भरत अनुपस्थित, जुमानु अनिश्चितमा

काठमाडौ, २० वैशाख । पूर्वउपविजेता नेपाल पुलिस क्लब एएफसी प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको सातां संस्करणको छनोट खेलमा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गर्दै छ । पुलिस क्लबलाई राष्ट्रिय लिग च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका भरत खवास असईको लिखित परीक्षामा असफल भएपछि टोलीसँग विद्रोह गरेका कारण प्रेसिडेन्ट कपमा सहभागी हुनेछैनन् । यसैगरी, फिट नरहेका जुमानु राई टोलीको साथमा रहे पनि उनी खेल्ने या नखेल्ने निश्चित छैन ।
भरत र जुमानु दुवै नभएको अवस्थामा भोला सिलवाल र योगेश श्रेष्ठले पुलिसको आक्रमणको वागडोर सम्हाल्नेछन् । रक्षक दीपेन्द्र पौडेलको नेतृत्वमा रहने पुलिस टिममा रितेश थापा, विशाल श्रेष्ठ, सुमन सुवेदी, सुज विक, योगेश श्रेष्ठ, भोला सिलवाल, पर्वत पाण्डे, दिलिप राई, रमेश कटुवाल, भरत शाह, राकेश श्रेष्ठ, रूपेश चौधरी, पंकज साही, रमेशकुमार राई र रोशन कार्की छन् ।
यसपटक पुलिस क्लबले दुईपटकको विजेता किर्गिजिस्तानको डोरडोई डाइनामोको साथमा भुटानको च्याम्पियन र नोम्पेन्ह एफसीको सामना गर्नेछ । नेपालले सामना गर्ने टोलीमा भुटानको च्याम्पियन र नोम्पेन्ह एफसी पुलिस क्लबका लागि सहज प्रतिद्वन्द्वी मानिएका छन् भने डोरडोई नै सबैभन्दा कठिन प्रतिद्वन्दीको रुपमा हेरिएका छन् । पुलिस क्लबका साहयक प्रशिक्षक हरि खड्काले छनोट हुने लक्ष्यका लागि डोरडोईसँगको खेल नै सबैभन्दा महत्त्वपूर्ण हुने बताए । भरतको अनुपस्थितिबारे उनले भने, ‘राष्ट्रिय खेलाडीले नै टोली छाड्दा हामीलाई अप्ठयारो हुन्छ तापनि ब्रिटिस गोर्खाकपमा नेपालका राम्रै टोलीलाई हराएपछि हामी उत्साहित भएका छौं ।’
समूहमा शीर्षस्थान पाउने टोलीका साथै उत्कृष्ट उपविजेताले पनि सेप्टेम्बर महिनामा हुने प्रेसिडेन्ट कप प्रतियोगिताको अन्तिम चरणमा सहभागिता जनाउनेछन् । सन् २००५ मा काठमाडांैमा भएको पहिलो संस्करणमा थ्रीस्टार क्लबले सेमिफाइनल यात्रा तय गरेपछि सुरु भएको प्रतियोगिताको तेस्रो संस्करणमा पुलिस क्लब फाइनल प्रवेश गरेको थियो ।
केही महिनाअघि मात्र एएएफसी बी लाइसेन्स प्रशिक्षण कोर्ष पूरा गरेका खड्काले यस प्रतियोगितामा पनि विराटकृष्णको निगरानीमा रहेर काम गर्नेछन् । प्रशिक्षक विराटकृष्ण श्रेष्ठ र हरिको समन्वयमा लगातार चारपटक घरेलु लिग जितेको पुलिस क्लब केही दिनअघि सकिएको ब्रिटिस गोर्खाकपको उपाधिपछि झनै उत्साहित रहेको छ । जुमानुको अनुपस्थितिमा अग्रपंक्तिमा खेल्ने योगेशले ब्रिटिस गोर्खाकपमा नियमित फरवार्डले झंै प्रदर्शन गरिसकेका छन् भने भोलाको तेज गति पुलिस क्लबका लागि उपलब्धिमूलक हुन सक्नेछ तथापि केही कम अनुभवी खेलाडीका कारण पुलिस क्लबलाई समस्या पर्न सक्नेछ ।
मध्यपंक्तिमा खेल्ने पर्वत र रक्षक दीपेन्द्र दुवै क्षमतावान भए पनि बढ्दो उमेर नै उनीहरूको समस्या हुन सक्नेछ । साथमा केही महिनाअघि मात्र राष्ट्रियस्तरमा परिचित भएका दिलिप र भरत शाहका लागि कठिनाइ र आफूलाई उत्कृष्ट प्रमाणित गर्ने दुवै अवसर पनि हुन सक्नेछ ।

प्रतिक्रिया