कतै आक्रोश, कतै उत्साह

काठमाडौं, २९ चैत । लडाकु, शिविर र हतियार नेपाली सेनाको जिम्मा लगाइएपछि शिविरमा रहेका लडाकुले मिश्रति प्रतिक्रिया दिएका छन् । नेपाली सेनालाई जिम्मा लगाएकोमा केही लडाकुले अपमान भएको र केहीले सेनामा जाने रहर पूरा भएको बताएका छन् ।
कैलालीस्थित सातौं डिभिजनका अधिकांश लडाकुले अवकाश रोज्ने बताएका छन् । उनीहरुले समायोजनको खाका स्पष्ट नभएको भन्दै अवकाश रोज्ने बताएका हुन् । सातौं डिभिजनको मुख्य शिविर तालबन्द र सहायक शिविर लिस्नेगाम स्मृति बि्रगेड बडैपुरका लडाकुमध्ये ८० प्रतिशत अवकाश रोज्ने पक्षमा भेटिए । मुख्य शिविर तालबन्दका कम्पनी कमान्डर लोकेन्द्र बोगटीले धेरैजसो लडाकुले स्वैच्छिक अवकाश रोज्ने बताए ।
उनीहरूले सातबुँदे सहमतिअनुसार  समायोजनको स्पष्ट खाका नल्याइएको भन्दै असन्तुष्टि जनाएका छन् । ‘अहिले कमान्डर रहेका जनमुक्ति सेनाले नेपाली सेनामा समायोजन हुँदा कुन दर्जामा जाने भन्ने निश्चित छैन । सेनामा भर्ती हुँदाको मापदण्ड पनि स्पष्ट छैन,’ समायोजन रोजेका बडैपुर शिविरका प्लाटुन सहकमान्डर नहकुल सञ्ज्यालले भने ।
विशेष समितिअन्तर्गतको सचिवालयको टोलीले सामायोजनको अन्तिम प्रक्रियाका रुपमा रहेको स्वैच्छिक अवकाशमा जाने लडाकु र समायोजनमा जानेलाई पुनःवर्गीकरण बिहीबार गर्दै छ । बुधबार सेनालाई हतियार बुझाउने र लडाकुको विवरण दिने काम भएकाले बिहीबारमात्रै पुनःवर्गीकरण हुने टोली संयोजक गोपालसिंह बोहराले बताए ।
यस्तै, सुर्खेतको दशरथपुरस्थित छैँटांै डिभिजनका कमान्डर महेन्द्र शाहीले पार्टी र सरकारले गर्ने निर्णय आफूहरुलाई स्वीकार्य हुने बताए । उनले शान्ति प्रक्रिया टुंग्याएर संविधान निर्माणका लागि आफूहरु जस्तोसुकै त्याग गर्न तयार रहेको धारणा  व्यक्त गरेे । उनले समायोजनबारे सहमति भइसके पनि तह निर्धारणमा असहमति रहेको बताए । ‘मेजरमा हामी सहमत हुन सक्छौँ तर महानिर्देशनालयको नेतृत्व हामीले नै पाउनुपर्छ भन्ने हो,’ उनले भने । महानिर्देशनालयमा ‘जनमुक्ति सेना’लाई कुन दर्जा दिने भन्नेबारे अझै नखुलाइएको भन्दै उनले असन्तुष्टि जनाए ।
कमान्डरले निर्णयको स्वागत गरे पनि अन्य लडाकुले भने मिश्रति प्रतिक्रिया दिएका छन् । डिभिजनका कम्पनी सहकमान्डर असिम क्षेत्रीले हतारमा ‘जनमुक्ति’ सेना विघटन गरेर पार्टीले लडाकाको भावनामा चोट पुर्‍याएको बताए । प्लाटुन सहायक कमान्डर दिलमाया रावतले पार्टीले गरेको निर्णय आफूहरुले पालना गर्नुपर्ने बताइन् ।
छैटाँै डिभिजनमा पनि मंगलबारदेखि रोकिएको पुनःवर्गीकरणको काम बिहीबार सुरु हुने भएको छ । बुधबारसम्म डिभिजन र सहायक शिविरका सम्पूर्ण हतियार, भौतिक पूर्वाधारको लगत संकलन गरी सेनालाई बुझाउने र बिहीबारदेखि वर्गीकरणको काम हुने विशेष समिति सचिवालय सदस्य डा. दीपकप्रकाश भट्टले जानकारी दिए ।
