हतारमा निर्णय लिनुअघि शिविरहरूको परिदृश्य

काठमाडौं, २८ चैत । माओवादी लडाकुहरूको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिको हतारको निर्णयअघि देशभरिका लडाकु शिविरमा तनाव उत्पन्न भयो । सोमबार साँझदेखिको तनावकै कारण मंगलबार बिहान एकीकृत नेकपा-माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डा बाबुराम भट्टराईले मन्त्रणा गरे । त्यसको केही समयमै समायोजन वा अवकाश पुनः रोज्ने प्रक्रिया रोकियो र शिविर र लडाकु सेनामातहत लैजाने आकस्मिक र अनपेक्षित निर्णय गरियो ।
इलाम चुलाचुलीस्थित पहिलो डिभिजनका लडाकुले सोमबार रातभर डिभिजन कमान्डर यामबहादुर अधिकारी, सहायक कमान्डर हरि श्रेष्ठलगायतलाई घेरा हालेर शिविरमा ढुंगामुढा गरे । लडाकुले आफ्नो निर्देशनको अवज्ञा गरेर तोडफोड गरेपछि कमान्डर अधिकारी र सहायक कमान्डर श्रेष्ठ बिहानै शिविर छाड्न बाध्य भए । लडाकु आफ्नो नियन्त्रणबाहिर गएपछि सुरक्षाको माग गर्दै अधिकारीलगायतका कमान्डरहरूले शिविर छाडेका थिए । त्यसपछि प्रशासनले शिविरबाहिर ठूलो मात्रामा प्रहरी परिचालन गरेको थियो । अधिकारीलगायतका कमान्डर-लडाकु बाहिरिएपछि अन्य लडाकुले कमान्डरले प्रयोग गर्ने खाट, दराज, मोटरसाइकल सामग्री  लगेका छन् ।
चितवनस्थित तेस्रो डिभिजन मुख्यालय शक्तिखोरमा मंगलबार मध्यान्ह सशस्त्र युद्धकालका घाइते तथा अपाङ्ग, यसअघि नै बहिर्गमनमा परेका लडाकुले नारा जुलुस र धर्ना गरे । स्थिति नियन्त्रणमा लिन कमान्डरले नसकेपछि प्रशासन गुहार्नु परेको थियो । आफ्ना माग सम्बोधन नगरेको भन्दै लडाकुहरू सहायक गेट प्रयोग गरी शिविरभित्र छिरेर चर्का नाराबाजीसाथ प्रदर्शनमा उत्रिएका थिए । झडपकोे स्थिति सिर्जना भएपछि प्रहरीले २५ बहिगर्मित लडाकुलाई हिरासतमा लिएको थियो । चितवनका एसपी भोपाल कुमार भण्डारी र सिडिओ गणेशराज कार्कीसमेत शक्तिखोर पुगेका थिए ।
लडाकुहरूले दोस्रो डिभिजनमा पनि उस्तै हंगामा मच्चाए । सिन्धुली दुधौलीस्थित दोस्रो डिभिजनका लडाकुले तीन दिनयता लगातार कमान्डरविरुद्ध चर्का नाराबाजी लगाउँदै प्रदर्शन गरेका थिए ।
स्रोतका अनुसार ‘विगतमा दुश्मनविरुद्ध प्रयोग गरिएका हतियार अब एमाओवादीकै शीर्ष नेता र कमान्डरविरुद्ध चलाइन्छ’ भन्दै लडाकुले प्रदर्शन गरेका थिए । समायोजनमा जान चाहँदासमेत कमान्डरले स्वेच्छिक अवकाश रोज्न दबाब दिएको, पाँच वर्षसम्म मासिक एक हजारका दरले लिएको रकम कमान्डर र नेताले हिनामिना गरेको आरोप लडाकुले लगाएका छन् ।
उच्च स्रोतका अनुसार करिब चार हजार पाँच सय लडाकुलाई मात्र समायेाजनमा पठाउने एमाओवादीको आन्तरिक तयारी छ । त्यसैले समायोजनमा जान चाहने लडाकुलाई पनि कमान्डरले स्वेच्छिक अवकाश रोज्न दबाब दिने गरेका छन् । लडाकुले कमान्डरको यस्तो निर्देशनको विरोध गरिरहेका छन् । विगतमा अनेक सपना देखाएर माओवादीले लडाकुलाई सशस्त्र युद्धमा होमेको थियो तर अहिले प्रतिबद्धता विपरीत आफूहरूलाई बेवारिसे बनाएर छाडेको भन्दै लडाकुले एमाओवादी नेता र उच्च कमान्डरहरूको विरोध गरिरहेका छन् । एक डिभिजन सहायक कमान्डरका अनुसार लडाकुहरूले ‘तिमीहरूलाई नै एम्बुस थाप्छौं’ भनेर धम्की दिएका छन् ।

प्रतिक्रिया