आशाको त्यान्द्रोमा

उद्धव सिलवाल

काठमाडौं, ३० चैत । ०६८ साल सेयरबजार लगानीकर्ताका आँखामा सुखद रहेन । सेयर लगानीकर्ताले अर्बाैं रुपियाँ गुमाएका छन् । ०६८ वैशाखमा तीन सय ६६ अंक रहेको नेप्से वर्षको अन्त्यमा आएर तीन सयमा सीमित हुन पुगेको छ ।
यो समयमा लगानीकर्ता सेयर बजारतर्फ  आकषिर्त हुन सकेनन् । अबको दिनमा पनि लगानीकर्ता बजारप्रति विश्वस्त हुने अवस्था छैन । वर्षको अन्त्यमा आएर सरकारले जनसेना, क्यान्टोनमेन्ट र हतियार सुरक्षाको जिम्मा नेपाली सेनालाई लगाएको छ । यो सकारात्मक पक्ष हो । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष अञ्जनराज पौडेल ०६८ लाई निराशाजनक वर्षको संज्ञा दिन्छन् । तैपनि उनी सेयर बजारतर्फ भने आशावादी नै छन् ।
उनका अनुसार देश नै असफल भयो भने मात्रै सेयर बजारको भविष्य नहुने हो । नत्र त यसको भविष्य उज्ज्वल नै रहने छ । सरकारले केन्द्रीय निक्षेप प्रणाली -सिडएस), क्रेडिट रेटिङ तथा बजार निर्माता र म्युचिअल फन्डको अवधारणा ल्याइसकेको छ । त्यस अर्थले पनि सेयर बजारमा धेरै निराशाजनक हुने अवस्था देखिंदैन । तर यसलाई मात्रै आधार मानिहाल्ने अवस्था भने छैन । एनडिइपी बंकका सञ्चालक यमकुमार श्रेष्ठ भने इन्टरनेट बेसको सिडिएस आउनमा ढिलाइ हुनु, नियामक निकायले बजारअनुसार नीतिनियम परिमार्जन गर्न नसक्नु तथा बजार निर्माताबारे ठोस पहल हुन नसकेका कारण ०६८ मा सेयर बजारमा सुधार आउन नसकेको बताउँछन् । उनी यो समयको सेयर बजारलाई त्रासदीपूर्ण रातको संज्ञा दिन्छन् । श्रेष्ठ पनि पौडेलजस्तै सेयर बजारतर्फ आशावादी छन् । नयाँ वर्ष सेयरबजारका लागि सुखदायी रहने उनको तर्क छ ।
समग्रमा भन्नुपर्दा सेयरबजारमा आशाभन्दा निराशा बढी रह्यो यो वर्ष । सेयरको इतिहासमा हेेर्ने हो भने पनि ०५२/५३, ०५७/५८ तथा ०६४/६५ देखि हालसमको अवधि सबैभन्दा निकम्मा अवस्थामा पुग्यो । यो अवधिमा नेप्से तीन सयभन्दा तल झर्‍यो । यो नै सेयरबजारका आँखामा ‘कालो रात’ रहेको तर्क स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नन्दकिशोर मुन्दडाको छ । उनले बजारमा सुधार ल्याउन नियामक निकायले खासै काम गर्न नसकेको टिप्पणी गरे । तैपनि सेयर बजारमा रहेका १५ लाख लगानीकर्तालाई ध्यानमा राख्दै सरकारले स्टक ब्रोकरको संख्या बढाउनु सकारात्मक पक्ष हो ।
०६५ साउनको अन्त्यतिर माओवादी नेतृत्वले सरकार गठन गर्दा नेप्से एक हजार एक सयको हाराहारीमा थियो । त्यसको केही दिनपछि १५ भदौमा  परिसूचक एक हजार एक सय ७५ दशमलव ३८ अंकमा पुग्यो । त्यही दिन बजार पुँजीकरण ६ खर्ब १२ अर्ब ५४ करोड रुपियाँ रहेको थियो । तर, विडम्बना इतिहासमा ठुल्ठूला घटना भए । सेयरबजारमा त्यसको प्रभाव खासै परेन । तर, माओवादी नेतृत्वमा सरकार बनेपछि भने सेयरबजारमा एक किसिमको ‘स्लो पोइजन’ देखा पर्‍यो । माओवादी व्यवहारले उद्योगपति त्रसित भए । उनीहरूले सेयर बजारको रकम निकाल्न थाले । सोही कारण ठूलो रकम पलायन भयो र हुने क्रम अझै जारी छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनका अर्थमन्त्री वर्षमान पुनले आफूलाई निजीक्षेत्र र लगानीमैत्रीका रूपमा जतिसुकै प्रस्तुत गरे पनि अर्थतन्त्रमा त्यसको सकारात्मक प्रभाव पर्न सकेको छैन भन्ने कुराको प्रमाण नेप्से परिसूचक हो । भट्टराई प्रधानमन्त्री भएको दिन ११ भदौमा १० अंकले घटेको नेप्से परिसूचकको उल्टो गति कायमै छ । यसले नेप्से घट्नुको मुख्य कारण भनेको माओवादी नेतृत्वको सरकार नै हो भन्ने देखाउँछ । यो क्रम तबसम्म जारी रहन्छ, जबसम्म सेयरबजार र लगानीकर्ताले माओवादी नेतृत्वको सरकारलाई विश्वास गर्दैनन् ।

प्रतिक्रिया