नवलपरासीस्थित चौथो डिभिजनको हतियार नेपाली सेनाले जिम्मा लिएको छ । मङ्गलबार राति चौथो डिभिजन मुख्यालय झ्यालटुङडाँडामा रहेको २७ थान र सहायक शिविर हात्तीखोरको १६ थान हतियार सेनालाई बुझाइएको नवलपरासीका एसपी ज्ञानविक्रम शाहले जानकारी दिए । सहायक शिविर हात्तीखोरमा मंगलबार राति तनाब भए पनि राति अबेर नै सहमति भएको थियो । लडाकु पुनःवर्गीकरण भने बुधबार पनि सुचारु हुन सकेन ।
हात्तीखोरस्थित परिवर्तन स्मृति बि्रगेडमा असन्तुष्ट लडाकुले मंगलबार राति आगजनी तथा तोडफोड गरेका थिए ।  शिविरमा नाराजुलुससहित आगजनी भएपछि डिएसपी मुकुन्द मरासिनीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएका थिए । प्रहरीले चितवनबाट दमकल लगेर आगो नियन्त्रणमा लिएको थियो । कमान्डर तेजबहादुर ओली र सहायक कमान्डर नरेन्द्र पाण्डेले आर्थिक अनियमितता गरेको भन्दै असन्तुष्ट लडाकुले तोडफोड तथा आगजनी गरेको सहायक कमान्डर डम्मरबहादुर ठकुरीले जानकारी दिए ।
यस्तै, इलामको चुलाचुलीस्थित प्रथम डिभिजनका कमान्डरले लडाकु अझ व्यावसायिक हुने विश्वास व्यक्त गरेका छन् । सेनाले शिविर र हतियारको जिम्मा लिएपछि लडाकु अझ बढी व्यावसायिक हुने बि्रगेड कमान्डर नारायण सुवेदीले बताए । उनले भने, ‘शान्ति प्रक्रियाका लागि यो कठोर निर्णय हो ।’ समायोजन रोजेका लडाकु सेक्सन कमान्डर भोला महतोले १० वर्षदेखिको अभिलाषा पूरा भएको सुनाए ।
शिविर पुगेको विशेष समितिअन्तर्गतको सचिवालयका सदस्य शम्भुराम सिंखडाले समायोजन निर्धारित मितिमा सक्न शिविरको सुरक्षामा सेना आएको बताए ।
चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजनका लडाकुले पनि मिश्रति प्रतिक्रिया दिएका छन् । बटालियन सहायक कमान्डर कोमाखले ‘सम्मान’ नदिई हतियार बुझाउनुपरेको बताए । उनले भने, ‘हाम्रो दुःखको मूल्याङ्कन गरिएन ।’ शक्तिखोर शिविरका कम्पनी सहकमान्डर अर्जुन लामाले भने, ‘सबै कुरा समयले फरक पार्दोरहेछ ।’
भरतपुर ब्यारेकबाट गएको सेनाले पनि शिविरलाई ब्यारेकमा परिवर्तन गर्न अप्ठ्यारो नपरेको प्रतिक्रिया दिएको छ । निर्देशन पाएको आधा घन्टामै शिविर छिरेका नेपाली सेनाका उपसेनानी रोशन बरालले भने, ‘यो पनि ब्यारेकजस्तै लाग्यो ।’ उनले भने, ‘फरक यति हो, हामी सलाम भन्छौँ र उनीहरु लालसलाम ।’
यसैबीच, तेस्रो डिभिजन शक्तिखोरमा हतियार बुझबुझारथको काम सकिए पनि बुधबार पनि चेक वितरण हुन सकेन । विशेष समितिअन्तर्गतको सचिवालय संयोजक बालानन्द शर्माले सचिवालयका कर्मचारी चेक हस्तान्तरण गर्न तयार भए पनि लडाकु नआएकाले हस्तान्तरण प्रक्रिया रोकिएको बताए ।
उचित व्यवस्थापनको माग राख्दै आन्दोलित घाइते लडाकुले पनि चेक हस्तान्तरण अवरोध नगर्ने बताएका छन् । आन्दोलन गरिरहेका बिग्रेड सहकमान्डर ईश्वर सापकोटाले सरकारले सम्बोधन गर्ने सुनिश्चित गरेकाले आफूहरुले चेक हस्तान्तरण नरोक्ने बताए ।
-युवराज विवश/झापा, प्रतिमा सिलवाल/चितवन, केबी राना/नवलपरासी, लक्ष्मण भण्डारी/सुर्खेत र दीपक ओली/कैलालीको सहयोगमा

