संविधानसभा परिसरमै ढुकुटी खेलाउंछ प्रहरी

काठमाडौं, २९ चैत । संविधानसभा भवनको सुरक्षामा खटिएको प्रहरी बेस कार्यालय ढुकुटी रकम उठाउने अखडा बनेको छ । त्यहाँ कार्यरत प्रहरी निरीक्षक चिनकपुर गुरुङ संविधानसभा परिसरभित्रै श्रीमतीले खेलाउने ढुकुटीको कारोबार गर्छन् ।स्रोतका अनुसार प्रहरी निरीक्षक गुरुङ ढुकुटी सञ्चालनका लागि आवश्यक रकम टेलिफोन र एसएमएसमार्फत संविधानसभा भवनको २ नम्बर गेटमा छाड्न आदेश दिन्छन् । कार्यालयमा रहेका बेला उनले रकम प्रायः गेटमा खटिएका सुरक्षाकर्मीमार्फत लिन्छन् । कहिलेकाहीँ भने उनी सईलाई आदेश दिएरै रकम लिन पठाउँछन् । ढुकुटीका अंशियारलाई उनले सोझै कार्यालयभित्रै समेत बोलाउँछन् । एक सुरक्षाकर्मीका अनुसार कहिले त कार्यालय नै ढुकुटी सञ्चालकको भिडले भरिन्छ । सुरक्षा संवेदनशीलताका कारण सर्वसाधारणलाई भने विनापास संविधानसभा भवनमा प्रवेश गर्न निषेध छ ।
ढुुकुटी सञ्चालनमा भने उनी प्रत्यक्ष रुपमा सहभागी छैनन् । उनकी श्रीमती निशाले तीन वर्षदेखि ढुकुटी सञ्चालन गर्दै आएकी छन् । त्यही रकम प्रहरी निरीक्षक गुरुङले संविधानसभा परिसरबाटै लिने गरेका हुन् । निशाले महिनाको एक पटक महाराजगन्जस्थित नेपाल आँगन रेस्टुरेन्टमा ढुकुटी खोल्छिन् । स्रोतका अनुसार निशाले एकै पटकमा पाँच लाखदेखि ५० लाख रुपियाँसम्म असुल्छिन् । उनले एकै पटकमा १० लाख, ११ लाख र १७ लाख रुपियाँको गरी तीन किसिमका ढुकुटी खोल्ने गरेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार गुरुङले श्रीमतीमार्फत ढुकुटी खेल्नकै लागि महँगो ब्याजदरमा रकमसमेत उपलब्ध गराउँछन् । उनले एक लाखको प्रतिमहिना ३० देखि ६० हजारसम्म रकम असुल्ने गरेको स्रोत बताउँछ । कतिपयलाई त उनी ‘मिटर ब्याज’ -एक लाखको प्रत्येक दिन हजार रुपैयाँ बढ्दै जाने)मा समेत रकम लगानी गर्छन् । ‘रकम उठाउन गुरुङ कहिले त पोसाकमै ढुकुटीका ऋणीकहाँ पुग्छन्,’ स्रोतले भन्यो ।
श्रीमती निशा भने आफैं ढुकुटी चलाउँदै अरुकामा अंशियारसमेत छिन् । उनी ढुकुटी खेल्दाखेल्दै अंशियार भागे ढुकुटी सञ्चालन गरेको व्यक्तिसँग लगानी रकमभन्दा दोब्बर असुल्छिन् । यस्तै परिबन्दमा परेकी एक सञ्चालिकाले सौर्यसँग भनिन्, ‘११ लाखको ढुकटी खेलेकामा चौथोपटकमै सबै अंशियार भागे, त्यसमा निशा २ लाखको अंशियार थिइन्, अहिले उनले चार लाख दिन दबाब दिइरहेकी छिन् ।’ नयाँबानेश्वरस्थित बेकरी क्याफेमा भेटिएकी उनले भनिन्, ‘एकातर्फ पैसा खाएर सबै अंशियार भागे, अर्कातर्फ निशाले लगानीभन्दा पनि दोब्बर रकम मागिरहेकी छन्, अब खै के गर्ने-गर्ने ?’
निशाले तीन महिनाअघि चेक बाउन्स भयो भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरीसमेत हालेकी थिइन् । प्रहरी स्रोतका अनुसार उनले प्रहरी प्रधान कार्यालयमा पनि चेकमा विवाद भएको भन्दै उजुरी हालिन् । प्रहरी स्रोतले भन्यो, ‘उनले महँगो ब्याजमा भने पहिलेदेखि नै रकम लगानी गर्दै आएकी थिइन् । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी धीरजप्रताप सिंहले भने, ‘उनले ढुकुटीको कारोबार संविधानसभास्थित सुरक्षा कार्यालयबाटै गर्छन् भन्ने जानकारी छैन ।’
बेस कार्यालयका प्रमुख डिएसपी सुशीलकुमार कार्कीले गुरुङको व्यक्तिगत व्यापार-व्यवसायबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । यसबारे गुरुङसँग बुझ्ने डिएसपी कार्कीले बताए ।
गुरुङ दम्पती ललितपुरको कुपन्डोलमा बस्दै आएको छ ।
गुरुङ दम्पतीले पैसा असुल्न पठाएको एसएमएस
एसएमएस नं. १- -दिदी ३० हजार रुपियाँ मेरो अफिसको गेटमा छोडिदिनू न -गुरुङ ज्वाइँ)
एसएमएस नं. २- -आज चार लाख भए पनि मिलाइदिनुपर्‍यो -निशा)
एसएमएस नं. ३- -पुलिसले मार्न लाग्यो, लौ न पैसा मिलाइदिनुपर्‍यो -निशा)

प्रतिक्रिया