सम्पत्ति शुद्धीकरणमा परेका आधा उजुरी गायब

काठमाडौं, २७ चैत । उजुरी अनुसन्धानका लागि हो । तर, बीचमै उजुरीका फाइल गायब हुन्छन् भने अनुसन्धान कसरी गर्ने ? भ्रष्टाचार निवारणका लागि गठित एउटा विभाग यस्तै समस्याले आक्रान्त बनेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा परेका उजुरी अनुसन्धानपूर्व नै गायब हुन थालेका छन् ।
अनुसन्धानका लागि परेका अधिकांश उजुरी अहिले सम्पत्ति शुद्धीकरणसँग छैनन् । राजस्व अनुसन्धान विभागमातहत रहँदादेखिकै उजुरी फाइल शुद्धीकरणमा नभेटिएका हुन् । ‘खोज्दा भेटिएन,’ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका निर्देशक विश्वप्रकाश सुवेदीले भने, ‘हराएको शंका छ ।’
गत साउनदेखि विभागका रूपमा काम गर्दै आएको सम्पत्ति शुद्धीकरणले यसअघि राजस्व अनुसन्धान विभागअन्तर्गत महाशाखाका रूपमा काम गर्दै आएको थियो ।
‘त्यहाँको दर्ता फाइल यहाँ फेला पारेनौँ,’ निर्देशक सुवेदीले भने, ‘नियोजित रूपमै कसैले छुटाएको हुन सक्छ ।’ अपराध लुकाउन बीचमै फाइल गायब गरेको हुन सक्ने उनको अनुमान छ तर यति ठूलो मात्रामा उजुरी कहाँ गए भन्ने कसैलाई पत्तो छैन ।
सुवेदीका अनुसार राजस्वमातहत हुँदा शुद्धीकरणमा एक सय ३१ वटा उजुरी फाइल थिए तर अहिले आधाभन्दा कम मात्र उजुरी छन् । राजस्व अनुसन्धानबाट छुट्टएिपछि करिब ६० वटा उजुरी फाइल शुद्धीकरणमा आएका छन् । ‘यस्तो कसरी भयो हामी चकित छौँ,’ उनले भने ।
यी सबै फाइल शुद्धीकरण राजस्वमातहत हुँदा अनुसन्धानका लागि दर्ता भएका उजुरी हुन् । स्रोतका अनुसार सम्बन्धित निकायबाट उजुरीका लागि पठाइएका फाइल पनि सबै शुद्धीकरणसम्म आइपुग्दैनन् । हालसम्म राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले पाँच सयभन्दा बढी फाइल शुद्धीकरणमा अनुसन्धानका लागि पठाइएको छ ।
तर, हाल तीमध्ये अधिकांश फाइल शुद्धीकरणसँग छैनन् । ‘८० वटाजति मात्रै छन्, ‘सुवेदीले भने, ‘इकाइले भनेजति फाइल पनि अहिले हामीकहाँ छैनन् ।’
उता, इकाइ ती सबै फाइल पठाएको दाबी गर्छ । ‘हामीकहाँ शुद्धीकरणले फाइल बुझ्ने गरेकोे रेकर्ड नै छ,’ इकाइका निर्देशक धर्मराज थापाले भने, ‘उजुरी फाइल खामबन्दी गरी कुरियरबाट गोप्यरूपमा पठाएका हौँ ।’
यस्तै, महाशाखा हुँदाताका नेपाल प्रहरीले अनुसन्धानका लागि पठाएका कुनै पनि फाइल शुद्धीकरणसँग छैनन् । ‘एउटा पनि छैन,’ सुवेदीले भने, ‘पठाएको छ भने प्रहरी नै जानोस् ।’ स्रोतका अनुसार प्रहरीले ३६ वटा उजुरी पठाएको बताउँदै आएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबी) प्रमुख उपेन्द्रकान्त अर्यालले आपराधिक क्रियाकलापमा लागेकाको उजुरी शुद्धीकरणमा पठाउने गरेको बताए । ‘काम थालेदेखि नै उजुरी पठाइरहेका छौँ,’ उनले भने ।
शुद्धीकरणसँग भने अहिले विभाग भएपछि प्रहरीले पठाएका उजुरी मात्रै छन् । ‘पछि पठाइएका त्यस्तै ५-६ वटा मात्र फाइल यहाँ छन्,’ सुवेदीले भने । उनले फाइल छुटेको हुन सक्ने भन्दै राजस्व अनुसन्धानमा बुझ्ने तयारी भइरहेको बताए । ‘नदेखिएका फाइल कहाँ छन् भनेर माग्छौँ,’ उनले भने, ‘र पनि भेटिएन भने राजस्व अनुसन्धान जिम्मेवार हुन्छ ।’
राजस्व अनुसन्धान विभागले उजुरीका कुनै पनि फाइल बाँकी नरहेको बताएको छ । ‘औपचारिक रूपमा बाँकी भएको जानकारी छैन,’ विभागका महानिर्देशक शान्तबहादुर श्रेष्ठले भने । उनले सबै फाइल शुद्धीकरण लगिसकिएकाले फेरि पठाउन नसकिने बताए । ‘भेटिए पो पठाउने हो,’ उनले दोहोर्‍याएर खोज्दा पनि नपाइने जिकिर गरे । ‘जसले काम गर्ने हो, उसैले लिएर गए,’ उनले भने, ‘सबै कर्मचारी र फाइल दाजुभाइको अंशबन्डा गरेजस्तै भाग लगाएर छुटयाइएको छ ।’
कानुन मिचेर भ्रष्टाचार गरी आर्जन गरेको कालो धनलाई सेतो बनाउने प्रवृत्तिविरुद्ध अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण निवारण ऐन, ०६४ अनुसार यसको स्थापना भएको हो । शुद्धीकरणमा राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ, नेपाल प्रहरीलगायत सर्वसाधारणले समेत भ्रष्टाचारको आशंकामा कसैमाथि उजुरी हाल्न पाउने व्यवस्था छ । तर, उजुरीका फाइल नै गायब हुन थालेपछि शुद्धीकरणको अनुसन्धान प्रभावित बन्न पुगेको छ ।
स्रोतका अनुसार उजुरीमा परेका उस्तै-उस्तै प्रकृतिका मुद्दाको एउटै फाइल बनाएर पनि अनुसन्धान गर्ने चलन छ । ‘युनिटीका २० वटा फाइललाई हामीले एउटै मुद्दा बनाएर अनुसन्धान गरिरहेका छाँै,’ सुवेदीले भने, ‘यसले केही फाइल कम भएका पनि हुन सक्छन् तर उजुरी परेका फाइल नै नभेटिनुचाहिँ गम्भीर विषय हो । हालसम्म शुद्धीकरणले पाँचवटा मुद्दा कारबाहीका लागि अदालत पठाएको छ । आठवटा मुद्दा तामेलीमा परेका छन् ।

प्रतिक्रिया