बिक्न छाड्यो खाद्यको चामल


कैलाली, २५ चैत । निजी क्षेत्रले सस्तोमा चामल बिक्री गर्न थालेपछि सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्य संस्थानको चामल बिक्री हुन छाडेको छ ।
सदरमुकामसम्म यातायात पुगेपछि व्यापारीले आफं चामल ढुवानी गरेर बजारमा सस्तोमा चामल उपलब्ध गराएपछि उपभोक्ताले खाद्य संस्थानको चामल किन्न छोडेका हुन् ।
बजारको चामलको मूल्यभन्दा संस्थानले उपलब्ध गराएको चामलको मूल्य बढी भएपछि उपभोक्ताहरू बजारको चामल किन्न थालेका नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ । संस्थानले भने वषार्ंदेखि पहाडी जिल्लाका लागि भनेर ढुवानी अनुदानमा सहुलियत दरमा चामल उपलब्ध गराउँदै आएको छ ।
नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय धनगढीका वरिष्ठ सहायक नारायण नेपालले संस्थानको चामल बिक्रीमा पहिलेभन्दा तीन चौथाइ घटेको बताए । व्यापारीले आफंै ढुवानी गरेर सस्तोमा चामल बेच्न थालेपछि संस्थानको चामलको बिक्री घटेको होे । यसअघि संस्थानले मात्रै चामल ढुवानी गर्दा व्यापारीले पनि संस्थानबाट किनेर बेच्ने गरेको नेपालले बताए ।
उपभोक्ताले खाद्य संस्थानको चामल नकिनेपछि संस्थानको पहाडी जिल्लामा रहेका गोदाममा चामलको पर्याप्त मौज्दात रहेको छ । हरेक वर्ष खाद्यान्न अभाव हुने सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङमा यो वर्ष पर्याप्त मात्रामा खाद्यान्न भण्डारण रहेको संस्थानले जनाएको छ । दुई/तीन वर्षयता पहाडी जिल्लामा यातायात सेवा पुगेको तथा विभिन्न संघसंस्थाले काम गरेबापत गाउँघरमै चामल, दाललगायतका खाद्यान्न दिनथालेपछि संस्थानको चामल मौज्दात रहेको हो । संस्थानको चामल बिक्री नभएर हाल कुहिने अवस्थामा पुगेको संस्थानको जिल्लास्थित खाद्य डिपोले जनाएका छन् ।
बाजुरामा कोल्टी डिपोमा ३८ सय क्विन्टल र शाखा कार्यालय मार्तडीमा २९ सय क्विन्टल चामल मौज्दात रहेको बाजुराका निमित्त शाखा कार्यालयप्रमुख मेखराज ओझाले बताए । उनले संस्थानबाट दैनिक करिब २५ क्विन्टलसम्म मात्र चामल बिक्री हुने गरेको पनि बताए ।
यसैगरी, अछाम मंगलसेनको खाद्यान्न डिपोमा एक हजार ३७ क्विन्टल चामल मौज्दात रहेको कार्यलय वरिष्ठ सहायक कृष्णबहादुर कुँवरले बताए । त्यस्तै, बझाङमा दुई हजार ४९ क्विन्टल चामल मौज्दात रहेको छ । संस्थानको क्षेत्रीय कार्यालय धनगढीमा २४ हजार ४३२ क्विन्टल चामल मौज्दात रहेका पनि नेपालले बताए ।
संस्थानका डिपोमा गत सालकै चामल बिक्री नभएर मौज्दात रहेको छ । संस्थानले जापानी र अरुवा मोटो चामल बिक्री गर्ने गरेको छ । यस्ता चामलको मूल्य बाजुराको कोल्टीमा ३५ सय ९५, र मार्तडीमा ३३ सय २५, बझाङमा ३२ सय ३० र अछाममा ३२ सय ३० रुपियाँ रहेको छ ।

प्रतिक्रिया