तोरी छैन खोकनामा

खोकना (ललितपुर), २६ चैत । एक जमानामा ललितपुर खोकनाको चिनारी नै तोरीको तेलले राखेको थियो । हुन त अहिले पनि सिन्धुलीको जुनार, मुस्ताङको स्याउ र खोकनाको तेल भन्ने गरिन्छ ।
जुन ठाउका लागि तोरीको तेल प्रसिद्ध छ, त्यही ठाउमा तोरी भने चितवन, फर्पिङ, दाङ, नुवाकोट, बाके, बर्दिया, कञ्चनपुरलगायतका जिल्लाबाट ल्याइन्छ । उतिबेला यस्तो अवस्था थिएन । खोकना गाविस–७ का गोपीलाल डंगोल (७३), जो सामूहिक रूपमा तोरी पेल्ने मिलका एक हर्ताकर्ता थिए, उनका अनुसार तेलका लागि तोरीको उत्पादन खोकनामै हुने गरेको थियो । धेरै पर पुगियो भने आसपासबाट ल्याइन्थ्यो । अहिले तोरी नगन्नेमात्र खोकनामा उत्पादन हुन्छ । बाकी बाहिरी जिल्लाबाट खोकनामा ल्याइन्छ ।
खोकना गाविसका कार्यालय सहायक गंगालाल डंगोल हाल खोकनाका किसान तोरी उत्पादनतिर कम ध्यान दिन थालेको बताउछन् । तोरी ‘लाई’ किराले सखाप पार्न थालेपछि किसानले त्यसको विकल्पमा अन्य खेती गर्न थालेका हुन् । आलु, प्याज, लसुन, धान र गहु खेतीतिर किसान आकर्षित भएको खोकनाका ७३ वर्षीय गोपीलाल बताउ“छन् ।
०६८ सालको राष्ट्रिय जनगणनाअनुसार खोकनाको जनसंख्या चार हजार सात सय ७८ छ भने ६ हजार रोपनी खेतीयोग्य जमिन छ । तर, खेतीयोग्य जमिनमध्ये थोरैमा मात्र तोरी लगाइएको छ । मागअनुसारको तोरी बाहिरबाटै ल्याउने गरिएको छ । खोकनामा वार्षिक ६ लाख किलो तोरी खपत हुने भए पनि २० ३० हजार किलो मात्र उत्पादन हुने गरेको छ । धेरैजसोले व्यक्तिगत प्रयोगका लागि मात्र तोरी आफ्नै बारीमा लगाउने गरेका छन् । पहिलेजस्तो व्यावसायिक खेती हुन छाडेको छ ।
खोकनाका बासिन्दाले करिब १५ वर्षअघिदेखि तोरीखेती गर्न छाड्न थालेका हुन् । बिस्तार बिस्तार तोरीखेती निकै कम हुन थालेको स्थानीय बताउछन् । उतिबेला तीनवटा तोरी पेल्ने मिल सञ्चालनमा थियो । तर, हाल एउटा मात्र सामूहिक तोरी पेल्ने मिल सञ्चालनमा छ । गाविस सहायक डंगोलका अनुसार व्यक्तिगत रूपमा तोरी पेल्ने मिल भने पाचवटा छन् । सिकारी बहुउद्देश्यीय सहकारी संस्थाले दुई वर्षअघि लिजमा लिएर न्हुसा नामक सामूहिक मिल चलाएको छ । दैनिक एक सय ५० लिटर तेल सो मिलबाट उत्पादन हुने गरेको छ । सहकारीका संयोजक सिद्धिचरण महर्जनले बताएअनुसार पहिले सैबु र खोकना एउटै गाविस थियो । तोरी फल्ने धेरै जग्गामा घर बनेका कारण अहिले तोरीखेती हुन छोडेको हो ।
१५ वर्षअघि तोरी खोकनाकै आसपासबाट जम्मा पार्दा पुग्ने गरेको थियो । बाहिरी जिल्लाबाट तोरी आयात गर्नु पर्ने अवस्था थिएन । सहकारीका संयोजक महर्जनले सौर्यसग भने, ‘अहिले त सबै तोरी बाहिरबाट ल्याउनुपर्छ, तोरीबाट भन्दा धानखेतीबाट धेरै आम्दानी हुने भएकाले पनि खोकनाका जनताले तोरीखेती छोडेर धानखेती गर्न थालेका हुन् ।’
खेतीयोग्य जमिन सिंचाइका लागि सात किलोमिटर टाढा नख्खु खोलाबाट पानी ल्याइएको छ । स्थानीय बासिन्दाका अनुसार राजकुलो नामक कुलोको प्रयोग गरी खोकनामा सिंचाइ गरिन्छ । कुलाको पानी प्रयोग गरी सिंचाइ गर्नेहरूले ‘बाली’ बुझाउने नियम छ । गहु र धान परम्परागत बालीको रूपमा लिने गरिएको भए पनि अब भने गाविसले रकम नै लिने व्यवस्था मिलाएको छ । राजकुलो व्यवस्थापन समितिको निर्णयअनुसार ‘बाली’ का रूपमा अन्नपात लिने गरिएको परम्परालाई परिमार्जन गरी रकम नै लिने व्यवस्था मिलाइएको हो ।

प्रतिक्रिया