वैद्यपक्षीय नेता केसीद्वारा राजीनामा

सौर्य समाचार

दाङ, २९ चैत । माओवादी लडाकुहरूको रेखदेख, समायोजन तथा पुनःस्थापनासम्बन्धी विशेष समितिमातहतको सचिवालयका सदस्य कुलप्रसाद केसीले पदबाट राजीनामा दिएका छन् ।
सचिवालय सदस्य केसीले बुधबार घोराहीमा पत्रकार सम्मेलन गरी मंगलबार राति भएको समायोजन प्रक्रिया कब्जा शैलीमा भएको भन्दै पदबाट राजीनामा दिइएको घोषणा गरेका हुन् । ‘जनमुक्ति सेनाका लागि मंगलबार रात कालो अध्याय हो,’ उनले भने, ‘नेतृत्व पंक्तिले जनमुक्ति सेनालाई समायोजनको नाममा आत्मसमर्पण गराएको छ ।’
समायोजन प्रक्रिया मिचेर एकाएक आफूलाई समेत जानकारी नगराई मिति तोकेर आत्मसमर्पण गराएका कारण राजीनामा दिएको उनले बताए । अपांग, घाइते, पिएलएहरूलाई सम्बोधन नगरी समायोजन र शान्तिप्रक्रिया टुंग्याउने नाममा नेतृत्व पंक्तिले आत्मसमर्पण गरेको उनको आरोप थियो ।
सम्मानजनक ढंगले राष्ट्रिय सेना निर्माण गरेर राष्ट्रिय स्वाधीनताको रक्षा गने बेला आफ्ना सिपाहीलाई कमान्डरले नै धोका दिएर क्रान्तिको विसर्जन गरेको उनले आरोप लगाए । उनले समायोजनको नाममा आफ्नै पार्टीका केही नेता विचलित भएको दाबी गरे । केसी विशेष समितिको निर्देशनमा रोल्पाको पाँचौँ डिभिजन दहवनमा पुनःवर्गीकरणलगायत समायोजनका लागि गएका थिए । एकीकृत नेकपा-माओवादी)का पोलिटब्युरो सदस्य केसीले जनताको पक्षमा सत्ताको निर्माण नभए जनविद्रोह हुने र त्यो जनविद्रोहले सामन्तीलाई समाप्त पार्ने चेतावनी  दिए ।
उनले  केही शक्तिले एउटा कोठामा तयार पारेको ड्राफ्टमा आधारित रहेको संविधानलाई घोषणा गर्न तयारी भएको बताउँदै जनपक्षीय संविधान निर्माण नहुँदासम्म आफूहरू निरन्तर संघर्ष लागिरहने बताए ।

प्रतिक्रिया