्य कारण पत्ता लगाई संरक्षणमा प्रभावकारी कार्यक्रम ल्याउन सहयोग गर्ने बताए । जिपिएसले विभाग र संघमा गिद्धको लोकेसन, आहारा, उडानलगायत विवरण पठाउने गर्छ ।
डंगर गिद्ध अति संकटापन्न वर्गमा पर्छ । सरकारले जिपिएस जडान गरेर कुनै पनि पक्षी निगरानीमा राखेको यो नै पहिलोपटक हो । नेपालमा डंगर, सानो खैरो, सेतो, सुन, हिमाली, राज, खैरो र हाडफोर गरी आठ प्रजातिका गिद्ध पाइन्छन् । यीमध्ये डंगर, सानो खैरो र सुन गिद्ध अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संगठन (आइयुसिएन)को अति संकटापन्न र सेतो गिद्ध संकटापन्न समूहमा राखिएका प्रजाति हुन् ।
तीन वर्षअघि गरिएको अध्ययनले १८ वर्षमा नेपालमा चार लाख ९५ हजारभन्दा बढी गिद्ध घटेको देखाएको छ । जसमा सन् १९९२ देखि २००९ सम्मको राजमार्ग ट्रान्सेक्ट सर्भेबाट डंगर र सानो खैरो प्रजातिका गिद्ध ९५ प्रतिशतले घटेको पाइएको थियो ।
दुई दशकभन्दा कम अवधिमा गिद्ध लोप हुने अवस्थामा पुग्नुमा जनावर बिरामी हुँदा दुखाइ कम गर्न प्रयोग गर्ने ‘डाइक्लोफेनेक’को व्यापक प्रयोग र वासस्थान अभाव प्रमुख कारण रहेको जानकारको भनाइ छ । डाइक्लोफेनेक खुवाइएको पशुपन्छी सन्चो नभई मरे त्यसको सिनो खाने गिद्ध सबै मर्छन् । नेपालमा सन् २००६ देखि डाइक्लोफेनेक प्रयोगमा प्रतिबन्ध लगाइएको छ । यद्यपि, गिद्ध नेपालबाहिर सहजै पुग्ने हुँदा गिद्ध मासिनुमा त्यहाँको आहाराको समेत भूमिका हुन सक्ने बताइन्छ ।
कपिलवस्तु, रूपन्देही, दाङ र नवलपरासी चार जिल्ला गिद्धका प्रमुख वासस्थान हुन् । यसका साथै विभिन्न १३ जिल्लामा समेत गिद्धको वासस्थान छ । सिनो खाने हुँदा गिद्धले दुर्गन्ध फैलिन दिँदैन, जसबाट हैजा, रेबिज, प्लेगजस्ता रोग फैलनबाट रोकिन्छ । चरासम्बन्धी विशेषज्ञ डा. हेमसागर बरालका अनुसार गिद्ध मासिँदा मरेको पशुको दुर्गन्धबाट वातावरण दुर्गन्धित हुन्छ र हैजा, रेबिज, प्लेगजस्ता रोगको महामारी फैलिन्छ । छाडा कुकुर बढ्छन् र सिनोकै कारण स्यालको संख्यामा वृद्धि हुन्छ । यसको सबैभन्दा राम्रो उदाहरण भारत हो । जहाँ गिद्ध मासिँदै जान थालेपछि भुस्याहा कुकुर बढ्दै गएका छन् । भारतमा सन् १९९२ देखि २००७ सम्मको राजमार्ग ट्रान्सेक्ट सर्भेले गिद्ध ९९ प्रतिशतभन्दा बढी घटेको देखाएको छ ।

प्रतिक्रिया