‘अमेरिकी चासो तिब्बतीयन शरणार्थीप्रति’

काठमाडौं, २३ चैत । अमेरिकाले मानव अधिकार, तिब्बतीयन शरणार्थी, तेस्रो लिङगीको अधिकार लगायतका बिषयमा चासो देखाएको छ ।

प्रधानमन्त्री बाबुराम भट्टराई र अमेरिकी अण्डर सेक्रेटरी अफ स्टेट वेण्डी आर शेरमानबीच आज सिंहदरबारमा भएको भेटवार्तामा नेपालको नयाँ अन्तर्राष्ट्रिय सम्बन्धका बिषयमा समेत छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेपालको समसामयिक परिस्थिति, दुई पक्षीय हित र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा समेत भट्टराई र शेरमानबीच छलफल भएको छ । शेरमानले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणका विषयमा चासो राखेकी थिईन ।

जवाफमा प्रधानमन्त्री भट्टराईले चैत मसान्तसम्म शान्ति प्रक्रिया टुंगोमा पुग्ने जानकारी गराउँदै यसमा कुनै शंका नगर्न आग्रह गरे । उनले अव बन्ने संविधान समावेशी, समानुपातिक, सहभागिता मुलक र लोकतान्त्रिक हुनेपनि बताएका छन् ।

सेक्रेटरी शेरमानले नयाँ संविधानमा महिला तथा तेश्रोलिंगीहरुको अधिकार कस्तो रहने भन्ने विषयमा पनि चासो राखेकी थिईन । भट्टराईले महिला तथा तेश्रोलिंगीको अधिकार सुनिश्चित हुनेमा कुनै आशंका नगर्न आग्रह गरेका थिए ।

भेटमा मानव अधिकार, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन, तिब्बती र
भूटानी शरणार्थीका अधिकारका विषयमा पनि अमेरिकी चासो रहेको प्रधामन्त्रीको निजी सचिवालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रधानमन्त्री भट्टराईले मानवअधिकारप्रति प्रतिवद्ध रहेको भन्दै अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुसार नै शरणार्थीहरुको अधिकार सुनिश्चित हुने बताए ।

अमेरिकी सेक्रेटरी शेरमानले अवको नेपालको विदेश नीति कस्तो हुने भन्नेमा समेत चासो राखे पछि प्रधानमन्त्री भट्टराईले परम्परागत रुपमा नेपाल दुई छिमेकीको बीचमा पर्खालको रुपमा रहने र आफ्नो स्वाधिनताको रक्षा गर्ने बताएका थिए ।

उनले दुई छिमेकीसँगसँगै बाहिरी देश अमेरिका लगायतका मुलुकहरुसँगको सम्बन्ध पनि अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका आधारमा हुने बताए ।

सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्धले मात्र मुलुकको सार्वभौमसत्ताको रक्षा गर्न सकिने भन्दै अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुसँग सन्तुलित सम्बन्ध राख्न चाहेको भट्टराईको भनाई थियो ।

प्रतिक्रिया