लोडसेडिङ कम गर्न सक्छ फोहोरले

काठमाडौं, १ वैशाख । काठमाडौं उपत्यकालगायत अधिकांश सहरका लागि फोहोर व्यवस्थापन सबैभन्दा टाउको दुखाइको विषय बनेको छ । जथाभावी फालिने फोहोरले त सहरहरूलाई दुर्गन्धित मात्र बनाएको छैन, फोहोरकै कारण धेरैले रोगको सिकार हुनुपरेको छ । अझ फोहोर व्यवस्थापनका लागि बर्सेनि ६० करोड रुपियाँभन्दा बढी खर्च हुने गर्छ तर त्यही फोहोरबाट बिजुली निकालेर करोडाँै आम्दानी गर्न सकिने देखिएको छ ।
स्थानीय विकास मन्त्रालय फोहोर मैला व्यवस्थापन तथा प्राविधिक सहयोग केन्द्रका अनुसार, काठमाडौंलगायत मुख्य सहरबाट दैनिक करिब दुई हजार टन फोहोर उत्पादन हुने गरेको छ । ‘आधिकारिक रूपमा अध्ययन त भएको छैन तैपनि फोहोर उत्पादनका आधारमा देशभरको फोहोरबाट ३५ मेगावाट बिजुली उत्पादन हुने देखिएको छ,’ केन्द्रका अधिकृत दीपेन्द्र ओलीले भने, ‘फोहोरबाट बिजुली निस्कन्छ भन्ने प्रमाणित भइसकेको छ तर फोहोरबाट बिजुली निकाल्नका लागि प्रक्रिया मात्र सुरु गरिएकाले त्यसको लागत र आयोजनाको दिगोपनबारे भने अझै अध्ययन गर्न बाँकी नै छ ।’
वीर अस्पताल, त्रिवि कीर्तिपुर, अस्कल क्याम्पसलगायतमा फोहोरबाट बायोग्यास निकालिएकाले बिजुली पनि निकाल्न सकिने प्रमाणित भइसकेको केन्द्रले जनाएको छ । फोहोरबाट बिजुली निकाल्न सकिए फोहोर व्यवस्थापनका लागि करोडाँै खर्च गर्नुपर्ने अवस्थामा रहेका नगरपालिकाले उल्टो करोडाँै आम्दानी गर्न सक्छन् ।
केन्द्रका अनुसार, काठमाडौंमा मात्र सरकारी र निजी क्षेत्रका तर्फबाट फोहोर व्यवस्थापनका लागि बर्सेनि करिब ४० करोड रुपियाँ खर्च हुन्छ भने विराटनगर, पोखरा, चितवन, बनेपा, नेपालगन्ज, जनकपुरलगायत देशका मुख्य सहरका लागि झन्डै २० करोड रुपियाँ फोहोर व्यवस्थापनका लागि मात्र खर्च हुने गरेको छ । ‘काठमाडौं उपत्यकाको फोहोरबाट मात्र १० मेगावाट विद्युत् उत्पादन हुने देखिएको छ,’ केन्द्रका कार्यकारी निर्देशक डा. सुमित्रा अमात्यले भनिन् । उनका अनुसार, यहाँको फोहोरबाट बिजुली निकाल्न फिनल्यान्डको एउटा कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षरसमेत भइसकेको छ । अन्य सहरमा फोहोर उत्पादनको मात्रा कम भएकालेे ती सहरमा स-साना आयोजना सञ्चालन गरेर विद्युत् निकाल्नुपर्ने भएकाले लागत बढी हुन सक्छ तर काठमाडौं उपत्यकाको फोहोरको परिमाण भने बिजुली उत्पादनका लागि उपयुक्त देखिएको छ ।
सबै फोहोर बिजुली उत्पादनका लागि योग्य हुँदैन । कुहिने फोहोरबाट बिजुली निकाल्न सकिन्छ । एक तथ्यांकका अनुसार काठमाडौंको फोहोरबाट १० मेगावाट बिजुली निकाल्न सके बिजुलीबाट दैनिक ५० लाख रुपियाँभन्दा बढी आम्दानी हुन्छ भने फोहोरबाट बन्ने मलबाट चार लाख रुपियाँभन्दा बढी आम्दानी हुन सक्छ ।
केन्द्रको तथ्यांकअनुसार, काठमाडौं उपत्यकाबाट दैनिक एक हजार टन फोहोर निस्कन्छ । काठमाडौंको फोहोरमध्ये दुई सय टन सार्वजनिक ठाउँमा फालिने गरिन्छ, जसकारण बाग्मती नदीका साथै काठमाडौंका सार्वजनिक ठाउँ दुर्गन्धित छन् । ‘फोहोरबाट बिजुली निकाल्न सके त सुनमा सुगन्ध हुन्छ, फोहोर व्यवस्थापन पनि हुने र फोहोरबाट आम्दानी पनि गर्न सकिन्छ,’ ओलीले भने । फोहोरबाट बिजुली निकाल्नु सजिलो काम होइन । एकजना बायोग्यास इन्जिनियरका अनुसार फोहोरबाट बिजुली निकाल्नका लागि बायोग्यास रिफाइनरी पाइप लाइन ल्याउन नेपालका सबै राजमार्ग साँघुरा हुन्छन् । काठमाडौंको फोहोर व्यवस्थापनमार्फत बिजुली निकाल्नका लागि फिनिक्स कम्पनीले समझदारी गरिसकेकाले फोहोरबाट बिजुली उत्पादन हुने आशा केन्द्रको छ ।
राष्ट्रिय वातावरण प्रदूषण नियन्त्रण -नेप्को नेपालले ललितपुर उपमहानगरपालिका १४ र १५ वडा तथा हरिसिद्धि, गोदावरी र टीकाथली गाविसको फोहोर संकलन गरेर बिजुली निकाल्ने योजना बनाएको छ । यी क्षेत्रबाट दैनिक २५० केजी फोहोर संकलन हुनेमा कुहिने फोहोरबाट चार किलोवाट विद्युत् उत्पादन गर्न सकिने नेप्कोका अध्यक्ष सुरेन्द्र आचार्यले बताए । ‘हामीले संकलन गरेको फोहोरबाट चार किलोवाट विद्युत् निकाल्न सक्छौँ, विभिन्न आइएनजिओलाई फोहोरबाट बिजुली निकाल्न प्रस्ताव पठाएका छौँ,’ उनले भने, ‘सहयोग आए फोहोरबाट बिजुली निकाल्न सकिन्छ भनेर देखाइदिन्छाँै ।’
भारतले राजधानी नयाँदिल्लीको फोहोरबाट दैनिक १२ मेगावाट बिजुली उत्पादन गरिरहेको छ । फोहोरबाट बिजुली उत्पादन गर्न भारत सफल भएपछि नेपालमा पनि फोहोरबाट बिजुली निकाल्न पहल सुरु गरिएको हो । ‘केही निजी संस्था पनि फोहोरबाट बिजुली निकाल्छाँै भनेर आइरहेका छन्,’ ऊर्जा राज्यमन्त्री सूर्यमान दोङ भन्छन्, ‘फोहोरबाट बिजुली निकाल्न आएका संस्थाबारे ऊर्जा मन्त्रालयले अध्ययन गरिरहेको छ ।’

प्रतिक्रिया