यसरी फन्दामा परे बम राख्ने अभियुक्त

काठमाडौं, २४ चैत । यात्रुवाहक बसमा बम राखिएको खबर राजधानीमा फैलिसकेको थियो । कहाँ, कुन बेला, के हुन्छ भन्ने त्रासले बसमा चढ्नसमेत यात्रु डराइरहेका थिए । आसपासमा भेटिएका पोकापुन्तुरा देख्दासमेत बम हुन सक्ने आशंकाले छुन डराइरहेका थिए सर्वसाधारण । महिना दिनअघि बबरमहलमा भएको त्रासदीपूर्ण बम विस्फोटको घटना ताजै थियो ।
व्यस्त बजारमा समेत बम रहेको हल्ला चलेपछि तनाबमा पर्‍यो, महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको पिलर नम्बर चार ।  सञ्चारमाध्यमबाट फैलिएको थियो बम राखिएको खबर । प्रहरीले यसैलाई आधार बनाएर अनुसन्धान अघि बढायो । सञ्चारमाध्यममा फोन गर्दै बम राखेको जिम्मा लिँदै थिए आतंककारी । सञ्चारमाध्यमबाटै प्रहरीले सम्भव भएजति सबै कल डिटेल्स बटुल्यो ।
सबै फोनको गहन विश्लेषण गरियो । विभिन्न नम्बरबाट फोन गरेका थिए उनीहरूले । एउटै नम्बरको लोकेसन पनि कहिले कता, कहिले कता देखाएर समस्या भयो । तीन घन्टासम्मको गहन विश्लेषणपछि केही प्रगति भयो ।
फोनको माध्यमबाट उनीहरू रहेको लोकेसन पत्ता लगाइयो । लोकेसन राजधानीभित्रैको थियो । अब अभियुक्त पक्राउ गर्न सकिने केही आशा जाग्यो । लोकेसनलाई कम्प्युटरबाट ‘जुम’ गरियो । बालाजु क्षेत्र देखायो । त्यसपछि तत्काल डिएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा एक प्रहरी निरीक्षक, सात सईसहित १३ जनाको प्रहरी टोली बालाजुतर्फ लाग्यो ।
महाशाखामा रहेको अर्को टोलीले फोनबाट लोकेसन थप ‘जुम’ गर्दा देखियो बालाजु औद्योगिक विकास क्षेत्रको एरिया । महाशाखाका प्रहरी टोली बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि पुगिसकेको थियो । लोकेसनमा लिइएको फोन नम्बर डायल गरियो । फोन रिसिभ भएपछि आफूलाई साथी बताएर जमल आउन भनियो । सुरुमा नपत्याए पनि फोन रिसिभ गर्ने व्यक्ति आउन राजी भयो । राति करिब साढे १० बजे ऊ बालाजु औद्योगिक क्षेत्रको गेटमा निस्कियो । प्रहरी त्यहीँ उभिएका थिए ।
शंका लागेपछि फोन पुनः डायल गरियो । फोन रिङ उसैकामा बज्यो । उसलाई नियन्त्रणमा लिइयो । उनी थिए ३० वषर्ीय चूडाबहादुर मोक्तान जो ०६१ सालमा नुवाकोट जिल्लामा माओवादी जनसरकार प्रमुख थिए ।
पछि ३० बर्षीय मनीष उपनामका कमल खतिवडा उर्फ रणवीर र २९ बर्षीय रजमान तामाङलाई पनि उसैलाई फोन गर्न लगाई बोलाइयो । अन्ततः उनीहरू पनि प्रहरी फन्दामा परे । अनुसन्धानमा खटिएका डिएसपी राठौरका अनुसार घटना भएको करिब सात घन्टापछि सबै प्रहरीको फन्दामा परिसकेका थिए । उनले दाबी गरे, ‘सबैभन्दा छिटो अनुसन्धान गरिएको सम्भवतः यो पहिलो घटना हो ।’ अनुसन्धानमा खटिएका सबै टोलीलाई महाशाखाका प्रमुख एसएसपी देवेन्द्र सुवेदीले शुक्रबार बिहानै आफ्नै कार्यकक्षमा बोलाएर बधाई दिएका थिए ।

प्रतिक्रिया