‘सामथ्र्यले धान्न सक्ने मात्र प्रदेश बनाऊ’

काठमाडौं, २० वैशाख । आठ राजनीतिक दलका युवा संगठनले सामथ्र्य र पहिचानलाई आधार बनाएर सामथ्र्यले धान्न सक्ने गरी मात्र प्रदेश बनाउन माग गरेका छन् । एमालेनिकट युवा संघ नेपालको कार्यालयमा मंगलबार बसेको युवा संगठनहरुको बैठकले राष्ट्रिय एकता र सामाजिक सद्भाव नखल्बलिने गरी प्रदेश बनाउन दलहरुसमक्ष माग गरेको हो ।
बैठकले नागरिकतासम्बन्धी कडा व्यवस्था गर्न, अंगीकृत नागरिकलाई नीतिनिर्माणमा सहभागी नगराउन तथा गैरकानुनी रुपमा नागरिकता लिने–दिनेलाई कडा कारबाही गर्न पनि माग गरेको छ । १४ जेठभित्रै लोकतान्त्रिक र अग्रगामी संविधान निर्माणका लागि पनि शीर्ष नेताहरुको ध्यानाकर्षण गराउने निर्णय भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । ‘राज्य पुन:संरचना गर्दा सामथ्र्य र पहिचानलाई आधार बनाउन, राष्ट्रिय एकता र सामाजिक सद्भाव खलबल हुन नदिन र देशको सामथ्र्यले धान्न सक्ने गरी संघ बनाउन राजनीतिक दलहरुसमक्ष माग गर्ने निर्णय गरिएको छ,’ युवा संघ नेपालका महासचिव निरज आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बैठकले सोमबार जनकपुरमा शान्तिपूर्ण धर्नामा भएको बम विस्फोटको निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । घटनामा मृत्यु भएकाका परिवारलाई राहत र घाइतेको सम्पूर्ण उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको विज्ञप्तिमा उल्लेख छ । बैठकमा योङ कम्युनिस्ट लिग (वाइसिएल), नेपाल तरुण दल, युवा संघ नेपाल, मधेसी युवा फोरम नेपाल, नेपाल राष्ट्रिय युवा फेडरेसन, प्रगतिशील युवा संघलगायत संगठनका प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया